५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ३७ वटा दल दर्ता भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता भएको जनाएको हो ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने पार्टीहरूमा देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, देश भक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), आम जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, बहुजन शक्ति पार्टी, नेपाल सद्भावना पार्टी, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायत रहेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरू भने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा जान बाँकी छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा हालसम्म दर्ता भएका दलको संख्या भने १२६ रहेको जानकारी दिए । १२६ मध्ये ३७ दलले प्रतिनिधि सभाको चुनाव लड्ने गरी दल दर्ता गरेका हुन् । बाँकी ३० वटा दल दर्ता प्रक्रियामा रहेका छन् ।
यही मंसिर १० गतेसम्म प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने समय तय भएको छ ।
साथै आयोगका प्रवक्ता भट्टराईले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम गर्ने जानकारी दिएका छन् ।
उनका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मङ्सिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गर्ने र त्यसमाथि कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गते सच्चाउन सकिनेछ । विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक हुनेछ ।
निर्वाचनका लागि सुरक्षा, व्यवस्थापकीय लगाएतका कामलाई कार्ययोजना बनाएर नै काम गरिरहेको पनि आयोगले जनाएको छ ।




प्रतिक्रिया 4