News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी विद्रोहले वैकल्पिक राजनीतिको नयाँ पुस्तालाई सक्रिय बनाएको र रास्वपाको नेतृत्वमा वैकल्पिक शक्ति केन्द्रको रूपमा उदय भएको छ।
- रवि लामिछानेले तीन ठूला दल र तिनको सिन्डिकेट तोड्न नेतृत्वदायी भूमिका निर्वाह गरे पनि रास्वपाको नेतृत्व विवाद र कमजोरीले घेरिएको छ।
- रास्वपाले आफ्ना विवादित मुद्दा अदालतमा समाधान गर्नुपर्ने र वैकल्पिक राजनीतिको नेतृत्व गर्न ऐतिहासिक अवसर गुमाउन नहुने अवस्था छ।
भर्खरै भएको जेनजी विद्रोहले के परिवर्तन ल्यायो ? समाजमा के फेर्यो ? के बदल्यो ? भन्ने प्रश्नहरू जताततै छन्। केही बदलिएन भन्नेहरू जस्तै सबैथोक फेर्छ भन्नेहरू उत्तिकै छन्।
व्यक्तिगत रुपमा मलाई भने आफूभित्र लेउ र भ्यागुता पालेर बसेका दल नामका दलदलमा जेनजी विद्रोहले ल्याएको परकम्प रुचिकर लागेको छ। यो देशमा एमाले सधैं अपवाद हो, यसपटक पनि अपवाद नै रहने सम्भावना देखिंदैछ। मुलुकमा भएको यत्रो जनधनको क्षतिमा तत्कालीन सरकारको शीर्ष स्थानमा बसेको दलको असंवेदनशीलता उदेकलाग्दो छ।
नयाँ पुस्ताले गरेको विद्रोहपछि वैकल्पिक शक्तिको केन्द्र मानिएका बालेन र रास्वपातिर जेनजी र सबै वैकल्पिक शक्ति पक्षधरहरूले आँखा टट्याउञ्जेल हेरेको हेर्यै छन्। बालेनको पारा कसैलाई बाल नदिने पहिलादेखि देखिएकै हो, यसपटक पनि त्यसमा क्रमभंग होला जस्तो छैन।
बाँकी रहेको वैकल्पिक सत्ताको आसनमा ढलीमली गरिरहेको रास्वपा अहिलेको समयमा दम्भको अर्को चुचुरो भएर उभिए जस्तो देखिएको छ। कम्तीमा उसका जिम्मेवार नेता र सामाजिक सञ्जालमा पार्टीमा फरक मत राख्ने वा पार्टी त्याग गर्नेहरूलाई एकोहोरो गाली गरिरहेका उसका समर्थकको अभिव्यक्तिबाट त्यति भन्न सकिन्छ।
विवेकशील अभियान, नयाँ शक्ति, स्थानीय सरकारमा बालेन, हर्क, गोपी हमाल जस्ता स्वतन्त्रहरूको उदयपछि नाम नै स्वतन्त्र राखेर उदय भएको राजनीतिक दललाई जोडतोडले कोही एउटा व्यक्तिको बाहुबलमा मात्र स्थापित र शक्तिशाली भएको भाष्य स्थापना गर्न लागिपरेको रास्वपा र जसरी पनि नेतृत्व रक्षा गर्नुपर्छ भन्ने कम्युनिस्ट स्कूलिंगको तालमेल देखिनु अर्को उदेकलाग्दो दृश्य हो।
हो, रवि लामिछानेले मुख्यतः तीन ठूला राजनीतिक दल र तिनको सिन्डिकेट तोड्न नेतृत्वदायी भूमिका निर्वाह गरे। एक हिसाबले लामो समयदेखिको वैकल्पिक राजनीतिको आइस ब्रेक उनको नेतृत्वमा भयो भन्ने मान्न सकिन्छ।
तर रविको एकल प्रभाव र चमत्कारमा रास्वपा चौथो ठूलो शक्ति बनेको दाबी नेपालमा २०६२-६३ पछि शुरु भएको वैकल्पिक राजनीतिको बहस र प्रयासप्रतिको जानकारीको अभाव सिवाय केही हैन। रास्वपा समर्थककै शैलीमा यसो पनि भन्न सकिएला– ‘रास्वपा रवि लामिछानेको एकल प्रभावबाट मात्र फुत्त उदाएको राजनीतिक दल हुनु हो भने यसको नाममा स्वतन्त्र राख्नु आवश्यक थिएन। वैकल्पिक भनिरहनु झन् जरूरी थिएन। सिधै– सिधा कुरा जनतासँग राखेको भए भैहाल्थ्यो।’
कम्तीमा रवि लामिछाने स्वयं रास्वपाको उदय आफ्नो एकल नायकत्वका भरमा मात्र भएको हैन भन्ने कुरामा सचेत छन् कि भन्ने झिनो आशा गर्न सकिन्छ। जेनजीको नेतृत्वमा भएको पछिल्लो जनविद्रोहलाई नजिकबाट नियाल्दा आम मान्छेमा रवि लामिछानेप्रति राजनीतिक पूर्वाग्रह साधिएको भन्ने भान त थियो।
तर रास्वपा, उसको दुई–दुई पटकको सत्तारोहण र सधैं विवाद र कमजोरीहरूले घेरिएका रवि लामिछानेप्रति कम्तीमा नयाँ पुस्ता उतिविधि आशावादी थिएन भन्न सकिन्छ। यदि रास्वपाको उदयपछि उसका कट्टर समर्थक बाहेक आम जनता र नयाँ पुस्तामा उसले आशा सञ्चार गर्न सकेको हुँदो हो त यो तहमा जनविद्रोह हुँदैनथ्यो।
आफ्नो सभापतिको एकोहोरो अन्ध वचाउमा उत्रिएको ऊ, सभापति कानूनी रूपमा गलत ठहरिए पार्टीका रूपमा ठूलो संकटमा पर्ने नै छ। अर्कोतर्फ वैकल्पिक राजनीतिको नेतृत्व गरेर देश र नागरिकलाई निकास दिने अवसरबाट समेत नराम्ररी च्यूत हुनेछ जसले उसलाई एकदमै छोटो समयमा दशकौं असफल ठहरिएका पुरानै दलहरूको कित्तामा एक झट्कामा उभ्याइदिनेछ
अनि नक्खु काण्डपछि आन्दोलनकारी जेनजी र व्यापक नागरिक आलोचनाका कारण रवि लामिछाने फेरि कारागार फर्कन बाध्य हुनुपर्दैनथ्यो। एक हिसाबले आन्दोलनकारी र विद्रोहीहरूले रास्वपा र रविलाई स्पष्टसँग भनिसके, गोली हामीले खायौं, तिमीले तर मार्न खोज्यौ। तिमी बारेको जुन बहस छ त्यो विधिसम्मत तरिकाले टुंगिनुपर्छ र तिमी यो विद्रोहको नेता हैनौ।
रास्वपाले दाबी गर्न खोजे जस्तो हामी मात्रै यो विद्रोह पछिको एक मात्र वैधानिक र वैकल्पिक शक्ति हौं भन्ने भाष्य पनि जेनजी विद्रोहीहरूले उनीहरूको झण्डा मुनि नि:शर्त बस्न अस्वीकार गर्नुबाट पुष्टि हुन्छ। तर यसो भन्दैमा के रास्वपाको सान्दर्भिकता नेपाली राजनीतिमा पुराना दलहरूकै स्थानमा पुगिसकेको हो त ? पक्कै हैन।
नेपाली जनता र मतदाताको राज्यका सबै निकाय कब्जा गरेर बसेका पुराना राजनीतिक दल र तिनका नेता विरुद्धको भरपर्दो विकल्पको खोजीको सबैभन्दा बलियो सारथि भएर रास्वपाको उदय भएकै हो। तर त्यसको लामो इतिहास छ, जग छ। त्यहाँ उज्ज्वल थापाहरूको रगत-पसिना छ, रन्जुहरूको त्याग र हुङ्कार छ। बालेन, हर्क र गोपीहरूको भद्र विद्रोह छ।
हो रास्वपा र रवि ज्वालामुखी भएर देखिए। तर त्यसको लाभा नेपाली समाजको पिंधमा वर्षौंदेखि मडारिइरहेकै थियो।
अझै पनि वैकल्पिक राजनीतिक पक्षधरहरू रास्वपासँग निरन्तर छलफल र संवादमा रहनुले रास्वपाले नेपाली जनताको वैकल्पिक राजनीतिप्रतिको भोक, आशा र विश्वास अनि यसको इतिहासलाई स्वीकार र सम्मान गरेर अघि बढ्छ कि भन्ने आशाले नै हो।
तर रास्वपा कारागारमा भएका आफ्ना नेता जसरी पनि फिर्ता ल्याउनुपर्ने जुन दबाबले घेरिएको छ वा उनको नायकत्वको अतिरञ्जनाले आफू सर्वशक्तिमान् भइन्छ भन्ने भ्रममा छ, त्यसले उसले एउटा ऐतिहासिक अवसर र जिम्मेवारीबाट आफूलाई च्यूत पनि गर्दैछ।
रवि आफैंले सम्पूर्ण स्वतन्त्र र वैकल्पिकहरूको साझा चौतारीको रूपमा विकास गर्न खोजेको रास्वपा आज उनकै व्यक्तिगत कमजोरी र विवादको भारले थिचिएको छ। उनको व्यक्तित्व र त्यससँग जोडिएको सर्वसाधारणको भावनालाई उनी निकट केहीले आफू शक्तिशाली हुन वा पार्टी कब्जा गर्न दुरुपयोग गरिरहेका छन् भन्दा अत्युक्ति नहोला।
तीन ठूला दल र तिनका नेतृत्व विरुद्धको जनविद्रोह पछि रास्वपालाई शङ्काको लाभ सहित जुन ऐतिहासिक जिम्मेवारी र अवसर समयले सुम्पिएको थियो, त्यो केही सीमित व्यक्तिहरूले एक थान सभापतिको मुद्दामा लगेर विसर्जन गरिदिने सम्भावना प्रबल छ।
यो जनविद्रोहले स्पष्ट रूपमा रास्वपा र रवि लामिछानेलाई अदालती प्रक्रियाबाट आफ्ना विषय टुङ्ग्याउन जनादेश दिएको छ, सँगै छाती ठूलो बनाएर वैकल्पिक राजनीतिको लगाम समाउँछ कि भन्ने अपेक्षा पनि गरेको छ।
रवि लामिछानेको मुद्दाका सवालमा सहानुभूति राख्दै प्रक्रियागत ढिलासुस्ती र सम्भावित पूर्वाग्रह नराख्ने बाहेकको सहुलियत यो विद्रोहले दिएको छैन। यसमा रास्वपा स्पष्ट हुन जरूरी छ। दु:खको कुरा नाममै स्वतन्त्र राखेर उदय भएको दल, उसका कार्यकर्ताको व्यवहार र नेतृत्वको देवत्वकरणमा एमालेसँग प्रतिस्पर्धी भएको छ।
केपी ओली शैलीका रवि लामिछानेका बडा–बडा पोस्टर, फरक मत राख्नेलाई गालीगलौज, संगठनमा टिक्नै नसक्ने माहोल र सामाजिक सञ्जालमा आमाचकारी गालीमा घण्टी ग्याङले अरिंगाल सेनाको केही समय अघिसम्मको बिगबिगी बिर्साउन खोज्छन्।
आफ्नो सभापतिको एकोहोरो अन्ध वचाउमा उत्रिएको ऊ, सभापति कानूनी रूपमा गलत ठहरिए पार्टीका रूपमा ठूलो संकटमा पर्ने नै छ। अर्कोतर्फ वैकल्पिक राजनीतिको नेतृत्व गरेर देश र नागरिकलाई निकास दिने अवसरबाट समेत नराम्ररी च्यूत हुनेछ जसले उसलाई एकदमै छोटो समयमा दशकौं असफल ठहरिएका पुरानै दलहरूको कित्तामा एक झट्कामा उभ्याइदिनेछ। समग्रमा रास्वपा एउटा ऐतिहासिक अवसर र दुस्वप्नको दोसाँधमा उभिएको छ।
आशा छ, आम जनताको आशा र भरोसालाई नजिकबाट बुझेको दाबी गर्ने यसको नेतृत्व स्वयं रवि लामिछानेले उनका बारे अतिशय चिन्ताले घेरिएको उनको दल र कार्यकर्ता पङ्तिलाई आफ्नो इमानदारीप्रति आश्वस्त तुल्याउने छन्।
अदालती प्रक्रियाबाटै आफूले न्याय पाउने भएकाले वैकल्पिक राजनीतिका लागि आफ्नो अँगालो खुला र छाती फर्याक पार्न आह्वान गर्नेछन्। अनि एक हदसम्म समाजमा आफ्नो संगठन विस्तार गरिसकेको र स्थापित भइसकेको रास्वपाकै नेतृत्वमा वैकल्पिक राजनीतिले विद्रोहको बाँकी कार्यभार पूरा गर्नेछ।
प्रतिक्रिया 4