+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

चुनावी संशयको बादल फाटेको हो ?

अब कुनै पनि दल चुनावी प्रयोजनका लागि बाहिर नबस्ने भाग लिने भन्दै दर्ता गरेपछि अब बल सरकारतर्फ सोझिएको छ । अब दलहरूले भनेजस्तो चुनाव हुने वातावरण सरकारले बनाउनुपर्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते २१:३४

८ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको फागुन २१ गतेका लागि निर्धारित चुनाव नहुने भन्दै सडक प्रदर्शन समेत गर्दै आएको एमालेले मंगलबार निर्वाचन आयोगमा दल दर्ता गरेको छ । यसले विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो, एवं तल्लो तहसम्म राजनीतिक प्रभाव भएको दलले चुनावी मार्गतर्फ सोझ्याएपछि अब निर्वाचन नहुने संयशको बादल केही फाटेको छ ।

जेनजी आन्दोलनबाट सत्ताच्यूत भएको दल चुनावमा नजाने अवस्थामा फागुन २१ को चुनाव नहुन नसक्ने संशय थियो । तर अब एमालेले दल दर्ता गरेपछि चुनावबाट भाग्दैन भन्ने एउटा मजबुत आधार तयार भएको छ ।

जुन कुरा एमालेमा नेताहरूले पनि बताएका छन् । निर्वचन आयोगमा मंगलबार एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भिष्म अधिकारीले दल दर्ता गराएका थिए । त्यसपछि अनलाइनखबरसँगको कुराकानीमा एमालेका प्रचार विभाग प्रमुख समेत रहेका नेता राजेन्द्र गौतमले भने, ‘निर्वाचन आयोगमा दल अद्यावधिक गरेको हौं । चुनाव हुँदैन र जाँदैनौं भनेका छैनौं  ।’

एमालेले दल दर्ता गरेपछि यसअघि केही संशयमा रहेको सरकार पनि केही उत्साहित देखिएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दलहरू फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार भइसकेको बताए ।

‘हामीलाई जुन राजनीतिक दलहरूले चुनावमा आउँदैनन् कि भन्ने आशंका थियो । त्यो पनि आजको दिनबाट उहाँहरूले निर्वाचन आयोगमा दल दर्ता र नवीकरण गरिसकेपछि अब निर्वाचनको माहोल राजनीतिक दलको तर्फबाट बनिसक्यो,’ मन्त्री खरेलले भने ।

राजनीतिक दलहरू चुनावमा जान्छौं भनेर दल दर्ता गराइसकेपछि अब चुनावको बाँकी माहोल बनाउने मुख्य काम सरकारको हो ।

अहिले दल दर्तासँगै एमाले प्रतिनिधिसभा पुनर्स्थापनाको माग पनि सर्वोच्चमा लगेको छ । यदी कानुनी रुपमा पुनर्स्थापना भए पनि एमाले त्यो एजेण्डा आफ्नै हो भन्ने पार्नका लागि मुद्दा गएको हो । तर पुनर्स्थापना नभएको अवस्थामा एमाले चुनावमा जाने नै अवस्था रहन्छ ।

त्यसका लागि एमालेको मुख्य रुपमा सरकारको कार्यशैली र अझै पनि शान्ति सुरक्षा र अमनचयनको वातावरण नभएको भन्ने चासो छ ।

शान्ति सुरक्षा हुनुपर्ने र चुनाव निष्पक्ष हुन्छ भन्ने सुनिश्चतता हुनुपर्छ भन्ने माग आवरणमा एमालेको जस्तो मात्र देखिए पनि समग्रमा सबै दलको हो । अन्य दलहरूले पनि चुनाव हुनका लागि शान्ति सुरक्षाको माग प्रबल हुनुपर्ने माग गरिरहेका छन् ।

अझै पनि जेनजी आन्दोलनमा लुटिएका प्रहरीका हतियार सबै फेला परिसकेका छैनन् । प्रहरी र कर्मचारीहरूको मनोबल अझै पनि फर्किएको छैन । शान्ति सुरक्षा पूर्ण रुपमा हुन्छ भन्ने सुनिश्चित वातावरण बनेको छैन ।

चुनावमा राजनीतिकि दलहरूले विना अवरोध आफ्ना गतिविधि गर्न पाउनुपर्छ । सभा सम्मेलन लगायतका कार्यक्रम गर्नका लागि कसैले हस्तक्षेप गर्न मिल्दैन ।

तर पछिल्ला दिनमा एमाले लगायतका दलका नेताहरूलाई हिँडडुल र कार्यक्रम गर्नमा केही युवाहरूका समूहले अवरोध गरेका घटनाहरू आइरहेका छन् । बारा, विराटनगर, सुनसरी र मंगलबार सुर्खेतमा भएका घटनाले राजनीतिक गतिविधि निर्वाध गर्न पाइने हो कि नपाइने हो भन्ने प्रश्न उठिरहेको छ । यी कुरा सम्बोधन गर्नका लागि सरकारले ध्यान नदिएको अवस्थामा दलहरूले निर्वाचनका लागि दर्ता गरे पनि चुनाव नहुन सक्छ ।

त्यसैले अब कुनै पनि दल चुनावी प्रयोजनका लागि बाहिर नबस्ने भाग लिने भन्दै दर्ता गरेपछि अब बल सरकारतर्फ सोझिएको छ । अब दलहरूले भनेजस्तो चुनाव हुने वातावरण सरकारले बनाउनुपर्नेछ ।

दलहरूले भनेको यो कुरा सरकारले पनि महसुस गरेको देखिन्छ । ’हामीलाई सुरक्षाको वातावरण बनाउ भनिसकेका छन्,’ मन्त्री खरेलले भने ।

निर्वाचन आयोगले पनि निर्वाचनको पूर्वतयारीको ६० प्रतिशत बढी कार्य सकाएको बताएको छ । आगामी माघ ६ गते मनोनयन दर्ता गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ ।

दलहरू नेतृत्व परिवर्तन र ध्रुवीकरण सकसमा

जेनजी आन्दोलनपछि अहिले राजनीतिकि दलहरू नेतृत्व परिवर्तन र राजनीतिक अस्तित्व बचाउका लागि तीव्र ध्रुवीकरणमा छन् । एमाले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने तरखरमा छ । महाधिवेशनका कारण त्यो दलको आन्तरिक राजनीति तरंगित छ । अर्को ठूलो दल कांग्रेस डेढ महिनादेखि नेतृत्व परिवर्तनका लागि नियमित कि विशेष महाधिवेशन भन्ने गलफत्तिमा बिताइरहेको छ । चुनाव अघि महाधिवेशन भए त्यसको असर निर्वाचन परिणाममा पुग्ने भन्दै एकथरी नेताहरू वैशाखमा महाधिवेशन गर्ने विकल्प अघि सारिराखेका छन् । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायत नेताहरू विशेष महाधिवेशन अहिले नै गरिहाल्नुपर्ने माग गरिरहेका छन् ।

यी दुई ठूला दलहरूबीचको आन्तरिक राजनीतिक माहोलले पनि  फागुन २१ को चुनावमा कतै प्रभाव पार्ने हो कि भन्ने संशय चाहीँ छ । त्यस्तै अन्य दलहरू पनि एक अर्कासँग एकता र चुनावी मोर्चाबन्दी गरिरहेका छन् ।

कतिपयले चाहीँ सबै वातावरण बने पनि एकै चरणमा चुनाव गर्नका लागि फागुन २१ को समय मौसमको प्रतिकूल हुने हो कि भन्ने शंका पनि व्यक्त गरेका छन्  । तर यी सबै त प्राविधिक विषय भए । मुख्य विषय चुनाव दलहरू तयार  छन् कि छैन र सरकारले त्यसका लागि वातावरण बनाउँछ कि बनाउँदैन भन्ने हो । यो पक्षमा चाहीँ मंगलबार एमालेले दल दर्ता गरेर चुनावमा जानका लागि तयार रहेको सन्देश दिएपछि संयश केही हटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?