+
+
WC Series
पोखरा एभेन्जर्स 2025
15/1 (3.6)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

पानीफोटो : नाटक, फिल्म र किताब

मैयाँ कुहिरोमा एउटा आकृतिलाई पछ्याइरहेकी हुन्छिन् । उनी जतिजति त्यस आकृतिको नजिक पुग्न खोज्छिन्, त्यतित्यति त्यो उनीबाट टाढा हुन्छ । 

युनेश युनेश
२०८२ मंसिर १३ गते ११:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खगेन्द्र लामिछानेको \'पानीफोटो\' नाटक र फिल्मले जनयुद्धकालका बेपत्ता पारिएका नागरिकका परिवारको पीडा र आशाको कथा प्रस्तुत गरेको छ।
  • \'पानीफोटो\' नाटक वि.सं २०६६ साल फागुन ५ गते गुरुकुलको रिमाल नाटकघरमा मञ्चन भएको थियो र ३५ पटक सफलतापूर्वक देखाइएको थियो।
  • \'पानीफोटो\' फिल्मले नाटकभन्दा फरक पात्र र भावनात्मक पक्षलाई समेट्दै युद्धका बेपत्ता व्यक्तिहरूको मनोविज्ञान र परिवारको प्रतीक्षालाई चित्रण गरेको छ।

जसरी मान्छेलाई मान्छेको अतीतले आफूबाट उम्कन दिँदैन, त्यसैगरी कुनै पनि देश आफ्नो इतिहासबाट न त उम्किन नै पाउँछ न त पन्छिन नै । देशको इतिहासले देशको भविष्यलाई पनि पछ्याइरहेकै हुन्छ । हरेक देशसँग एउटा यस्तो इतिहास हुन्छ, जसले त्यस देशका जनतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर पारेको हुन्छ । उनीहरू अछुतो रहिरहन सक्दैनन् ।

जस्तो कि जापानका लागिहिरोसिमा र नागासाकीमा खसेको प्रमाणु बम हुनसक्छ । भारतका लागि ब्रिटिसहरूले बसालेको उपनिवेश हुन‍सक्छ‍ । अमेरिकाका लागि त्यो सेप्टम्बर ११ मा भएको आतंकवादी हमला हुनसक्छ । त्यसैगरी नेपालको परिप्रेक्षमा हेर्ने हो भने त्यस्तो घटना १० वर्षसम्म चलेको जनयुद्ध हो भन्नु गलत नहोला ।

त्यस युद्धका क्रममा यस्ता कयौँ घटनाहरू भए जसले गर्दा धेरै नागरीकहरूले पनि निकै कष्ट भोग्नुपर्‍यो । हजारौंले ज्यान गुमाए । लाखौँ जनता प्रभावित भए । त्यो ससम सास्ती भोग्नेहरूका आ-आफ्नै पीडा छन् । आफ्नै कथा, व्यथा छन् । त्यस्ता कथाहरू भनिनुपर्छ । आम मान्छेसम्म पुग्नुपर्छ ।

र, जनयुद्धका कथाहरू भनिएका पनि छन् । कलाका हरेक विधामा त्यसबेलाका काहानीलाई समेट्न खोजिएको छ । चित्रकलादेखि सिनेमा, नाटक र साहित्य सबैमा ती कथाहरू आएका छन् । अझै पनी आउने क्रममा छन् । मदन पुरस्कार जित्ने कतिपय किताबहरूले जनयुद्धकालका कथा बोकेका छन् ।

सिनेमाहरूले पनी ती कथा भन्न छुटाएका छैनन् । टलकजंग भर्सेस टुल्के, बधशाला, सेतो सूर्य यसका केही उदाहरणहरू हुन् । यिनमापछिल्लो समयमा थपिएको नयाँ सिनेमा हो पानीफोटो, जुन सोही नाम गरेको नाटकमा आधारित भएर बनेको हो ।

खगेन्द्र लामिछानेको ‘पानीफोटो’ जनयुद्ध ताका दु:ख पाएको परिवारको कथा हो । तर यो मृत्यु या घाइते भएकाहरूको कथा भने होइन । यो बेपत्ता पारिएकाहरूको कथा हो । यसो सोच्ने हो भने सबैभन्दा दु:खलाग्दो कथा नै हराएकाहरूको हुन्छ । मर्नेहरू त मरेर जान्छन् । अपाङ्ग हुनेहरूको हाल-बेहाल थाहा हुन्छ । तर बेपत्ता पारिएकाहरू कुन अवस्थामा छन्, छन् कि छैनन्, भन्ने नै थाहा हुँदैन । उनीहरूको बाटो हेर्ने कि मरेको सम्झेर शोक मनाउने ?

वास्तवमा भन्ने हो भने बेपत्ता पारिएकाहरूको परिवारसँग एउटा झिनो आशा हुन्छ, पर्खाइ हुन्छ, र याद हुन्छ । खगेन्द्र लामिछानेको ‘पानीफोटो’ यस्तै आशाको र प्रतीक्षाको कथा हो ।

पानीफोटो : नाटक

पानीफोटो नाटकका बारेमा लेखिरहँदा मैले यहाँ भन्नैपर्ने कुरा के हो भने यो नाटक त्यस बखत मञ्चन भएको थियो, जस बखतको मेरो उमेरलाई नाटक जगतसँग कुनै चिनापरिचय थिएन । त्यसैले मैले नाटकको जे जति कुरा गर्नेछु, त्यो नितान्त नाटक पढेको आधारमा गर्नेछु ।

जनयुद्ध ताका माओवादी र राज्यपक्षबाट बेपत्ता पारिएका निर्दोष नेपाली नागरिकका आफन्तका कथा पढिसकेपछि खगेन्द्र लामिछानेलाई ‘पानीफोटो’ नाटक लेख्न प्रेरणा मिलेको थियो । सन् २००९ को मध्यतिर उनले नाटक लेखिसके । नेपालका दुई दिग्गज रंगकर्मी सुनिल पोखरेल र अनुप बरालको सुझाव अनुसार उनले नाटकमा केही परिमार्जन पनि गरे । र, वि.सं २०६६ साल फागुन ५ गते उक्त नाटक मञ्चन भयो ।

नाटक निकै नै राम्रो चल्यो । गुरुकुलको रिमाल नाटकघरमा लगातार ३५ पटक पानीफोटो मञ्चन भयो भनेर खगेन्द्रले आफ्नै किताबमा भनेका पनि छन् । नाटक यसरी चल्नुको सबैभन्दा ठूलो श्रेय खगेन्द्र स्वयंलाई नै जान्छ ।

उनले लेखेको नाटकमा बेपत्ता पारिएका सन्तानका बाबुआमाको पीडा त प्रष्टसँग झल्किन्थ्यो तर सँगै अनेकौं व्यंग्य पनि मिसिएको थियो । बेपत्ता भएकाहरूको कथा खिच्न आउने डाइरेक्टर, क्यामेराम्यान अनि भोट माग्न आउने नेताहरूको सिनमा छलीमाया र कुशबहादुरले प्लेकार्ड उठाउँदा दर्शक नहाँसी बस्न सकेनन् होला भन्ने अनुमान नाटक पढिरहँदा हुन्छ । नाटकमा हाँस्यरस सँगै करुण रस पनि पर्याप्त छ । मैले पढिरहँदा आँखा रसाएका थिए । हेर्न आउनेहरू पनी भावूक नभई बस्न सकेनन् होला ।  अझ साक्षात त्यस काललाई भोगेकाहरूले नाटकमा आफ्ना बन्धुहरूलाई वा आफैँलाई पनि देखे होलान् ।

नाटकले बेलाबखत हाँसिमजाकको खोल ओढे ता पनि नाटकमा एकतमासको नैराश्य कायमै हुन्छ, चाहे त्यो छलीमायाको खोजमा होस् वा कुशबहादुरको रिसमा । नाटकमा सबैभन्दा भावनात्मक क्षण तिहारको बेला आउँछ, जब बेपत्ता भएको हरीकी दिदीले भाइको सट्टा भाइको फोटोलाई छेक्छिन् र त्यही फोटोलाई टीका लगाइदिन्छिन् ।

नाटक चल्नुको अर्को श्रेय गुरुकुललाई पनि जान्छ । उनले किताबमा भनेअनुसार नाटक हुने क्रममा केही साथीहरूले नाटकको विरोधमा बोलेका थिए अरे । तर प्रतिवाद गर्दै सुनिल पोखरेलले ‘यो नाटक राम्रो भएन भने सुनिल पोखरेलले नाटक बुझेको रै’नछ भन्ने सम्झनु’, भनिदिएछन् । अनि नाटक गुरुकुलमा बिनाकुनै अड्चन मञ्चन भयो ।

नेपालको नाट्यक्षेत्रमा परिवर्तन ल्याउने संस्था हो गुरुकुल, कतिले त गुरुकुलको युग नेपाली रंगमञ्चको सुवर्ण युग हो पनि भन्छन् । त्यसैले पानीफोटोले गुरुकुलको ब्यानरमा मञ्चन हुन पाउनु पनि सौभाग्य थियो । यद्यपी, नाटक गुरुकुलकै ब्यानरका कारण चल्यो भन्नु चाहिँ गलत हुन्छ ।

एकदिन नाटक सकिएपछि नाटकघरमा एकजना युवक खगेन्द्रसामु आएर रोएछन् । ती युवकका दाइ र दिदी दुवै जनयुद्ध कालमा बेपत्ता पारिएका रहेछन् । यो कुरा खगेन्द्रले सुनेपछि उनको आँखामा आशाका अनुहार लिएर कुरिरहेका कयौँ आफन्तजन घुमिरहे । त्यहीबेला उनले यसमा पछि सिनेमा बनाउने अठोट गरे । हुन पनि हो, एउटा कलकारलाई आफ्नो कला सकेसम्म धेरैमा पुगोस् भन्ने रहर त हुन्छ नै । त्यसमाथि यो त सबैलाई भनिनु पर्ने, सबैमा पुग्नैपर्ने एउटा कथा थियो । उनले त्यसबखत लिएको अठोट करिब करिब १२ वर्ष पछि पूरा भयो ।

पानीफोटो : फिल्म

पानीफोटो हेरिरहँदा कता-कता मनोज पण्डितको ‘बधशाला’को पनि याद आउँछ, यस मानेमा कि त्यो पनि खगेन्द्र लामिछाने अभिनित फिल्म हो । अझ भन्नुपर्दा उनको पहिलो फिल्म र त्यो पनि जनयुद्धकै कहानी । ‘बधशाला’को एउटा पाटो बेपत्ता बनाइएकाहरूको पनि कता हो । उक्त फिल्ममा खगेन्द्रको पात्रको नाम कृष्ण  हुन्छ ।  एक हिसाबले त्यो पनि कृष्णको कथा हो । यता पानीफोटोमा पनि बेपत्ता बनाइएको पात्रको नाम कृष्ण हुन्छ । फरक यत्ति हो कि ‘बधशाला’को कृष्ण र पानीफोटोको कृष्णलाई लैजाने कर्ताहरू फरक हुन् तर दु:ख पाउने त कृष्ण र कृष्णका परिवारले नै हो ।

सानो हुँदा शिशिर र वसन्तको लोक कथा सुने/पढेको थिएँ । त्यसमा आगो लिन जान्छु भनी शिशिरले वसन्तलाई जंगलमै छाडेर हिँडेका थिए । घना जंगलको बीचमा शिशिरले टाढाको गाउँमा आगोको जस्तो प्रकाश देख्छन् र त्यसैलाई पछ्याउँछन् । तर बिडम्बना, उनी जतिजति त्यस ज्योतिको नजिक जान्छन्, त्यतित्यति त्यो ज्योति उनीबाट टाढा भाग्छ, ठ्यक्कै मरुभूमिमा हुने मृगतृष्णा जस्तो ।

पानीफोटोको पहिलो दृश्य ठ्यक्कै शिशिर र वसन्तको त्यो भागसँग मिल्न जान्छ । मैयाँ (कृष्णकी आमा), कुहिरोमा एउटा आकृतिलाई पछ्याइरहेकी हुन्छिन् । उनी जति जति त्यस आकृतिको नजिक पुग्न खोज्छिन्, त्यति त्यति त्यो आकृति उनीबाट टाढा हुन्छ ।  अन्त्यमा उनले त्यसलाई छुन्छिन् र यता उनको सपना टुट्छ र उनी ब्यूँझिन्छिन्। उनले त्यो आकृतिलाई, छुन्छिन् मात्र तर भेट्न पाउँदिनन् । जुन आकृति उनको छोरा हो ।

यसरी निर्देशक तथा लेखक खगेन्द्र लामिछानेले निकै बठ्याईँपूर्वक पानीफोटोको सुरुवात गरेका छन् । बठ्याई यस मानेमा कि मैयाँले देखेको त्यो सपना नै फिल्मको कहानी हो, फिल्मको अन्त्य हो । फिल्मको अन्त्यमा पनि मैयाँ र उनका श्रीमान् चन्दनले आफ्नो छोरो किस्ने (कृष्ण)लाई भेट्ने सम्भावनाको उच्च बिन्दुमा पुग्छन् तर भेट्टाउँदैनन् । पुन: केही बाँकी रहन्छ भने त्यो मात्र एउटा झिनो आश हो ।

‘बाबा रून्छन लौ वर्ष दिन, आमा जुगै भरि लौ हजुर ..।’

माथि उल्लेखित झलकमान गनधर्वको ‘आमाले सोध्लिन नि’ गितको अन्तिमको बोलले यस चलचित्रका दुई मुख्य पात्रको सार भन्छ । मैयाँले कृष्णलाई खोज्न छोडेकी छैनन् । आमा हुन्, र आमाको मनमा झिनो आश भने रहिरहन्छ । उनी आँगनको डिलमा गएर बेलाबेला तल बाटोतिर हेरिरहन्छिन् । कतिसम्म भने बाहिर कुकुर कराएको आवाज आउँदा पनि उनी छोरा नै पो आयो कि भन्ने आशले बाहिर निस्किन्छिन् ।

पहिलो सपनाको दृश्यमा शिशिरले वसन्तलाई छोडेर आगो खोज्न हिँडे झैं मैयाँले पनि आफ्नो धनसम्पती, नाता सम्बन्ध, उमेर, सबै छोडेर कृष्णलाई खोज्न लागिपरी रहेकी छिन् । कति वर्ष भइसक्यो, कति ठाउँमा हार खानु परिसक्यो तर उनले हरेस खाएकी छैनन् । उनी सपनामा आउने आकृती जस्तो नभएर  तटस्थ छिन् ।

यता चन्दनले भने आश मारिसकेको छ । उसलाई छोरा भेटिन्छ भन्ने कुनै विश्वास छैन । पल्टनको पाक्न लागेको पेनसन छोडेर छोरा खोज्दा ऋण पनि लागेको छ उनीहरूलाई । यस्तोमा चन्दनको उमेर पनि ढल्किँदै गइरहेको छ । र उनीहरूको अर्को कुनै सन्तान पनि छैन । त्यसैले चन्दनले भने हार खाइसकेको हुन्छ ।

सिनेमाको सुरुवाती केही क्षणमा यि दुई दम्पति एउटै सिक्काका दुई पाटा जस्ता हुन्छन् । सबै त्यागेर कृष्णलाई खोज्न पनी पछि नपर्ने मैँयालाई बिरोध गर्ने काम चन्दनले गर्छ । यही कारणले पनि होला, मायाको वावजुद, उनीहरूको सम्बन्धमा केही अड्चन देख्न सकिन्छ ।

वास्तवमा फिल्मको सुरुवात योभन्दा अगाडि नै भइसकेको हुन्छ । निर्देशकले केही चित्रहरूको प्रयोगले फिल्म सुरु हुनुभन्दा अगाडि, नामहरू आउँदै गर्दा, फिल्मभन्दा अगाडिका केही कहानी भनिसकेका हुन्छन् । ती चित्रहरूलाई ध्यान दिएर हेर्ने हो भने, चन्दनको मनोविज्ञानलाई बुझ्न सजिलो हुन्छ । ती चित्रहरूमा चन्दन र मङ्गलेले आफ्ना हराएका छोराहरूलाई खोजेको देख्न सकिन्छ ।

तर, चन्दनको आशा तब फर्किएर आउँछ जब पदम (कृ‌ष्णको साथी), जो कृष्णसँगै हराएको थियो, फर्केर घर आउँछ । ऊ यतिसम्म आशावादी बन्छ कि उसले गर्ने भनेको कृष्णको क्रियासम्म गर्दैन, चाहे त्यसले उसको र उसको दाजुको सम्बन्ध नै किन नबिग्रियोस् । उसको छटपटी र उसको आशा दुवै उसको व्यवहारमा पनि देख्न सकिन्छ । पदम फर्किएसँगै बुढाबुढीबीचको सम्बन्धमा पनि सुधार आउँछ ।

सँधै चर्काचर्की पर्ने उनीहरूबीच माया बढेको अनुभव हुन्छ । उनीहरू आँखाले नै माया व्यक्त गर्छन् । चन्दनको फर्किएको आशालाई फिल्मको एउटा दृश्यले एकदमै राम्ररी व्यक्त गरेको छ । चन्दनले कहिल्यै खाना थपेर खाँदैन तर पदम फर्किए पछि उसले भात थपी-थपी खान्छ । किनकी अब त्यो बुढेसकालमा उसको ज्यानलाई कृष्णलाई फेरी खोज्ने तागत चाहिन्छ ।

चलचित्रको धेरैमध्य सबैभन्दा सबल पक्ष यसका संवादहरू हुन् । संवादहरू तिखो चाहिने ठाउँमा तिखो छ र मिठो चाहिने ठाउँमा मिठो छ । चाहे त्यो चन्दनले मैयाँलाई गाली गर्ने बेलामा होस् या चाहे त्यो चन्दन आशावादी भएपछि देखिने न्यानोपनमा होस् ।

कतिपय संवादहरूमा सबटेक्स्ट पनि लुकेको छ । राधा कृष्णलाई प्रेम गर्छे र पर्खेर बसिरहेकी छे । पदम फर्केसँगै उसको आशा पनि निकै बलियो भएर आउँछे । तर त्यो आशासँगै उसलाई कतै पदमले झैं कृष्णले पनि बिहे गरेको त छैन भन्ने कुराले पनि खान थाल्छ । कृष्णको कुरा बुझ्न उसले पदमलाई भेट्छे र उसले पदमको बिहेको कुरा निकाल्छे ।

राधा : अनी ब्या अरेछौ त ।

पदम :….अरियो ।

राधा : केटा मान्छेलाई कति सजिलो छ है बिर्सन । (एकैछिनपछि) दुई वर्षसम्म सरिताले तिम्लाई कुरेर बसेई थिइ ।

पदम : जोरो आ’को बेला निधार छाम्नी मुन्छेको मयाँ लाउदो रैच, क्यार्नी ।

राधा : तिमी गाम्मै भ’को भए त सरिताले नि छाम्दी हो नि ! …लोग्ने मुन्छेको जात ।

उनीहरूको यति संवादले राधाको मनोभावना मात्र खुल्दैन पदमको अतीतका केही पानाहरू पनि पल्टिन्छन् । तर यो संवादमा त्यति कुरा मात्र छैन । गहिरिएर हेर्ने हो भने, यहाँ राधाले वास्तवमा पदमसँग नभएर कृष्णसँग कुरा गरिरहेकी छे । उसले केटा मान्छे र लोग्ने मान्छे भनेर ‍कृष्णलाई सम्बोधन गरिरहेकी छे । यसले ऊभित्र लुकेको डर झल्किन्छ । कतै कृष्णले पनि विवाह गरेको रहेछ भने ?

फिल्मका दृश्यहरू पनि तारिफयोग्य छन् । स्टोरीटेलिङ संवादबाट मात्र नभएर क्यामरा र दृश्यहरूबाट पनि गरिएको छ । जस्तै एउटा सिनमा मैयाँले ‘माइत जान्छु’ भनेर भन्छे । चन्दन र मैयाँबीच भनाभन हुन्छ । मैयाँको व्यथा चन्दनले बुझेको हुँदैन, बुझे पनि बुझ पचाएको जस्तो गर्छ । यस्तोमा क्यामेरा तानिँदै आउँछ र स्क्रिनमा दुईजानामध्ये केवल मैयाँ मात्र बाँकी रहन्छे । मैयाँ स्क्रिन र जीवनमा दुवैमा एक्लिन्छे ।

यस्तै अर्को निकै राम्रो बिम्बको रूपमा काम गरेको भनेको स्वयं कृष्णको पात्रले हो । कृष्ण चलचित्रको यस्तो पात्र हो जुन चलचित्रभरि देखिँदैन वा भनौं कृष्णको अनुहार चलचित्रभरि निर्देशकले देखाउँदैनन् । तर पदम, जो कृष्णको साथी हो, उसको भने अनुहार देखिन्छ ।

फ्ल्यास्ब्याकमा पदम यस कारण देखिन्छ किनकि पदम भनेको फर्किएको त्यो मान्छे हो. जसलाई हामीले देखेका/भेटेका छौँ । यहाँ पनि निर्देशकले फोरस्याडोको प्रयोग गरेका छन् । पदम यस कारण पनि देखिन्छ किनकि पदम पछि भेटिन्छ । कृष्ण यसकारण पनि देखिँदैन किनकि उक्त पात्रले बेपत्ता भएकाहरूको कथा बोकेको छ । र कृष्ण यस कारण पनि देखिँदैन किनकि ऊ पछिसम्म पनि भेटिँदैन ।

त्यस्तै चलचित्रको अर्को बिम्ब कुहिरो हो, जुन चलचित्रको मोटिफ पनि हो । सुरुमा मैयाँले आफ्नो सपनामा पुरुष आकृतिलाई पछ्याउँदा होस् या रोल्पाका डाँडामा चन्दन र मैयाँले कृष्णलाई चिन्ने मान्छेलाई खोज्ने क्रममा होस्, त्यो अन्तिममा चन्दनले देखेको सपनामा होस्, कुहिरो हरेक ठाउँमा व्याप्त छ । यस चलचित्रमा कुहिरोले एक अर्थमा आशालाई प्रतिबिम्बित गर्छ र अर्को रूपमा हेर्ने हो भने यसले अनिश्चिततालाई पनि दर्शाउँछ ।

निर्देशकले यसरी ससाना कुराहरूमा ध्यान दिएका छन् । कँहासम्म भने चलचित्रको एउटा सानो पात्र मनेभाइको पूरा जीवन र पीडाको बारेमा हामीलाई उसले नभनिकनै सबै थाहा हुन्छ । उसले पाठो लिएर घर फर्कँदा घरलाई नियालेर हेर्छ । यहाँ नेपथ्यमा गुञ्जिएका आवाजहरूको प्रयोग गरेर खगेन्द्रले मनेभाइको कथा भनेका छन् ।

अर्को उदाहरण: एउटा दृश्यमा ऐनाको सट देखिन्छ, जसको छेउमा चाबी राखिन्छ । त्यो मैँया र चन्दनले चाबी राख्ने ठाउँ हो । कतै जानु परे उनीहरू चाबी त्यहीँ राखेर जान्छन् । त्यो सानो सट किन महत्वपुर्ण छ भन्ने पछि थाहा पाइन्छ, जब राधाले घरमा छिरेर फोटो लैजान त्यही ठाउँबाट झिकेर चाबीको प्रयोग गर्छिन् ।

निर्देशकले फिल्ममा टन्नै कथाहरू भन्न खोजेका छन् । जस्तो कि एउटा चमन भन्ने पात्र छ, जो पदम जस्तै घर फर्किन्छ, बिहे गर्छ, घरजम गर्छ र विदेश जान्छ अनि उतै हराउँछ । त्यसको ठिक उल्टो, यता राधाको दाजु पात्र छ, जो विदेश जान्छ र फर्किन्छ । यो आफैंमा एउटा छुट्टै कहानी बन्न योग्य छ । त्यस्तै यहाँ अर्को कहानी राजु भन्ने पात्रको छ, जो विदेश जान तयार भएर बसेको छ । अर्को ठूल्दाइको छोराको कहानी छ, जो बिरामी बाबु लिन आउन पनि भ्याउँदैन ।

फिल्ममा जनयुद्धमा हराएर, बेपत्ता भएर फर्किएकाहरूको मनोविज्ञान पनि देखाउन निर्देशक केही मात्रामा सफल भएका छन् । टीकापुरको प्रदीप होस् या गाउँकै पदम, उनीहरूमा परिवर्तन आएको छ । यो उनीहरूको व्यवहार र संवादबाट थाहा हुन्छ । उनीहरूमा त्यो युद्धको छाप र डर भित्रैसम्म गडेर बसेको छ, जुन देखिन त देखिन्छ तर त्यो दर्शकसँग रहिरहन भने पाउँदैन ।

चलचित्रमा नराम्रा पक्ष हुँदै नभएको पनि होइन । सबै पात्रहरूको उदेश्य र मनोभाव बुझ्न सकिन्छ, त्यसमा कुनै दुविधा छैन तर माथि भने जस्तै पात्रहरूलाई सहानुभूति दिन दर्शकहरूलाई अफ्ठ्यारो पर्छ । यो सम्भवत: पात्रहरूको गहिराइ नदेखिएको कारणले भएको हुनसक्छ । सम्पूर्ण चलचित्रभरि चन्दन र राधा मात्र यस्ता पात्र हुन्, जसको मनोभावमा केही फेरबदल आउँछ । यी दुईको तुलनामा अरू पात्रहरू केही फिक्का लाग्न सक्छन् । फ्ल्यास्ब्याकमा देखिने राधा र कृष्णको विवाहको कुरा निकै नै क्लिसे र ड्रामाटाइज्ड महसुस हुन्छ । राधाले कृष्णलाई प्रेम गर्छ‍िन् भन्ने कुरा दर्शकलाई निकै अगाडि नै थाहा भइसकेको हुन्छ ।

राधाले भाग्नु अगाडि अन्तिम आशाको रूपमा कृष्णको हालखबर भेटिएको वा नभेटिएको बुझ्न मैयाँलाई फोन गर्छे । जब कृष्णको अत्तोपत्तो नलागेको कुरा थाहा पाउँछे, उसले गाउँबाट भाग्ने निर्णय लिन्छे । यो सबै फिल्मको ब्याकग्राउन्डमा हुन्छ, पर्दामा देखिँदैन ।

त्यस्तै अन्य कतिपय घटनाहरू पनि पर्दामा देखिँदैनन् । र कहीं न कहीं त्यसले फिल्मलाई राम्रो बनाएको छ । तर चलचित्रको अन्त्यमा, फोटो हराएपछि एक्कासी अस्तव्यस्त कोठा देखिन्छ । चन्दन र मैयाँले हरेक ठाउँ खोजिसकेका छन् त्यो एकमात्र फोटोलाई । उनीहरूको त्यो खोज पनि पर्दा पछाडि नै हुन्छ । तर, यो कुरा पर्दामा देखिनु पर्ने कुरा थियो कि ?

चन्दन र मैयाँसँग कृष्णको अनुहारको आकृति सम्झाउने भनेकै त्यही मात्र फोटो थियो । त्यसैले पनि त्यो फोटो हराउनु उनीहरूका लागि धेरै ठूलो कुरा थियो । त्यो फोटो हराउनु भनेको उनीहरूको छोरो दोस्रोपटक हराउनु थियो । यहाँ दर्शकलाई उनीहरूको व्यग्रताको गहिराई अझै गाढा रूपमा सायद फोटो खोजेको दृश्यबाट दर्शाउन सकिन्थ्यो।  त्यसो हुँदा सम्भवत: उनीहरूलाई दर्शकले केही सान्त्वना अझै दिने थिए कि ?

संसारका केही प्रख्यात चलचित्रहरू जसले दर्शकलाई सोच्न बाध्य बनाउँछन्, तिनमा ओपन इन्डिङ हुने गर्छ । पानीफोटोले पनी त्यो बाटो अपनाउन सक्थ्यो । चलचित्रमा राधाले पानीफोटो लगेको कुरा प्रष्ट हुन्छ । तर, निर्देशकले त्यो सम्पूर्ण सिनलाई नदेखाई दर्शकलाई सोच्न बाध्य बनाउन सजिलै सक्थे ।

नाटक भर्सेस फिल्म

फिल्म नाटकभन्दा भिन्न हुन्छ नै । पानीफोटो नाटक र पानीफोटो फिल्म पनि भिन्न छ । नाटकका १३ पात्रहरूमध्ये फिल्ममा जम्मा ४ पात्र देखिन्छन् । नाटकमा बेपत्ता भएकाहरूलाई पर्खिनेमध्ये एउटी पात्र दिदी पनि हुन्छे, जुन फिल्ममा राखिएको छैन । दिदीले नाटकमा तिहारका बेला भाइको फोटोलाई टीका लगाइदिएको दृश्यले नाटकलाई गहिराइ मात्र नदिएर दर्शकलाई भावुक पनि बनाउँछ । कमला यस्ती पात्र हुन्, जुन सायद चलचित्रमा भएकी भए चलचित्रको ओजन अझै बढ्थ्यो ।

पानीफोटो नाटक र फिल्ममा अर्को भिन्नता भनेको नाटकमा हाँस्यरस थियो, जुन फिल्मा वञ्चित छ । हाँस्यरसको कमीले फिल्मलाई नराम्रो भने पक्कै बनाएको छैन । पटकथालाई नियालेर हेर्ने हो भने त्यहाँ हाँस्यरसको कुनै स्थान नै छैन । यदि लेखकले स्थान बनाउन खोजेका भए, अहिले जुन पानीफोटो हाम्रो सन्मुख छ, त्यो नभएर अर्कै पानीफोटो हाम्रो अगाडि हुन सक्थ्यो ।

त्यसैगरी, नाटकमा डाइरेक्टर, क्यामराम्यान, र नेता पात्रहरू छन्, जोद्वारा संस्थाहरूको लोभ र देशको राजनैतिक अवस्था देखाइएको छ । यी कुराहरू फिल्ममा पनि छन्, जुन मैयाँले एक ठाउँमा संवादमा समेटेकी छिन् । तर युद्धको राजनैतिक पाटोलाई हामीले नाटकमा जस्तो फिल्ममा महसुस गर्न सक्दैनौँ ।

नाटकमा छोरालाई माओवादीले नै लगेको हो भन्ने कुरा मौखिक रूपमा कहीँ भनिएको छैन तर चलचित्रमा यो कुरालाई प्रष्टसँग देखाइएको छ । नाटकमा पानीफोटो हराएको त छ तर कसले लग्यो भनेर नाटकले जवाफ दिँदैन । त्यो जवाफ हामीले चलचित्रमा पाउँछौँ ।

किताब

चलचित्र निर्माण प्रक्रियामा छलफल, पटकथा अध्ययन, र फिल्म सम्बन्धी पुस्तकहरूको अध्ययन विदेशी सिनेजगतको प्रमुख पक्ष हुन् । यसले आम मान्छेमाझ सिनेमा सम्बन्धी ज्ञान बढाउँछ, जसले गर्दा सिने क्षेत्रलाई नै फाइदा पुग्छ । केही मात्रामा उनीहरूले बनाएको सिनेमा हरेक कुनामा पुग्न यी माध्यमहरूले पनि सहयोग गर्छन् ।

त्यसैले त कति बाहिरी चलचित्रका पटकथाहरू फिल्म वेवसाइटहरूमा सित्तैमा पढ्न पाइन्छ । त्यति मात्र नभएर पटकथा र चलचित्र सम्बन्धी नियात्राका किताब नै छापिन्छन् । चलचित्रलाई रुचाउने र अझै बुझ्न चाहानेहरूका लागि यी सुविधा कुनै अमूल्य गहनाभन्दा कम होइनन् ।

तर, नेपालका सिने अनुयायीहरू यी कुराबाट वञ्चित छन् । उनीहरूसँग बाहिरी सिनेमाका बारेमा अध्ययन गर्ने श्रोतहरू टन्नै छन् तर आफ्नै देशमा बनेका फिल्मको बारेमा पढ्ने, जान्ने ठाउँ छैन । यस्तोमा पानीफोटो जस्तो किताब निस्किन्छ, जसमा ‘पानीफोटो’ फिल्मको कथा गर्भ मात्र नभएर फिल्म बन्नुअघि देखि नै गर्नुपर्ने संघर्षहरू छन् ।
जसमा एउटा सिनेमा बनाउन निर्देशक, लेखक, अभिनेता, निर्माता र लागि परेका हरेकमा कत्तिको अठोट हुनुपर्छ भन्ने कुराहरू छ ।

नाटक र सिनेमा दुवै क्षेत्रमा लागेकाहरूलाई भने यो किताब हिरा हो । किताबमा नाटक पनि छ र सँगै फिल्मको पटकथा पनि छ । नाटकदेखि फिल्मसम्म आइपुग्दा के कस्ता कुराहरू परिवर्तन हुन्छन् भन्ने कुरा पनि किताबमा छ । विशेषत: पटकथा लेख्न चाहनेले गर्नुपर्ने रिसर्चहरूको कुरा पनि किताबमा उल्लेख गरिएको छ । खगेन्द्र रिसर्चकै क्रममा बर्दिया पुगेका थिए । त्यहाँ बेपत्ता भएका मान्छेको परिवारको कुरा उनले किताबमा उतारेका छन् । ती व्यक्तिका कथा पढ्दै गर्दा मन भारी भएर आउँछ र गहमा आँसु जम्छ । त्यही रिसर्चको फल हो पानीफोटोको पात्र ‘प्रदीप’ ।

पानीफोटो खगेन्द्रको पहिलो निर्देशन हो । पहिलो पटक आँटेको काममा जोश, अलमल, डर र कौतुहलता सबै हुन्छ । किताब पढिरहँदा त्यो महसुस हुन्छ पनि । उनलाई थाहा नभएका र निश्चित नभएका कुराहरूमा उनले झारो टारेका छैनन् । बरु ती कुराहरूलाई आफ्नै ढंगले सम्हालेका छन् । उदाहरणका लागि, उनले चलचित्रको लागि गरेको स्टोरीबोर्डलाई हेरौं । प्राय: स्टोरीबोर्डिङ स्केच गरेर गरिन्छ तर उनले यसमा अलग मापदण्ड अपनाएका छन् । जुन सिन, जुन लोकेसनमा, जुन लेन्स प्रयोग गरेर खिच्ने हो, त्यो सिनको स्टोरीबोर्ड त्यही लोकेसनमा र त्यही लेन्सले खिचेका छन् ।

यसले उनलाई के गर्दैछु भन्नेबारे हेक्का दिन्छ । सँगै उनी भर्खरै हिँड्न सिकेका निर्देशक हुन् भन्ने कुरा पनि पुष्टि हुन्छ । यसो गर्दा फिल्मलाई राम्रो त भयो तर लगानी भने बढ्यो । किताब पढिरहँदा फिल्ममा लगानी कहाँकहाँ लाग्यो भन्ने कुरा प्रष्ट देखिन्छ र एकमनमा सायद ती स्थानहरूमा लगानी बचाउन सकिन्थ्यो जस्तो पनि लाग्छ ।

पानीफोटो पढिरहँदा खगेन्द्र अनुभवसँगै निकै फस्टाउने निर्देशक हुन् भन्ने कुरा महसुस गर्न सकिन्छ । उनमा जोश र जाँगर छ, अनुशासन छ र अरुलाई लिड गर्न सक्ने क्षमता छ । उनमा एउटा निर्देशनमा चाहिने कडकपन पनि छ । आफ्नै गुरूहरूसँग काम गर्दा उनले अप्नाएको अनुशासन तारिफयोग्य छ ।

कत्ति ठाउँमा प्राकृतिकदेखि मानसिक समस्याहरू आइपर्छन् तर उनले हरेस नखाइ हिम्मतका साथ तिनको सामना गर्छन् । उनले सानोभन्दा सानो रोलका लागि रंगकर्मीहरूको प्रयोग गरेका छन् । त्यति मात्र हैन, निर्णय लिने बेला फिल्मको हितमा लिएका छन् । आफुले कल्पेको दृश्य क्यामेरामा नउत्रिँदा सम्म उनी टेक माथि टेक लिन पछाडि हटेका छैनन् ।

किताब पढिरहँदा एउटा निर्देशकको सिनेमाप्रतिको कस्तो दायित्व हुनुपर्छ भन्ने कुरा किताबले पाठकलाई महसुस गराउँछ । किताबमा उनले आफूले भोगेका कुराहरू र फिल्म बनाउन गरेका कामहरू छर्लङ्गै खुलाएका छन् । सेट डिजाइनदेखि लिएर पोशाकको डिजाइन, पात्रका लागि कास्टिङ, छायङ्कनको खोज, साउन्ड डिजाइन र  लोकेसन हन्टिङ, सबै यो किताब भित्र छ । त्यसैले यो किताब पानीफोटो फिल्मको नियात्रा मात्र नभएर, निर्देशक बन्ने सानोतिनो गाइडबुक पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?