+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
59/2 (7.4)
Shares

के श्रीमतीसँग शेक्सपियरको सम्बन्ध नराम्रो थियो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शेक्सपियरकी पत्नीलाई अनपढ र जबरजस्ती विवाहमा फसाउने पात्रको रूपमा चित्रण गर्ने पुरानो कथ्यलाई उपन्यास र चलचित्र \'ह्यामनेट\'ले खण्डन गरेको छ।
  • \'ह्यामनेट\' उपन्यासकी लेखिका म्यागी ओफारेलले शेक्सपियरकी पत्नीको नाम एग्नेस राखेर उनको जीवनबारे नकारात्मक कथालाई चुनौती दिएकी छिन्।

विलियम शेक्सपियर । यो नाम सुन्दैमा पाश्चात्य साहित्यको शिखर व्यक्तित्वको सम्झना हुन्छ । इतिहासले उनका कृतिहरूलाई जति सम्मान गर्यो, उनको व्यक्तिगत जीवन, खासगरी उनकी पत्नीको कथालाई त्यति नै लामो समयसम्म छायाँमा राख्यो ।

उनकी पत्नीलाई अनपढ किसान, गाउँले महिला र शेक्सपियरलाई जबरजस्ती विवाहको जालमा फसाउने पात्रको रूपमा मात्रै चित्रित गरियो।

तर केही समयअघि आएको उपन्यास र अहिले ओस्करको दौडमा रहेको चलचित्र ‘ह्यामनेट’ यो कथ्यको विरुद्धमा देखिएको छ ।

यी कृतिले ४०० वर्षदेखिको एउटा प्रश्नको उत्तरको खण्डन गर्न लागेको छ । प्रश्न हो- के विश्वका महान् नाटककार विलियम शेक्सपियरले आफ्नी पत्नीलाई साँच्चै घृणा गर्थे त?

‘ह्यामनेट’ले यो विचारलाई चिरेको छ । कृतिको कथाले आम पाठकले बोकिरहेको एउटा गलत धारणालाई बदल्न प्रयास गरेको छ । साथै शेक्सपियरले आफ्ना छोराको मृत्युपछि कसरी एउटा अमर नाटकको जन्म दिए भन्ने पाटो देखाएको छ ।

इतिहासका धेरैजसो किताबहरूमा शेक्सपियरकी पत्नीलाई एन ह्याथवे भनिएको छ । तर, ‘ह्यामनेट’ उपन्यासकी लेखिका म्यागी ओफारेल यस कुरामा असहमति राखेकी छिन् ।
‘इतिहासले शेक्सपियरकी पत्नीलाई धेरै नराम्रो व्यवहार गरेको छ । त्यसैले मैले उपन्यासमा उनकी पत्नीको नाम एग्नेस राख्ने निर्णय गरेको छु’ उनी भन्छिन् । खासमा एग्नेस नाम एनका बुबाले आफ्नो इच्छापत्रमा उल्लेख गरेका थिए ।

जब हामीले उनको नाम पनि सही रूपमा लिन सकेका छैनौँ भने उनको जीवनबारे दिइएका नकारात्मक कथाहरू कसरी सत्य हुन सक्छन् ? ओफारेलको तर्क छ ।
त्यसमाथि शेक्सपियरको परिवारबारे प्रमाणित तथ्यहरू एकदमै थोरै हुनु मुख्य समस्या हो । त्यसले गर्दा अनेकन् प्रश्नहरू खडा भएका हुन् ।

जस्तो: सन् १५८२ मा १८ वर्षका शेक्सपियरले २६ वर्षकी एन ह्याथवे (एग्नेस) सँग विवाह गरे । एन गर्भवती पनि थिइन् । तर कसैलाई थाहा छैन त्यो प्रेम विवाह थियो कि बाध्यता । पछि उनीहरूका जुम्ल्याहा छोराछोरी जुडिथ र ह्यामनेट जन्मे । त्यो बेला ‘ह्यामनेट’ र ‘ह्याम्लेट’ नामहरू एक-अर्काको सट्टामा प्रयोग हुन्थे । सन् १५९६ मा मात्र ११ वर्षकै उमेरमा ह्यामनेटको मृत्यु भयो । सम्भवतः त्यसबेला व्यापक रूपमा फैलिएको प्लेग मृत्युको कारण थियो । छोराको मृत्यु भएको करिब चार वर्षपछि शेक्सपियरले आफ्नो विश्वप्रसिद्ध नाटक ‘ह्याम्लेट’ लेखेका थिए ।

यी आधारभूत तथ्यहरू बाहेक एन (एग्नेस) पढ्न र लेख्न सक्थिन् कि सक्दिनथिन्, उनले शेक्सपियरलाई मन पराउँथिन् कि पराउँदिनथिन् यी सबै कुरा रहस्यमय छन् ।

‘ह्यामनेट’ उपन्यास र फिल्मले यही खाली ठाउँलाई भर्ने काम गरेको हो । कृतिहरूले एग्नेसलाई असाधारण महिलाको रूपमा चित्रण गरेको छ । जस्तो: उनलाई जडीबुटी र औषधिको अथाह ज्ञान हुन्छ । उनले भविष्यको संकेत बुझ्न सक्छिन् र आफ्ना श्रीमानलाई खुबै माया गर्छिन् ।

यद्यपि एन (एग्नेस)को यो चित्रणमा कुनै ऐतिहासिक प्रमाण छैन । यो कुरामा लेखिका ओफारेल आफैं पनि सचेत छिन् । उनका अनुसार शेक्सपियरका नाटकहरूमा रहेका जडीबुटी र भविष्यको संकेत दिने पात्रहरूबाट एग्नेसको चरित्र बनाएकी हुन् । शेक्सपियरको समयमा प्राय: घरकी महिलाको नै औषधि बनाउने र उपचार गर्ने जिम्मा पाउँथे । त्यसकारण पनि एग्नेसको जडीबुटी ज्ञान विश्वासयोग्य रहेको बताइन्छ ।

त्यस्तै‌ ‘ह्यामनेट’मा एग्नेसको बलियो र समझदार चरित्र देखाइएको छ । त्यसो हुनाले एन ह्याथवे (एग्नेस)लाई हेर्ने गरिएको पुरानो र नकारात्मक सोच भने परिवर्तन हुनेछ।

सत्य हो कि शेक्सपियर लामो समय लन्डनमा काम गर्दा आफ्नो परिवारबाट टाढा रहन्थे । तर छोरो ह्यामनेटको मृत्यु र त्यसपछिको शेक्सपियरको शोकबारे पनि कुनै प्रमाण छैन । यद्यपि अध्येताहरू ह्यामनेटको मृत्यु र ‘ह्याम्लेट’ नाटक बीचमा गहिरो सम्बन्ध देख्छन् ।

फिल्ममा पनि त्यस सम्बन्धबारे देखाइएको छ । फिल्ममा एउटा दृश्य छ- एग्नेस ‘ह्याम्लेट’ नाटक हेर्न लन्डन पुगेकी हुन्छिन् । त्यहाँ उनले ह्याम्लेटको भूमिका निभाउने कलाकारको भेषभूषा उनको छोराको जस्तै देख्छिन् ।

यो व्याख्या अनुसार शेक्सपियरले आफ्नो शोकलाई व्यक्त गर्न र छोरोलाई बिदाइ दिन ‘ह्याम्लेट’ नाटक लेखेका हुन् । नाटकमा शेक्सपियरले ह्याम्लेटको बुबाको आत्माको भूमिका निभाएका छन् । ताकि मञ्चमा आफ्ना दिवंगत छोरासँग कुरा गर्न र बिदाइ गर्न सकियोस् । तर, अध्येताहरूले यो कुरालाई निश्चित गर्ने कुनै ठोस प्रमाण फेला पारेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?