News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालकी पहिलो महिला रेस्लर भगवती खड्काले तिलिचो तालछेउमा विश्व कीर्तिमानसहित रेस्लिङ महाभिडन्त गरिन्।
- नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा मनाङको नेस्याङ गाउँपालिकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले प्रतिस्पर्धा गरे।
- भगवतीले कालापत्थरमा पनि विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमान बनाएकी छिन्।
११ मंसिर, काठमाडौं । सन् १९८० को दशकमा अमेरिकाको लस भेगसमा एउटा अनौठो खेल खेलियो, जहाँ बाहुबलीहरू एकअर्काविरुद्ध भिड्थे । एउटाले थापिरहन्थ्यो, अर्कोले हानिरहन्थ्यो । फेरि उसले हानिरहन्थ्यो, अर्को थापिरहन्थ्यो । कहिले यति क्रुर भिडन्त कि दुवै रगतपच्छे हुन्थे ।
प्रत्यक्ष हेर्नेहरू समर्थनमा चिच्याउँथे, कराउँथे र हौस्याउँथे । त्यो खेल थियो, रेस्लिङ । यसको प्रसार यति तीव्रतामा भयो कि त्यसले लस भेगसलाई उसको पहिचानका धेरै पक्षमध्ये एउटा बनाइदियो ।
लस भेगसबाट उदाएको रिङ रेस्लिङ खेल यतिबेला विश्वका हरेक कुनामा पुगेको छ । विश्वका १५० भन्दा बढी देशका झन्डै आधा अर्ब दशर्क टेलिभिजनको पर्दाअगाडि बसेर यो खेलमा रमाउँछन् ।
नेपाल पनि यसबाट पछि पर्ने कुरै भएन । नेपालमा समेत यो खेलका असंख्य दर्शक छन्, जो टेलिभिजनका पर्दामा यो खेल कुरेर बस्छन् । यहाँ खेल हेर्ने मात्र होइनन्, खेल्नेहरू पनि छन् । वर्षौंदेखि यो खेलमा रमाएका केही यस्ता हस्ती छन्, जो यो खेलसँग जोडेर आफू र नेपाललाई संसारभर चिनाउन अनेक प्रयास गरिरहेका छन् ।
तिनैमध्ये एक हुन् नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) ।
रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले यसपटक संसारकै अग्लो स्थानमा रहेको तिलिचो तालछेउ रेस्लिङ महाभिडन्त गरिन् ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा बुधबार आयोजित महाभिडन्तमा युनिकासँगै अस्मिता सुनार (जुरेली) र अमेरिकी खेलाडी क्यामिल कोलेटी लिगोन (होलिडेड) भिडेका थिए । मनाङको नेस्याङ गाउँपालिका ९ मा पर्ने तिलिचो तालछेउमै रिङ बनाइएको थियो । रिङमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।
भिडन्तमा युुनिका र जुरेलीले जित सुनिश्चित गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भए ।

खेलमा रेफ्रीको भूमिका सिन्धुपाल्चोक टाइगर उपनामले चिनिने कृष्ण मगरले निर्वाह गरेका थिए ।
दोस्रो खेलमा नेपाली खेलाडी सिन्धुपाल्चोक टाइगर कृष्णबहादुर मगर र लोकु सिङबीच भएको थियो, जसमा सिन्धुपाल्चोक टाइगर विजयी भए ।
नेस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेको प्रमुख आतिथ्यमा भएको औपचारिक कार्यक्रममा मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौडेल विशेष अतिथि थिए ।

नेपाली पहिलो महिला रेस्लर भगवतीले यसअघि विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेको कीर्तिमान बनाउन पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ खेलेकी थिइन् ।
नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा १६ जेठ २०८१ मा कालापत्थरमा मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । सो खेलमा भगवतीसँग अमेरिकाकी रेस्लर डानियल मोरिसन (डानी मो) भिडेकी थिइन्, जहाँ भगवती विजयी भएकी थिइन् ।
प्रतिक्रिया 4