News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले एमालेलाई संस्थागत रूपमा चुनावमा सहयोग गर्न अनुरोध गरेकी छन्।
- एमाले नेताहरूले सरकार गठन संवैधानिक परीक्षणमा रहेको र त्यसपछि मात्र अन्य विषय अघि बढ्ने बताएका छन्।
- एमालेले मतदाता भयरहित वातावरण र शान्ति सुरक्षा आवश्यक रहेको र प्रहरी मनोबल खस्किएको उल्लेख गरेको छ।
११ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संस्थागत रूपमै चुनावका काममा सहयोग गर्न एमाललेलाई अनुरोध गरेकी छन् ।
चुनाव हुन नसक्ने भन्दै आएको एमाले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्तामा गएपछि प्रधानमन्त्री कार्कीले उक्त दलका नेताहरूलाई बोलाएर बिहीबार बालुवाटारमा छलफल गरेकी थिइन् । त्यसक्रममा एमालेले संस्थागत रूपमै अब निर्वाचनमा जाने कुरामा अग्रसरता देखाउन अनुरोध गरिन् ।
उनले एमालेले देखाएका सुरक्षा लगायतका चासोहरुलाई सम्बोधन गर्न सरकार लागिरहेको उल्लेख गरिन् ।
बैठकमा सहभागी एमाले नेता महेश बर्तौलाका अनुसार सरकारको गठनको विषय नै संवैधानिक परीक्षणको क्रममा रहेकाले यसको छिनोफानो भएपछि मात्र अन्य कुरा अघि बढ्न सक्ने धारणा एमाले नेताहरूले राखेका थिए ।
‘हामी सहित सर्वोच्च अदालतमा गएका छौं । सरकार निर्माणको विषय नै संवैधानिक परीक्षणमा छ’ बर्तौलाले भने,’ फागुन २१ गते निर्वाचन गराउने विषयमा हामी विश्वस्त छैनौं ।’
निष्पक्षता र निर्भयतासाथ चुनाव हुने विश्वस्त वातावरण नभएको एमाले नेताहरूले बताएका थिए ।
‘शान्ति सुरक्षा र भयरहित वातावरण हुनुपर्छ । मतदताले पनि विवेकको मत मतदानकेन्द्रमा आएर व्यक्त गर्ने सहज परिस्थिति छैन’ उनले भने ।

एमाले नेताहरूले निवर्तमान आइजीपी चन्द्रकुबेर खापुङ पदकबाट हट्ने बित्तिकै उनलाई स्थानहद गरिएको घटनाले प्रहरीको मनोबल झन् खस्किएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । भागेका कैदीबन्दी, लुटिएका हतियार फेला नपरेको लगायतका विषयहरू पनि उनीहरुले उठाएका थिए ।
एमाले नेताहरूले पार्टी लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले जनतामा जाने कुरालाई जहिले पनि प्राथमिकता राख्ने धारणा प्रधानमन्त्रीसँग राखेका थिए ।
‘लोकतन्त्रका लागि लागेको पार्टी एमाले सबैभन्दा बढी जनतामा जान रुचाउने पार्टी हो । त्यसका लागि वातावरण खोजिरहेको छ’ बर्तौलाले भने ।
एमाले नेताहरूले संवैधानिक परीक्षणको पाटोबाट छिटो टुंगिए अन्य विषय सहज रूपमा जानसक्ने धारणा राखेका थिए ।
प्रतिक्रिया 4