११ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २३ मंसिरमा काठमाडौं उपत्यकाव्यापी विशाल प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार पूर्वराजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले २३ मंसिरमा काठमाडौं उपत्यकाव्यापी विशाल प्रदर्शन गर्ने निर्णय गरिएको छ ।
वर्तमान समयमा आम जनसमुदायमा पार्टीको धारणा पुर्याउन देशव्यापी सभा र प्रदर्शन आयोजना गर्न एवं सभा र प्रदर्शन व्यवस्थापन गर्न ज्ञानेन्द्र शाही, गोपाल दाहाल, रविन्द्रप्रताप शाह र धनबहादुर बुढा रहेको समिति गठन गरिएको उनले बताए ।
बैठकले समान विचारधारा भएका दल, अभियान, समूह र व्यक्तिहरूसँग एकता, मोर्चा र सहकार्यका लागि उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुबबहादुर प्रधान रहेको वार्ता समिति पनि बनाएको छ ।
बैठकले सक्रिय सदस्यता वितरणका लागि सक्रिय सदस्यता वितरण निर्देशिका तयार गर्न उपाध्यक्ष बिक्रम पाण्डे, उपाध्यक्ष हेमजंग गुरुङ र महामन्त्री राजेन्द्र गुरुङ रहेको समिति गठन गरेको छ।
यसैगरी पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्यमा केन्द्रीय सदस्य भरत पाठक र केन्द्रीय सदस्य धनसुर शाहीलाई थप गर्ने निर्णय गरेको छ ।
यसैगरी महाधिवेशन कार्यतालिका तयार गरी आगामी बैठकमा पेस गर्न उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री डा. धवल शमशेर राणा र सहमहामन्त्री प्रकाश रिमाल सम्मिलित समिति गठन गरेको छ ।
जेनजी प्रदर्शनमा सहभागी भएकै कारणले विभिन्न ठाऊँमा धरपकड गर्ने, थुनामा राख्ने कार्य भएको भन्दै राप्रपाले यस्ता कार्यको भर्त्सना गर्दै तत्काल त्यस्तो कारबाही रोक्न र गैरकानुनी थुनामा रहेका कार्यकर्तालाई विना शर्त रिहा गर्न सरकारसँग माग पनि गरेको छ ।
प्रतिक्रिया 4