News Summary
Generated by OK AI. Editorially reviewed.- धनगढी उपमहानगरपालिका-४ का बाधुराम चौधरीले बेतबाँसका सामग्री बनाएर मासिक रु ७० हजार आम्दानी गर्दै आएका छन्।
- उनले परिवारका पाँच सदस्यसँग मिलेर बेतबाट हेङुगर, फूलदानी, कुर्ची, झुला लगायतका सामग्री बिक्री गर्दै आएका छन्।
- चौधरीले भने, "अहिले ग्राहकको माग अनुसार सामग्री पुर्याउन सकिरहेका छैनौँ" र करिब ४० प्रतिशत फाइदा हुने बताए।
१२ मंसिर, कैलाली। धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरीले व्यावसायिक रूपमा बेतबाँसका सामग्री बेचेर मासिक रु ७० हजार आम्दानी गर्दै आएका छन् । लामो समयदेखि उनले आफ्नो हस्तकला सीप प्रयोग गरी बेतका विभिन्न सामग्री निर्माण गरी बिक्री गर्दै आएका छन् ।
चौधरीले आफ्नो उद्योगबाट घरायसी प्रयोगमा आउने थरिथरिका सामग्री बनाएर बिक्री गर्दै आएका हुन् । उद्योग सञ्चालनमा उनलाई परिवारका सबै सदस्यले साथ दिएका छन्। बेतबाँसका विभिन्न सामग्री बिक्री गरेर बालबच्चाको लालनपालन, शिक्षादिक्षा र घरपरिवारको सम्पूर्ण खर्च धान्दै आएको चौधरीले बताए ।
‘श्रीमान् श्रीमती र छोराछोरी गरी घरमा पाँच जनाको जहान छ । छोराछोरीलाई बिहान स्कुल पढ्न पठाएर बुढाबुढी यही काममा खटिन्छौं। परिवारको सम्पूर्ण खर्चको मुख्यस्रोत यही उद्योग हो, अन्य कुनै पनि घरखर्च चलाउने बाटो छैन्’ उनले भने, ‘सोही व्यवसायले परिवारको पूरै खर्च धान्दै आएको र केही बचत पनि हुने गरेको छ।’
सुरुमा व्यवसाय सुरु गर्दा आर्थिकस्थित एकदमै कमजोर थियो । घरखर्च र जीविकोपार्जनमा समस्या हुँदै आएकामा अहिले सोही व्यवसायबाट परिवारको सम्पूर्ण खर्चसँगै केही बचतसमेत हुन थालेको चौधरीले बताए ।
सुरुका दिनमा बेतबाट निर्मित सामग्रीले बजार पाउन कठिन भए पनि अहिले यसको माग बढ्दै गएको छ। ‘अहिले बजार पनि पाउन थालेकाले बिक्री प्रशस्त हुन्छ’, उनले भने, ‘ अहिले ग्राहकको माग अनुसार सामग्री पुर्याउन सकिरहेका छैनौँ।’
व्यवसायी चौधरीले बेतबाट हेङुगर, फूलदानी, पिर्का, झुला, चुरा राख्ने हेङ्गरलगायत विभिन्न सामग्री बनाएर बिक्री गर्दै आएका छन् । हेङुगर रु एक हजार ६००, फूलदानी ४५०, कुर्ची तीन हजार, बस्ने पिर्का रु ३५० देखी रु ४००, झूला रु दुई हजार ५०० मा बिक्री गर्दै आएको उनले जानकारी दिए ।
मासिक रूपमा रु ७० हजार बराबरको कारोबार हुने जनाउँदै चौधरीले करिब ४० प्रतिशतसम्म फाइदा हुने बताए। विदेश नगएर थोरै भए पनि आफ्नै गाउँठाउँमा काम गरेर आर्थिकोपार्जन गर्नुपर्दछ भन्ने सोचले सो व्यवसायमा आवद्ध भएको भनाइ छ ।
प्रतिक्रिया 4