News Summary
Generated by OK AI. Editorially reviewed.- रोल्पास्थित परिवर्तन गाउँपालिकामा एक युवकले कुकुरलाई भीरमा फ्याँक्दै भिडियो बनाएका छन् ।
- मुलुकी अपराध संहिता २०७५ अनुसार पशुपन्छीलाई निर्दयी व्यवहार गर्नेले तीन महिनासम्म जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना वा दुवै सजाय पाउने व्यवस्था छ।
मान्छेले आफ्नो रमाइलोका लागि र सामाजिक सञ्जालमा ‘भाइरल’ बन्ने दौडमा निर्दोष पशुको ज्यानै जानेगरी अत्याचार गर्ने क्रम बढेको छ । कहिले गाइलाई भीरबाट लडाएर त कहिले बाख्रोलाई कुवामा चोपल्दै भिडियो बनाएको देखिन्छ । त्यस्तै कहिले कुकुरलाई रुखमा झुन्ड्याएर त कहिले ढुंगामा पछार्दै खोलामा फ्याकेर भिडियो बनाएको देखिन्छ ।
केही समयअघि मात्र एक व्यक्तिले झोलुङ्गे पुलबाट कुकुरलाई उचाल्दै फ्याँकेर भिडियो बनाएका थिए । यस्ता कृत्यहरू कसले गर्छन् ? किन गर्छन् ? त्यसबारे चासो भएपनि कानुनी कारबाही भइरहेको पाइँदैन । त्यही कारण अवोध पशुमाथि हुने यस्तो क्रुरता धेरैका लागि ‘तमासा’ बनिरहेको पाइन्छ ।
पछिल्लो घटना रोल्पास्थित परिवर्तन गाउँपालिकाको हो । त्यहाँ एक कुकुरको मुख र घिच्रोमा समातेर एक युवकले भीरमा फ्याँकेका छन् । कुकुर पीडाले चिच्याएको र छटपटाएको देखिन्छ । कुनै निर्जीव वस्तु जसरी कुकुर फ्याँक्दै उनी भन्छन्, ‘अन्यथा नलिनुहोला, यो कुकुरले मान्छेलाई टोकेको थियो ।’
तर, पछि उनैले रमाइलोका लागि कुकुरलाई यातना दिएर भिडियो बनाएको बताएका छन् । उनी रोल्पा, परिवर्तन गाउँपालिकाका दलबहादुर विक (दीप विक) हुन् । ‘भिडियो भाइरल भएपछि धेरैले नराम्रो कमेन्ट गर्यो, अनि गल्ती महसुस भयो’ उनले भनेका छन्, ‘यो अपराध रहेछ तर हामीलाई जानकारी नभएकाले गर्दा यस्तो भयो । अब यस्तो गल्ती गर्ने छैन ।’
कुकुरलाई त्यसरी क्रुरतापूर्वक फ्याँकेको भिडियो ‘रकी बिटिएस दिप’ भन्ने फेसबुक अकाउन्टबाट सार्वजनिक भएको हो । हामीले उक्त फेसबुक प्रयोगकर्तालाई यसबारे सोध्दा उनी रोल्पाको भएको बताए । साथै आफूले भिडियो मात्र खिचेको र साथीले कुकुर फ्याँकेको उनको भनाइ छ ।
कुकुर लगायत पशुमाथि यस किसिमले हुने क्रुरताको घटना महिनैपिच्छे सार्वजिनक हुने गरेको छ । धेरैजसो घटनामा कुकुरलाई झुण्ड्याएको, फ्याँकेको, आगो लगाइदिएको छ । यद्यपि यस्ता घटनामाथि खोजतलास र कारबाही भएको पाइँदैन । एकाध घटनामा प्रहरीले अपराधीलाई पक्राउ गरेपनि कारबाही नगरी छाड्ने गरेका छन् । त्यसैले यस्ता कृत्य उत्तिकै बढिरहेको पशु अधिकारकर्मी विना पन्त बताउँछिन्।
उनी भन्छिन्, ‘यस्तो काम गर्नु अपराध हो, गर्नुहुँदैन भन्ने चेतना त छैन नै डर पनि छैन । त्यसैले निर्दोष र अबोध पशुमाथि हुने हिंसा बढ्दो छ ।’
‘अपराध हुन्छ, कारबाही हुँदैन’ अधिवक्ता श्रेष्ठ
बोल्न तथा प्रतिकार गर्न नसक्ने यस्ता जनावरलाई यातना दिनु अपराध हो । मुलुकी अपराध संहिता २०७५ भदौबाट लागू भएपछि भने यसलाई अपराधको रूपमा लिइन्छ । पशुपन्छीलाई निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म जेल सजाय र ५ हजार रुपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको वातावरण कानुन विज्ञ, अधिवक्ता पदमबहादुर श्रेष्ठ बताउँछन् ।
कुकुरहरू माथि कुनै पनि प्रकारको दुर्व्यवहार भएको देख्यो भने यस्तो हिंसाको उजुरी प्रहरी कार्यालयमा गर्न सकिन्छ, प्रहरीले जाहेरी लिएन भने जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा पनि यसको उजुरी दिन मिल्छ ।
नेपाल अधिराज्यभर नै यो समस्या बढ्दो छ । र यस विषयमा केही संघसंस्था र मानिसले आवाज उठाएको कारणले नै पशुपन्छी सम्बन्धी नियम कानुन बन्यो । प्रहरीले यस्ता उजुरी सहजै दर्ता गर्न नमानेको थुप्रै उदाहरण छन् । धेरै प्रहरीलाई नै यो कानुनको बारेमा ज्ञान नभएको श्रेष्ठले बताए ।
कुकुरलाई निर्दयी व्यवहार गर्ने, हत्या गर्ने, घाइते बनाउने जस्ता घटनामा अहिलेसम्म धेरै उजुरी नै परेको छैन । केही उजुरी परेको भए पनि त्यो अदालतसम्म नपुगेको उनले बताए । कुकुरको हत्या गरेको कारण खोटाङका चार जना व्यक्तिलाई समातेर जेल हालिएको विषय अदालतसम्म पनि पुगेको थियो । उनीहरू पछि धरौटीमा छुटेका छन् ।
सडकका कुकुर मात्र हैन घरपालुवा जनावरहरूलाई समेत यातना दिंदा तथा दुर्व्यवहार गर्दा पनि तीन महिनासम्म जेल सजाय र पाँच हजार रुपैयाँ वा दुवै सजायको व्यवस्था गरिएको उनी बताउँछन् ।
प्रतिक्रिया 4