+
+
Shares
गगन थापासँग वार्ता :

विधानसम्मत माग पूरा गर्न लामो समय लगाइयो, जालझेल गरिए ठीक हुँदैन

यो आज आएको कार्यतालिका यदि त्यो बेलामा मैले जुन बेलामा प्रस्ताव गरेको थिएँ, यो कार्यतालिकालाई त्यतिखेर पार्टीका साथीले कुरा बुझ्दिनुभएको भए, सहजपूर्वक लिइदिनुभएको भए आज हामी ४०-४५ दिन अगाडि हुन्थ्यौं।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते २२:०४

डेढ महिनासम्म बैठक राख्दै सार्दै अन्तत कांग्रेसले चुनावअघि नै महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीभित्र सुधार र परिवर्तनका लागि लामो समयदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेता कार्यकर्ता समर्थक र शुभेच्छुक सँग अपिल गर्दै आए । कांग्रेस नै विभाजन हुने हो कि भन्ने हल्लासमेत चल्यो । बैठकले पुसमा महाधिवेशन गर्ने निर्णय पास गरेसँगै महामन्त्री गगन थापासँग अनलाइनखबरका बसन्त बस्नेतले गरेको यो वार्ता । अडियो पनि सुन्न सकिने छ ।

एक महिनाभन्दा लामो समय लगाएर विवादको बडा सकस बैठान गर्नुभयो । जितेको हो कि हारेको हो तपाईंहरूले ?

२३, २४ भदौको जेनजी आन्दोलनभन्दा अगाडि हामीहरू पार्टीको नियमित कामहरू गर्ने सिलसिलामा २०८३ सालमै पार्टीको अधिवेशन हुन्छ भन्ने कुरा मानेर काम गरिरहेका थियौं। २३ र २४ भदौ अगाडिको नेपाल र २४ पछिको नेपाल एउटै होइन भन्ने हाम्रो बुझाई हो ।

२४ गतेपछिको जुन विशिष्ट परिस्थिति विकास भयो, त्यो क्रममा नेपाली कांग्रेस पार्टीले आफूलाई सान्दर्भिक राख्नका निम्ति आफ्नो नीति, नेतृत्व, सन्देश सबै कुराका लागि तत्काल अधिवेशन गर्नुपर्छ भन्ने हाम्रो बुझाई रह्यो। र त्यहीअनुसार हामीले पार्टीभित्र आफ्नो मत राख्यौं। त्यो राख्ने क्रममा मैले असोजको ३ गते पहिलो पटक पार्टी औपचारिक रूपमा तत्काल अधिवेशनको प्रस्ताव पार्टीको कार्य सम्पादन समितिको बैठकमा राखेको हुँ।

त्यसपछि असोज २७ गते त मैले कार्यतालिका नै प्रस्तावित गरेँ। त्यसको भोलिपल्ट असोज २८ गते पार्टी सभापतिले पनि नियमित समयभित्र अधिवेशन गर्नका निम्ति पार्टीभित्र आह्वान पनि गर्नुभयो, जिम्मेवारी पनि दिनुभयो। यो आज आएको कार्यतालिका यदि त्यो बेलामा मैले जुन बेलामा प्रस्ताव गरेको थिएँ, यो कार्यतालिकालाई त्यतिखेर पार्टीका साथीले कुरा बुझ्दिनुभएको भए, सहजपूर्वक लिइदिनुभएको भए आज हामी ४०-४५ दिन अगाडि हुन्थ्यौं।

यसले नेपाली कांग्रेस पार्टीको अधिवेशनलाई सजिलो बनाउँथ्यो मात्र होइन। यसले सँगसँगै के पनि गर्थ्यो भने, नेपाली कांग्रेस पार्टीले यो बीचमा अधिवेशन सँगसँगै आफ्नो राष्ट्रिय जिम्मेवारी नचुकी  निर्वाह गर्न सक्थ्यो। यस्तो विषम परिस्थितिमा ४०-४५ दिनको समय भनेको सानो समय होइन। बाहिरबाट हेर्दै गर्दा पनि हामी पार्टीभित्रको एउटा विषयमा यति लामो समयसम्म वादविवाद गरेर बस्यौं ।

तर अहिले आज आएर ढिलै भए पनि निर्वाचन अगाडि अधिवेशन मूलतः निर्वाचन अगाडि अधिवेशन गर्नुपर्छ भन्ने जुन हाम्रो मत हो, त्यो कुरालाई स्वीकार गरेर आज कार्यतालिका आएको छ।

तर यो सँगसँगै, यो सँगै दुइटा कुरा राखिहाल्छु। एउटा कुरा यो समयको हिसाबले एकदमै चुनौतीपूर्ण छ । जसको कारणले गर्दाखेरि यो कार्यतालिकालाई सार्थक बनाउन कठिन त छ ।

र दोस्रो कुरा भनेको चाहिँ यो-यो सबै कुरा  नियतमा पनि भर पर्छ। नियत ठिक राख्यो भने यो चुनौतीपूर्ण कुरालाई पनि टुङ्गो लगाउन सकिन्छ। अब अहिलेलाई चाहिँ विशेष अधिवेशन टार्ने, त्यसको लागि यो कार्यतालिका आयो। कार्यतालिका आइसकेपछि अब विशेष अधिवेशन चाहिँ ढुस हुन्छ, आफै जान्छ भन्ने नियत राखिएको हो भने चाहिँ फेरि यो कार्यतालिका केवल लिखित कार्यतालिकामा सीमित रहन्छ।

केही  आशंकाहरू त हुने नै भए। तर हाम्रो ठाउँमा त पार्टीको महामन्त्रीको हिसाबले अगाडि अधिवेशन हुनुपर्छ भन्ने मत राख्दै आएको हुनाले यो अधिवेशनको  कार्यतालिका कार्यान्वयन इमानदारितापूर्वक हामी आफ्नो ठाउँमा नचुकिकन गर्छौं । तर आजकै पार्टीको बैठकमा मैले लिखित रूपमा अतिरिक्त मत पार्टीको सभापतिले/कार्यवाहक सभापतिले राख्नुभएको प्रस्तावमा दर्ता गराएको छु। त्यो भनेको के हो भने, अघि मैले भनेका कुराहरू हुन्।

कार्यतालिका र समग्र प्रस्ताव सभापतिबाट आयो होइन ?

सामान्यतया हाम्रो पार्टीको बैठकमा सभापतिको तर्फबाट महामन्त्रीले निर्णय प्रस्तुत गर्ने चलन हुन्छ। तर आज सभापतिले नै राख्नुभएको हो । किनभने यो तालिका सभापतिलाई नै हामीले प्रस्ताव गर्न भन्यौं। यो उहाँको कार्यतालिकालाई उहाँले प्रस्ताव गर्नुभएको कुरालाई हाम्रो ठाउँमा र इमानदारीपूर्वक सहयोग गर्छौं।

तर नियत ठिक राखिएन र यसलाई जालझेल गर्ने कोसिस भयो भने यो कार्यतालिकाले विशेष अधिवेशनको माग चाहिँ निस्तेज पनि हुँदैन, निष्क्रिय पनि हुँदैन। विशेष अधिवेशनको प्रस्ताव जुन साथीहरूले विधानसम्मत ढंगले दर्ता गराउनुभएको कुरा छ, त्यो जस्ताको तस्तै छ, ज्यूँकात्यूँ छ, सक्रिय छ। त्यो एउटै अवस्थामा त निस्तेज हुन्छ— अधिवेशन कार्यतालिकामा इमानदारीतापूर्वक गर्दै गयौं, अधिवेशन हुँदै गयो र अधिवेशन सम्पन्न भयो पुसभित्र, अहिले तोकिएको कार्यतालिकाअनुसार भने त्यो आफैँ निस्तेज हुन्छ। त्यो बेलामा कसैले पनि त्यो जाग्छ भनेर जाग्दा पनि जाग्दैन, कोही जमाउन पनि लाग्दैन। कार्यतालिका बनाइयो, अब यसो अलमल्याउँछु , लटरपटर पार्छु भनेर सोच्नुभएको हो (मैले सोचेको छ भने हामीले आशंका नगरौँ) त्यो सोच चाहिँ सार्थक हुन पाउँदैन, हुन दिँदैन।

विशेष महाधिवेशनका नाममा सम्झौताहीन लडाईं थाल्नुभएको थियो, तर किन नियमित अधिवेशनमा टुंगियो ?

प्रारम्भबाटै याद गर्नुभयो भने निर्वाचन अगाडिको अधिवेशन चाहिँ हाम्रो लागि सम्झौताहीन कुरा हो। निर्वाचन अगाडि नियमित अधिवेशन कुनै पनि हालतमा गर्नै नदिने, छलफलै गर्न नदिने, अहिले हुँदै हुँदैन, म्याद थप्नुपर्छ भन्ने भइसके पछाडि चाहिँ, त्यसो भएदेखि नियमित गराउने कुराको अधिकार चाहिँ केन्द्रीय समितिसँग निहित छ। केन्द्रीय समिति भनेको सभापति मातहत छ। सभापतिको प्रचण्ड बहुमत छ। त्यसैले नियमित अधिवेशन गर, गर, गर मात्र भन्यौं भने हाम्रो मत अल्पमतमा पर्छ। त्यो केन्द्रीय समितिले निर्णय गर्दै गर्दैन।

त्यसैले विशेष महाधिवेशनको हतियार चाहिँ कोसँग छ भन्दा, त्यो चाहिँ केन्द्रीय समितिभन्दा बाहिर महाधिवेशन प्रतिनिधिसँग छ । विशेष महाधिवेशन माग गर्ने साथीहरूले आफ्नो औपचारिक निवेदनमै पनि के भनेर माग्नुभएको छ भने, नियमित अधिवेशन गर ।

तिमीले नियमित अधिवेशन गर्यौ भने मेरो विशेष अधिवेशन गरिराख्नु पर्दैन। तिमीले अधिवेशन, १५औँ अधिवेशन चुनाव अगाडि तत्काल गरेनौ भने चाहिँ मेरो विशेष अधिवेशन गर्नुपर्छ भनेर  मागकर्ताले भने पनि, लिखित रूपमा मागेको निवेदनमा पनि त्यही भनेर मागेको अवस्था हो।

मैले असोज ३ गते राख्दै गर्दा वा २७ गते राख्दै गर्दा, मैले प्रत्येक चोटी पार्टीको १५औँ अधिवेशन गर्नुपर्‍यो भन्ने कुरा नै राखेको हो । अधिवेशन गर्दै नगर्ने एउटा यस्तो समय आयो जुन समयमा चाहिँ पार्टीको कार्यवाहक सभापति, पार्टीका मुख्य-मुख्य संस्थापक समूहका मुख्य-मुख्य नेताहरूले यो निर्वाचन अगाडि अधिवेशन गर्ने कुरा सम्भवै छैन, हुँदै हुँदैन भनेर एउटा अड्डि लिए ।

तपाईंहरूले अघिल्लो महाधिवेशनमा जसलाई पराजित गर्नुभएको थियो, त्यसलाई किन यो बैठकमा चाहि रोक्नै सक्नुभएन ? लामो समय उहाँहरूले अल्झाएर राख्दिनुभयो नि बैठकलाई?

म चाहिँ उहाँहरूलाई दोष दिन्न ।  मुख्य कुरा के हो भने यो पार्टीको सभापति वा पार्टीको कार्यवाहक सभापति वा जसको अधिकार लिएर आउनुभएको छ, त्यो उहाँहरू आफैं तयार नहुँदै गर्दाखेरि लामो समयसम्म रोकिएको हो यो।

यो उहाँहरू तयार नहुँदै गर्दाखेरि रोकियो। खासगरी यो बीचमा मलाई लाग्छ कि, अब यसलाई थकाउन सकिन्छ कि । विशेष महाधिवेशनको कुरालाई जुन बाहिर जुन सुरु प्रारम्भिक चरणमा भए नि, यसलाई अलिकति यसलाई थकाउने, तर्साउने माहोलहरू बनाउने प्रयास पनि हामीले देख्यौं । हाम्रो माग सही थियो, हामी त्यो मागमा अडिग भएर बस्यौं । विशेष महाधिवेशनको मागकर्ता साथीहरू जो बाहिर हुनुहुन्थ्यो, उहाँहरू थप संगठित भएर बस्नुभयो। र एकदम अर्को याद गर्नुपर्ने कुरा चाहिँ, संस्थापन समूह भित्रकै ठूलो पंक्तिका साथीहरू जसले चाहिँ यो वैशाखमा महाधिवेशन गर्ने कार्यतालिका आयो भने हामी मतदान गर्दैनौं, पुसमै महाधिवेशन हुनुपर्छ भनेर अडान लिनुभयो  ।

तपाईं र विश्वप्रकाश शर्मा लगायतले सभापति शेरबहादुर देउवाको विश्राम लामो समयदेखि मागिराख्नुभएको थियो। तर यो बैठकबाट उहाँलाई सक्रिय हुने बाटो खुलाइदिनुभएको हो?

मैले सभापतिलाई नै प्रष्ट भनेको छु। अब यो अधिवेशनबाट नै उहाँ बिदा हुने हो । अधिवेशन नहुने बेलासम्म त उहाँ सभापति नै हुनुहुन्छ  । अहिले उहाँले कार्यभार दिनुभएको त्यो उहाँको आफ्नो जिम्मेवारीको कुरा हो। हामीले उहाँलाई बिदा गर्ने, विश्राम दिलाउने भन्ने त अधिवेशनबाटै हो नि ।

त्यो बीचमा पनि मैले सभापतिसँगको भेटमा दुई पटक मैले भनिसकेँ। सभापतिमाथि यो बेला म नकारात्मक टिप्पणी गर्न चाहन्नँ । किनकि, सभापतिले नचाहेको भए आज अधिवेशनको कार्यतालिका आउने कुरा सम्भव पनि हुँदैनथियो ।  सभापतिलाई सक्रिय हुने मनै हो  भने  म सक्रिय हुन्छु भनेर आउनुभयो भने  सजिलो हुन्छ ।  लडाईं लड्नेलाई पनि सजिलो हुन्छ भन्ने कुरा उहाँको अगाडि हामीले प्रष्टसँग राख्या छौं।

मलाई टेक्निकल कुराहरूसँग धेरै रुचि छैन। मलाई मुख्य कुरा के हो भने यो अधिवेशन गरौं, अधिवेशन गरिसकेपछि हामी  नयाँ नेतृत्व, नेता नेतृत्व ल्याउँछौं, सभापतिजीको ग्रेसफुल बिदाई गर्ने कुरा  पनि हुन्छ । उहाँको एउटा अध्याय सकियो। अधिवेशन गर्न नसक्दाखेरि त सबै खालका यी जालझेलका कुराहरू अथवा सबै खालका सम्भावनाहरूलाई कहिँ न कहिँ ठाउँ हुन्छ । त्यसैले अब हाम्रो ध्यान त्यसमा मात्र दिनुपर्छ भन्ने लाग्छ।

जिल्ला प्रतिनिधि लिएर तोक्दा केन्द्रीय कार्यालयले टुंग्याएका नामलाई कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नै हस्ताक्षर गर्नुहुन्छ?

हो । उहाँले नै हस्ताक्षर गर्नुहुन्छ। मैले त उहाँलाई भनेको, त्यो नभएदेखि कार्यवाहक छोड्दै भइहाल्यो नि। उहाँले होस्, सभापतिले पनि कार्यवाहक भनेर किन भनिराख्ने  ? सबै कुरामा हस्ताक्षर मैले गर्नुपर्छ भनेर भन्ने हो भने  कार्यवाहक के भनेर बसिराख्ने ?

तपाईंहरूले आफ्नो माग पूरा भएन भने पार्टी नै विभाजन गर्न सक्नुहुन्छ भनेर कांग्रेसभित्र धेरै नै हल्ला चलेको थियो। त्यो त्यस्तो सत्य थियो ?

पटक्कै सत्य थिएन। तपाईंहरु भन्नाले म र विश्वप्रकाश शर्मालाई भन्न खोजिएको होला । कांग्रेसभित्र विधानसम्मत ढंगले उठाएका कुरा निस्तेज गर्न यस्ता हल्ला चलाइयो । म पार्टी नै जीवन हो, पार्टी नै सबै हो, यो यसरी पनि भन्दिनँ। पार्टी पक्कै एउटा साधन हो। तर हामी अरू संस्थाहरू निर्माण गर्ने कुरामा विश्वास गर्ने मानिसहरू हौँ । त्यसैले हामी संस्थाहरू टुक्राएर होइन, हामी त नेपाली कांग्रेस पार्टीलाई नै बदल्न चाहन्छौं नि। नेपाली कांग्रेस पार्टीलाई नै ठिक बनाउन चाहन्छौं, पार्टीलाई नै रूपान्तरण गर्न चाहन्छौं । यो गाह्रो छ, अप्ठ्यारो छ। तर गाह्रो भए पनि यो नै गर्ने हो भनेर अठोट गरेर बसेको हो। त्यसकारणले गर्दा त्योभन्दा बाहेक त कहिले सोच्दा पनि सोचिनँ ।

अब सदस्यताको विषयलाई कसरी टुङ्गो लगाउनुहुन्छ ?

यसमा रोचक के छ भने, कांग्रेसमा जहिले पनि हामीले विधानमा चाहिँ हामी पार्टीमा कुनै पनि इच्छुक व्यक्तिले सदस्यता लिन पाइन्छ भनेर लेख्ने, तर व्यवहारमा चाहिँ हामीले कसरी त्यसलाई नियन्त्रण  गर्ने , यति प्रतिशत भन्ने संख्या तोक्दिने, जसको कारणले गर्दाखेरि हामीहरूकोमा चाहिँ जहिले पनि विवाद सिर्जना हुने भयो।

यो पटक खुसी लागेको कुरा— हामी लामो समयदेखि यसको एडभोकेसी गर्दै आएका थियौं। सभापतिले पनि एकदम राम्रोसँग कुरालाई मानिदिनुभयो। नेपाली कांग्रेसमा अब क्रियाशील सदस्यताको सन्दर्भमा चाहिँ संख्या हामीले तोकेनौं। नतोक्न साथै यिनले लामो समयदेखि कांग्रेसमा जुन सदस्यतालाई नियन्त्रण गर्ने (माथि मात्र हैन, वडामा पनि नियन्त्रण गर्ने, तलैदेखि नियन्त्रण गर्ने), आफ्नो अनुकूल बनाउने र पार्टीलाई एक प्रकारले त्यो रेजिमेन्टेड बनाउने जुन एउटा अभ्यास भयो, हेर्दा सामान्य देखिए पनि यसले आधारभूत रूपमा निर्णयले खण्डित गर्ने, तोड्ने कुरामा चाहिँ यो निर्णायक जस्तो हुन्छ।

यसले गर्दाखेरि सदस्यताको कारणले महिनौं हामी अल्झिन्थ्यौं, यो पटक बडो सहजतापूर्वक त्यो प्रक्रिया अगाडि बढ्छ भन्ने मलाई त्यति विश्वास छ।

तर अहिले पनि सदस्यताको विवाद आउँदाखेरि छानबिन सुरु हुन्छ, त्यसले समय लिन्छ। अनि तपाईंले जुन निर्धारित समयमा महाधिवेशन गर्छौं भन्ने सोच्नुभएको छ, त्यो त फेरि पनि विलम्ब नै हुन्छ भन्ने अनुमान गर्न सकिन्छ नि, हैन?

पहिला पहिला  किन एकदमै धेरै विवाद छानबिन समितिमा आइपुग्यो ? अघि मैले भनेको जस्तै— हामी नवीकरणमा पनि छानेर नवीकरण गर्दिने, नयाँ दिँदै गर्दा पनि संख्या तोकिदिने। संख्या तोकिसकेपछि कसैले पाउने कसैले नपाउने। यो पटक निर्णयमै हामीले के गरेका छौं ? भने, जसले क्रियाशील हुन चाह्यो, त्यसले पाउने । यदि त्यो तल्लो तहले रोक्दियो भने माथिल्लो तहले दिन्छ। यो पटक छानबिन समिति जुन बनाएका छौं हामीले, त्यहाँसम्म धेरै विवाद नै आइपुग्दैन भन्ने मलाई विश्वास छ ।

आजको निर्णयमा हामीले बकाइदा के भन्या छौं भने हामी नवीकरण गर्नेको संख्या जति छ, त्यति नै बराबरको पहिला वितरण गर्छौं । माग भएर आयो भने हामी जति पनि लिन्छौं। जति चाहिए पनि कांग्रेस सदस्य बन्न पाइन्छ अब। यो पार्टीभित्र पनि लामो समय १०-१५ वर्षदेखि हामी यसको वकालत गर्दै आएको हो । पछिल्लो समयमा नयाँ-नयाँ राजनीतिक दलहरू आए, ती दलहरूले गरेको अभ्यासको सकारात्मक प्रभाव हामीलाई परेको छ।

यी सबै कुराले गर्दा पार्टी आज यो निर्णय पुगेको छ। यसले मलाई पार्टीभित्रको हाम्रो अधिवेशनमा जुन पहिला-पहिला देखिने विवाद, यो पटक धेरै हदसम्म कम हुन्छ भन्ने मेरो विचार, विश्वास छ।

अब महाधिवेशनमा सभापतिको उम्मेदवार को बन्छ ? तपाईं कि विश्वप्रकाश शर्मा ?

हामी त्यो ठाउँसम्म पुगेर छलफल गरिसकेका छैनौं । तर मलाई तपाईंले भनेको जस्तो के लाग्छ भने यो हामीले सुरुमा चाहिँ पार्टीभित्र आवधिक अधिवेशन तत्कालै गर्नुपर्छ भन्ने भनेर भन्दै गर्दाखेरिको मुख्य कुरा नै के थियो भने, आवधिक अधिवेशनले एउटा त पार्टीको नीति, पार्टीको सन्देश, हामी कहाँ उभिएका छौं, देश र जनतालाई के भन्न चाहन्छौं भन्ने एउटा मौका दिन्छ।

खासगरी यो नवयुवाहरू थुप्रै जो नेपाली कांग्रेस पार्टीभित्र काम गर्न चाहन्छन्, उनीहरूको लागि यसले बाटो पनि खोल्छ। त्यसको लागि हामीले आज एउटा आजको निर्णयमा पनि राखेका छौं— हामी १८ देखि ३० वर्षको भनेको यो उमेर समूहको साथीहरूको उल्लेखनीय संख्यामा हामी तल पनि सहभागी गराउन चाहन्छौं र आज हामीले गरेका छौं । केही दिनमा विधानसभा सम्बन्धित केही निर्णय हुन्छन् । त्यो निर्णयमा पनि हामी यो उमेर समूहका साथीहरूलाई निश्चित प्रतिशत चाहिँ क्षेत्रदेखि माथिसम्म केन्द्रसम्म सबैतिर उनीहरूको उपस्थिति गराउनुपर्छ भन्ने ढंगले निर्णय गर्न खोजेको हुनाले गर्दा थुप्रै नयाँ-नयाँ पुस्ताका साथीहरूले यो पटक मौका पाउनुहुन्छ र उहाँहरू आउनुहुन्छ भन्ने हामीलाई विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?