+

पिसाबको संक्रमण के हो ? कुन अवस्थामा जटिल बन्न सक्छ ?

२०८२ मंसिर  १६ गते १६:१५ २०८२ मंसिर १६ गते १६:१५
Shares
पिसाबको संक्रमण के हो ? कुन अवस्थामा जटिल बन्न सक्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पिसाब संक्रमणलाई चिकित्सकीय भाषामा यूटीआई भनिन्छ र यो पिसाब नलीदेखि मूत्राशयसम्मका भागमा हुने संक्रमण हो।
  • यूटीआई मुख्यतः ब्याक्टेरिया, फंगल वा भाइरसका कारण हुन्छ र महिलामा पुरुषभन्दा बढी देखिन्छ।
  • यूटीआईको उपचार एन्टिबायोटिकले गरिन्छ र लक्षण गम्भीर भएमा अस्पताल भर्ना आवश्यक हुन्छ।

पिसाब संक्रमणलाई चिकित्सकीय भाषामा पिसाब नलीको संक्रमण अर्थात छोटकरीमा ‘यूटीआई’ भनिन्छ । पिसाब बन्नेदेखि निस्कने प्रक्रियासम्म  संलग्न हुने जुन-जुन भाग छन्, ती स्थानमा हुने संक्रमण यूटीआई हो ।

यो प्रणालीमा सुक्ष्म जीवाणुहरू ब्याक्टेरिया, फंगल वा भाइरस प्रवेश गरी बढ्न थालेपछि समस्या देखापर्छ । यही कारणले नै पिसाबको समस्या देखापर्छ ।

यो समान्यदेखि जटिल अवस्थासम्म हुनसक्छ । पिसाबको संक्रमण बढ्दै गएर रगतमा स‌ंक्रमण भएमा यसले ज्यानै लिने खतरा पनि हुन्छ । पिसाबको संक्रमण पुरुषमा भन्दा महिलामा धेरै हुन्छ । सबै महिलाहरूको जीवनमा कम्तीमा एक पटक सबैलाई पिसाबको संक्रमण हुन्छ । तर पुरुषमा चाहिँ नहुन पनि सक्छ ।

किन हुन्छ पिसाब संक्रमण

धेरैजसो पिसाब संक्रमणको कारण ब्याक्टेरिया हुन्छ । ई. कोलाई जुन आन्द्रामा हुन्छ, यो ब्याक्टेरिया पिसाब नली तथा मूत्राशयमा पुगेपछि संक्रमण हुन्छ । पिसाब संक्रमण हुने अधिकांश केसमा ई. कोलाई ब्याक्टेरियाको संक्रमण नै मूल कारण हुन्छ ।

क्लेब्सिएला निमोनिया, प्रोटियस मिराबिलिस, एन्टेरोकोकस, स्टेफिलोकोकस स्याप्रोफाइटिकस जस्ता ब्याक्टेरियाको कारणले पनि पिसाबको संक्रमण हुनसक्छ ।

फंगल संक्रमणको कारण पनि यूटीआई हुनसक्छ । तर यस्ता केस कम हुन्छन् । प्राय: मधुमेहको समस्या भएका व्यक्तिमा फंगलका कारण यूटीआई हुन्छ ।

एकदमै बिरलै र कुनै कुनै अवस्थामा भाइरल संक्रमणका कारणले पिसाबको संक्रमण हुन्छ । एडेनोभाइरस, पोलियोमाभाइरस जस्ता भाइरस यूटीआईको कारण हुन सक्छन् ।

दुई प्रकार का हुन्छन्

यूटीआईलाई माथिल्लो मूत्रमार्गको संक्रमण र तल्लो मूत्रमार्गको संक्रमण गरी दुई भागमा विभाजन गरिएको छ ।

१.अप्पर यूटीआई अर्थात माथिल्लो मार्गको संक्रमण भनेको मूत्राशयबाट मिर्गौलातर्फको संक्रमण हो ।

२.लोअर यूटीआई अर्थात तल्लो मार्गको संक्रमण भनेको मुत्राशय तथा त्यो भन्दा तलतिरको भाग पिसाब नलीको संक्रमण हो ।

तल्लो भागको संक्रमण भन्दा माथिल्लो भागको संक्रमण बढी खतरनाक मानिन्छ । त्यो संक्रमण मिर्गौलामा विस्तार भएर मिर्गौलामा पिप जमेर ठूलो समस्या निम्त्याउने, मिर्गौला नै खराब बनाउने जोखिम यसमा रहन्छ ।

पिसाब संक्रमणका कारण के हुन् ?

-सरसफाइमा ध्यान नदिनु : शौचालय प्रयोग गरेपछि पछाडिबाट अघि तर्फ सफा गर्ने बानीले पिसाब मार्गमा संक्रमण निम्त्याउन सक्छ । विशेष गरी यो समस्या महिलामा बढी हुन्छ ।

-अत्यधिक पसिना आउने र शरीरमा पानीमा मात्रा कम हुँदा

-लामो समयसम्म पिसाब रोकेर बस्नु

-कम पानी पिउनु : शरीरमा पानी कम हुँदा पिसाब कम बन्ने

-यौन सम्बन्धपछि सरसफाइ नगर्दा : सम्बन्धपछि मूत्रमार्गमा ब्याक्टेरिया सरेर संक्रमण हुन्छ । ब्याक्टेरिया बाहिर ननिस्केर मूत्राशयमा बढ्न थाल्छ ।

-प्रतिरोधात्मक शक्ति कमजोर हुँदा

-गर्भवती महिलामा हॉर्मोन परिवर्तन भएर

-मधुमेह : मधुमेह हुँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र पिसाबमा चिनीको मात्रा हुने भएकाले त्यो ब्याक्टेरियाका लागि पोषण बन्न पुग्छ । छिटो वृद्धि हुन यसले मद्दत गर्छ ।

-पुरुषहरूमा प्रोस्टेटको समस्या हुँदा : पुरुषहरूमा प्रोस्टेट बढेको खण्डमा पूरै पिसाब गर्न कठिन हुन्छ । पिसाब थैलीमा पिसाब जम्मा भएर बसिरहने समस्याल संक्रमण हुनसक्छ।

-मिर्गौलामा स्टोन भएको खण्डमा

-साबुन, स्प्रे, पर्फ्यूम जस्ता उत्पादनले जलन वा रासायनिक प्रतिक्रिया भएर पनि पिसाब संक्रमण हुन्छ ।

महिलामा किन बढी हुन्छ ?

पुरुषको तुलनामा महिलामा यूटीआई करिब ३० गुणा बढी हुने अध्ययनहरूले देखाएका छन् । १५ देखि ४५ वर्ष उमेरका महिलामा यो समस्या धेरै हुन्छ ।

महिलाको पिसाब नलीको लम्बाइ ३-४ सेन्टिमिटरको मात्रै हुन्छ । जुन पुरुषमा १८-२० सेन्टिमिटर लामो हुन्छ । यसरी महिलामा पिसाब नलीको मुख मलद्वारको नजिक हुने हुँदा ब्याक्टेरिया छिटै भित्र पस्न सक्छ । यही कारणले पनि महिलामा पिसाब संक्रमणको जोखिम धेरै हुन्छ ।

गर्भावस्था, महिनावारीको समय, महिनावारी सुकेपछिको समयमा पनि महिलामा यूटीआईको जोखिम धेरै हुन्छ । कतिपय अवस्थामा हर्मोन परिवर्तनको कारण पनि महिलामा बढी पिसाब संक्रमण हुन्छ ।

लक्षणहरू

-बारम्बार पिसाब लाग्ने

-पिसाब गर्दा दुख्ने वा पोल्ने

-पिसाबको गन्ध कडा हुने

-पिसाब धमिलो देखिने

-तल्लो पेट दुख्ने

कुन अवस्थामा यो जटिल बन्छ ?

यूटीआई बिग्रिएर जटिल अवस्था पनि आउन सक्छ । अप्पर यूटीआईको अवस्थामा मिर्गौलामा संक्रमण भएमा त्यसले मिर्गौलामा क्षति पुर्‍याउन सक्छ । पिसाब संक्रमणको सबैभन्दा जखिम अवस्था भनेको युरोसेप्सिस हो । यूटीआई बिग्रिएर जब पिसाबको संक्रमण रगतमा फैलिन्छ यो अवस्थालाई युरोसेप्सिस भनिन्छ ।

युरोसेप्सिस एक जटिल रोग हो । पिसाबको संक्रमण रगतमा फैलिएपछि यसले मुटु, कलेजो, फोक्सो जस्ता अंगमा क्षति पुर्‍याउन सक्छ । युरोसेप्सिस भएमा बिरामीको मृत्यु हुने जोखिम धेरै हुन्छ ।

कुनै-कुनै केसमा अप्रेसनपछि पनि बिरामीमा यो समस्या देखिन सक्छ ।

आजकाल एन्टियोबायोटिक्सहरू रेसिस्टेन्ट हुने(काम नगर्ने) दर बढेकाले पिसाब संक्रमणका बिरामी गम्भीर अवस्थामा पुग्ने र मृत्यु हुने दर बढेको छ ।

कसरी रोकथाम गर्ने ?

-पर्याप्त पानी पिउनु

-पिसाब लागेपछि धेरै बेर नरोक्ने

-अगाडिबाट पछाडितिर सफा गर्ने (विशेष गरी महिलाले)

-यौनसम्पर्कपछि पिसाब गर्ने

-धेरै कसिलो खालको अन्डरवेयर नलगाउने

– मधुमेह नियन्त्रणमा राख्ने

उपचार कसरी हुन्छ ?

यूटीआईको मुख्य उपचार एन्टिबायोटिक हो । पिसाब जाँच तथा आवश्यक परेको खण्डमा अल्ट्रासाउण्ड गरेर डाक्टरले कुन औषधि उपयुक्त हुन्छ भनी दिन्छन् । यसमा विशेष गरी पिसाबमा सुक्ष्म जीवाणुहरू छन्/छैनन्  भनी पिसाबको कल्चर गरेर हेरी जाँच गर्ने प्रचलन छ ।

लक्षणअनुसार दुखाइ वा ज्वरोको औषधि दिइन्छ । धेरै पिसाब पोलेको छ भने पिसाब पोल्न कम गर्ने औषधि पनि दिइन्छ ।

यसमा धेरै पानी पिउन सुझाव दिइन्छ । यसले शरीरबाट ब्याक्टेरियालाई बाहिर निकाल्न मद्दत गर्छ । यदि मूत्रमार्ग तथा मिर्गौलामा स्टोन छ भने त्यो स्टोन हटाउन उपचार तथा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

धेरै ज्वरो छ भने वा कडा कम्मर दुखाइ छ, पिसाबमा रगत आएको छ, २-३ दिन एन्टिबायोटिक खाँदा पनि सुधार नआए, गर्भवती महिला भएमा अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने हुन्छ ।

पिसाब संक्रमण यूटीआई
डा. रोजन अधिकारी
लेखक
डा. रोजन अधिकारी
मूत्ररोग तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ

डा. रोजन अधिकारी मूत्ररोग तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ हुन् । उनी हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा कार्यरत छन् । (एमबीबीएस, एमआरसीएस, एफसीपीएस युरोलोजी तथा मिर्गौला प्रत्यारोपण)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पूर्वाधार विकास मन्त्री लम्सालको पिसाबमा संक्रमण

पूर्वाधार विकास मन्त्री लम्सालको पिसाबमा संक्रमण

नेपालमा ‘वयस्क जेई’ अलर्ट !

नेपालमा ‘वयस्क जेई’ अलर्ट !

यौन दुर्बलता : औषधिदेखि कृत्रिम उपकरणसम्म, नेपालमै छन् उपचारका विकल्प

यौन दुर्बलता : औषधिदेखि कृत्रिम उपकरणसम्म, नेपालमै छन् उपचारका विकल्प

जीवित अंगदान के हो ? जानौं अंग दिएपछि शरीरमा हुने परिवर्तन

जीवित अंगदान के हो ? जानौं अंग दिएपछि शरीरमा हुने परिवर्तन

पेट फुल्ने र भारी महसुस हुने समस्या भइरहन्छ ? छुटकारा पाउने ७ उपाय

पेट फुल्ने र भारी महसुस हुने समस्या भइरहन्छ ? छुटकारा पाउने ७ उपाय

मर्ने मान्छे त फर्किंदैनन्, अंगदान नहुँदा बाँच्न सक्नेहरू पनि मरिरहेका छन्

मर्ने मान्छे त फर्किंदैनन्, अंगदान नहुँदा बाँच्न सक्नेहरू पनि मरिरहेका छन्