+
+
WC Series
पोखरा एभेन्जर्स 2025
11/1 (2.5)
VS
१०३ बलमा १५५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कान नसुन्ने कुकुरका लागि सांकेतिक भाषामा गीत गाउँदै बर्थडे पार्टी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १३:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको न्यूजर्सीस्थित डा. विलियम मेनीज एलिमेन्ट्री स्कूलमा ९ वर्षे थेरापी डग कोलको जन्मदिन मनाइएको छ।

एउटा रिल्स अहिले सामाजिक सञ्जालमा भाइरल छ । सो भिडियोमा एउटा कुकुरको जन्मदिनको सेलिब्रेसन चलिरहेको छ । झट्ट हेर्दा धेरैलाई लाग्नसक्छ, ‘कुकुरको पनि जन्मदिन ? यत्रो तामझाम जरुरी हुन्छ, र?

तर १० सेकेन्ड हेरेपछि तपाईंको औंला आफैँ स्क्रोल गर्न रोकिन्छ । २० सेकेन्डमा आँखा रसाउँछ ।

कुकुरको नाम कोल ।

ऊ जन्मजात कानले सुन्दैन । अमेरिकाको न्यूजर्सीको एउटा स्कूलमा ऊ विगत ७ वर्षदेखि स्कूल थेरापी डगको रूपमा काम गर्छ । स्कूल थेरापी डग भनेको स्कूलमा विशेष रूपमा राखिएको कुकुर हो, जसको मुख्य काम विद्यार्थीहरूको मानसिक स्वास्थ्यका लागि र भावनात्मक कुरामा सहयोग गर्नु हो ।

ऊ हरेक दिन बिहान सबै बच्चाहरूलाई बसबाट ओर्लिंदा स्वागत गर्छ, साँझ बिदाइ गर्छ । डराउने, तनावमा परेका, एक्लो महसुस गर्ने बच्चाहरूलाई कोलले माया र साथ दिन्छ । यही व्यवहारले गर्दा ऊ स्कूलको मुटु बनेको छ ।

त्यही कोलको ९औँ जन्मदिनमा स्कूलको सिंगो अडिटोरियम भरियो । कोललाई ताज लगाइदिए, जन्मदिनको टी–शर्ट पहिर्‍याइदिए । विद्यार्थीहरूले ह्वीलचेयरमा कोललाई भित्र ल्याए ।

अनि सयौँ बच्चाहरूले एकसाथ ‘ह्याप्पी बर्थडे’ गीत गाए । सो गीतको आवाजले मात्र होइन, कुकुरले पनि बुझोस् भनेर हातले इशारा गर्दै गाए । उनीहरूले कोलकै लागि भनेर अमेरिकी सांकेतिक भाषामा पूरा गीत सिकेका थिए ।

कोलले सुन्दैन तर सबैको माया बुझ्यो, पुच्छर हल्लाउँदै खुसीले नाच्यो । उसकै लागि तयार पारिएको मिठो परिकार पनि खायो । सो पार्टी भाइनल्यान्डस्थित डा. विलियम मेनीज एलिमेन्ट्री स्कूलमा आयोजना गरिएको थियो ।

पार्टीको भिडियो कोलका मालिक तथा स्कूलका संगीत शिक्षक क्रिस्टोफर हन्नाले आफ्नो इन्स्टाग्राममा सेयर गरेका थिए ।

उत्कृष्ट कुकुरको उपाधि

सन् २०२३ मा कोललाई अमेरिकी पशु क्रूरता रोकथाम संघले ‘वर्षको उत्कृष्ट कुकुर’ को उपाधि दिएको थियो । त्यतिबेलाकै एउटा भिडियो प्रोफाइलमा कोलको कथा सुनाइएको छ– सन् २०१७ मा ऊ जम्मा ५ महिनाको बच्चा हुँदा साउथ जर्सी रिजनल एनिमल शेल्टरमा ल्याइएको थियो ।

त्यो बेला शेल्टरमा लिन जाँदा स्कुलका मालिक हन्नालाई ‘बिग्रेको कुकुर’ कान नसुन्ने, नबोल्ने कुकुर किन लानुहुन्छ भनेर प्रश्न गरिएको थियो । काम नलाग्ने भनिएको त्यही कोलले आज हजारौँ बच्चाहरूलाई सिकाइरहेको छ, फरक हुनु कमजोरी होइन, कहिलेकाहीँ ‘सुपरपावर’ पनि बन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?