+
+
WC Series
पोखरा एभेन्जर्स 2025
46/3 (7.2)
VS
७६ बलमा १२० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

ह्यातको प्राइड क्यासिनोमा १४ करोड लुटपाट, ५ पटक मुद्दा चलेका व्यक्ति संलग्न

लुटपाट भएको तीन महिनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई पक्राउ परेर अनुसन्धान गर्दा यसअघि पाँच पटकसम्म पक्राउ परेर मुद्दा चलेका व्यक्तिको संलग्नता भेटिएको हो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ मंसिर १८ गते १४:१९

१८ मंसिर, काठमाडौं । बौद्धस्थित पाँच तारे होटल ‘ह्यात रेजन्सी’ मा सञ्चालन रहेको ‘प्राइड इन्टरटेन्टमेन्ट रिक्रेसन सेन्टर’ नामक क्यासिनो लुटपाटमा पाँच पटकसम्म मुद्दा चलेका व्यक्तिको संलग्नता भेटिएको छ ।

लुटपाट भएको तीन महिनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई पक्राउ परेर अनुसन्धान गर्दा यसअघि पाँच पटकसम्म पक्राउ परेर मुद्दा चलेका व्यक्तिको संलग्नता भेटिएको हो ।

परिसर काठमाडौंका प्रमुख तथा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार यो क्यासिनो लुटपाट आरोपमा अहिले दावा सेट्ठी भनिने दावा शेर्पा र रणे भनिने रञ्जित खड्गी हिरासतमा छन् । काठमाडौं बौद्धका ४२ वर्षीय सेट्ठी र बूढानीलकण्ठका २९ वर्षीय रणेविरुद्ध आपराधिक उपद्रव र डाँकाको कसुरमा अहिले काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।

उनीहरूले जेनजी आन्दोलनको मौकामा २४ भदौमा हतियारसहित प्राइड क्यासिनोमा छिरेर लुटपाट गरेको क्लोज सर्किट क्यामेरा (सीसी क्यामेरा) को फुटेजमा देखिन्छ । उनीहरूसहितको समूह छिरेर खुकुरी देखाउँदै क्यासिनोमा रहेको रकम लुटपाट गरेर लगेको देखिन्छ ।

क्यासिनो सञ्चालकले उनीहरूले लुटेको रकम १४ करोड रहेको दाबी गर्दै परिसर काठमाडौंमा जाहेरी दिएका छन् । ‘क्यासिनोमा रहेको नगद १४ करोड लुटेर लगिएको जाहेरी छ । अन्य भौतिक क्षतिको मागदाबी छुट्टै छ,’ परिसर काठमाडौंका एक अनुसन्धान अधिकृतले भने ।

सुरुमा खुकुरीसहित एक समूह क्यासिनोमा छिरेर तोडफोड गरेको सीसी क्यामेराको फुटेजमा देखिन्छ । त्यसपछि अर्को समूह क्यासिनो प्रवेश गरेको देखिन्छ । पक्राउ परेका रणे पहिलो समूहमा क्यासिनो प्रवेश गरेको देखिन्छ । सेट्ठी भने दोस्रो समूहमा क्यासिनो प्रवेश गरेको देखिन्छ ।

सीसी क्योमरामा देखिएको यही दृश्यका आधारमा प्रहरीले लामो निगरानी तथा अनुसन्धानपछि दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । पहिलो लटमा ७/८ जनाको समूह क्यासिनोमा छिर्छ ।

दोस्रो लटमा १०/१२ जनाको समूह छिर्छ । क्यासिनोको लकरमा रहेको रकम, सेफ समेत फुटाएर रकम लगेको सीसी क्यामेरामा प्रष्ट देखिन्छ । पहिचान नहोस् भन्नका लागि केहीले हेल्मेट लगाएको, मास्क लगएको र हुडी ओडेको समेत देखिन्छ ।

रणे ५ मुद्दाका अभियुक्त

पक्राउ परेका मध्ये यसअघि पाँच पटकसम्म पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ । क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) मा रणेविरुद्ध जुवादेखि बैंकिङ कसुरसम्म गरी पाँच मुद्दा चलेको भेटिएको एक अनुसन्धान अधिकृतले बताए ।

उनीविरुद्ध सुरुमा २०७३ मा केही सार्वजनिक अपराध (अहिलेको अभद्र व्यवहारको कसुर) मा मुद्दा चलेको भेटिएको छ । ९ माघ २०७३ मा प्रहरी वृत्त बौद्धले उनीविरुद्ध सार्वजनिक अपराधको कसुरमा मुद्दा चलाएको भेटिएको हो ।

त्यस्तै परिसर काठमाडौंबाट जुवाको कसुरमा अर्को मुद्दा चलेको भेटिएको छ । ४ वैशाख २०७५ मा उनीविरुद्ध जुवाको कसुरमा मुद्दा चलेको थियो । त्यतिबेला उनी पक्राउ परेका थिए ।

प्रहरी वृत्त मालिगाउँमा उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको देखिएको छ । १ पुस २०७६ मा परेको जाहेरीमा उनी भने अहिलेसम्म फरार रहेको देखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरी वृत्त बौद्धबाटै २३ असार २०७८ मा उनीविरुद्ध जुवाकै कसुरमा मुद्दा चलेको देखिएको छ । यो मुद्दामा छुटेको तीन महिनापछि फेरि बौद्धबाटै ४ असोज २०७८ मा जुवाकै कसुरमा पक्राउ परेर मुद्दा चलेको भेटिएको छ ।

सीआरएसमा उनी यसअघि पनि पटक पटक जुवाको कसुरमा पक्राउ परेकाले उनी क्यासिनो जाने भएकाले क्यासिनो प्राइडबारे पूरापूर जानकार भएरै लुट्न गएको अनुसन्धान अधिकृतले विश्लेषण गरेका छन् ।

विगतमा पनि जुवा खेल्दै गर्दा पक्राउ परेर मुद्दा चलेको देखिन्छ । यसबाट उनी क्यासिनो पनि जाने गरेको बुझ्न सकिन्छ । क्यासिनोबारे पूरा जानकारी भएकैले जेनजी आन्दोलनको मौकामा योजना बनाएरै लुटेको देखिन्छ,’ ती अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।

नेपालीलाई क्यासिनो प्रवेशमा रोक लगाइएको छ । तर पक्राउ परेकाहरू सञ्चालकहरूसँग सेटिङ मिलाएर क्यासिनो प्रवेश गर्ने गरेको प्रहरी अधिकृतहरू बताउँछन् ।

अहिले हिरासतमा रहेका सेट्ठी भने प्राइडमै टेवल चलाउने गर्थे । उनको दाबी पनि सञ्चालकले नै बोलाएर क्यासिनो जोगाउन गएको भन्ने छ । तर उनको काम भने क्यासिनो जोगाउने भन्दा पनि लुटपाट गर्ने देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

उनी यो भन्दा पहिला सोल्टी होटलको क्यासिनो मोजाङ जाने गर्थे । त्यहाँ विवाद भएर निकालिएपछि उनी प्राइड जान थालेको प्रहरी अधिकारीहरु बताउँछन् ।

क्यासिनोको लत लागेका रणेले क्यासिनोमा धेरै रकम गुमाएको उनले प्रहरी समक्ष बताएका छन् ।

यो क्यासिनो नेपाली व्यवसायी विनायक शाह र भारतीय तरुण खट्टरले संयुक्त रुपमा सञ्चालन गरेका छन् । अहिले भने ह्यातदेखि क्यासिनो सबै बन्द छ ।

४० करोड भौतिक क्षतिको दाबी

१४ करोड रुपैयाँ नगद लुटिएको दाबी गर्दै जाहेरी परेको छ । तर पक्राउ परेका दुई जनाबाट केही रकम पनि अहिलेसम्म भेटिएको छैन । उनीहरूले उक्त रकम कहाँ लुकाए वा खर्च गरे भन्नेबारे अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीको भनाइ छ ।

नगद १४ करोड लुटेको दाबी गरिएको छ भने भौतिक क्षति ४० करोड भएको मागदाबी गरिएको छ । ठूलो क्षति भएको भन्दै ह्यातले २ कात्तिकमा विज्ञप्ती निकालेर अनश्चितकालका लागि होटल बन्दको घोषण गरेको थियो ।

होटलका मानव संशाधन निर्देशक मोहम्मद युसुफ यामिनले अर्को सूचना जारी नहुँदासम्मका लागि होटल बन्द रहेको जानकारी गराएका थिए । त्यसयता यो होटल पूर्ण रुपमा बन्द छ ।

अन्तर्राष्ट्रिय ब्रान्डको यो पाँचतारे होटल बन्द हुनुमा भौतिक क्षति मात्रै कारण छैन यो मानवीय क्षतिसँग पनि प्रत्यक्ष जोडिएको छ ।

जेनजी आन्दोलनको क्रममा ह्यातमा एक भारतीय पर्यटक ५७ वर्षीया महिला राजेश सिंह गोलाको मृत्यु भएको थियो । होटलमा आगजनी सुरु भएपछि ती भारतीय पर्यटकले हामफालेकी थिइन् । गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

जेनजी प्रदर्शनको क्रममा आगजनीका कारण ह्यात होटलको लबी र क्यासिनो पूर्णरूपमा ध्वस्त भएको थियो । पहिलो तलामा रहेका कोठाहरू पनि जलेका छन् ।

झन्डै ७० वटा कोठा पूर्णरूपमा क्षतिग्रस्त भएको व्यवस्थापन पक्षको भनाइ छ । ह्यातमा रहेको क्यासिनोमा पनि क्षति पुगेको छ ।

प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले बोलाएको बैठकमा पनि होटल व्यवस्थापनका प्रतिनिधिहरूले क्षतिबारे जानकारी गराएका थिए ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?