News Summary
Generated by OK AI. Editorially reviewed.- सडक डिभिजन हेटौंडाले २० मंसिरदेखि हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र २५ गज सडक सीमा भित्रका ५३१ घरटहरा भत्काउन सुरु गर्ने तयारी गरेको छ।
- घरधनी र व्यवसायीहरूले मुआब्जा र क्षतिपूर्ति माग्दै आन्दोलन गरिरहेका छन् भने मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनमा सहभागी नहुने निर्णय गरेको छ।
- सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले २० देखि २५ दिनभित्र अतिक्रमित संरचना हटाउने लक्ष्य लिएको र आवश्यक उपकरण पर्याप्त रहेको बताए ।
१९ मंसिर, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम आज सकिँदैछ ।
सडक डिभिजन हेटौंडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) विस्तार गर्न लागेको हो ।
सडक डिभिजनले सर्वोच्च अदालतको आदेशलाई सम्झाउँदै ५ मंसिरमा सार्वजनिक सूचना जारी गरी घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो ।
तोकिएको समयमा संरचना नभत्काए सडक डिभिजन आफैं भत्काउने सूचनामा छ । तर, सूचना जारी गरेको आज १५औं दिनसम्म पनि सडक सीमा क्षेत्र खाली भएका छै्रनन् । मुआब्जा र क्षतिपूर्ति माग्दै घरधनी र व्यवसायीहरु आन्दोलित छन् । सडक विस्तार हुने क्षेत्रका व्यवसायीमात्रै प्रदर्शनमा देखिएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनमा सहभागी नहुने निर्णय गरिसकेको उपाध्यक्ष उज्वल चौलागाईं बताउँछन् । केही सीमित घरधनीहरु घर भत्काउन तयार बन्दै आफ्ना सामान अन्यन्त्र व्यवस्थापन गरिसकेका छन् । तर अधिकांश घरधनीहरु आन्दोलनमा होमिँदै सडक डिभिजनको विस्तार कार्यको प्रतिकार गर्ने चेतावनी दिइरहेका छन् ।
सडक डिभिजन हेटौंडा भने वर्षौदेखि सडक विस्तार कार्य अलपत्र पारेर मात्रै राख्ने विषय स्वीकार हुन नसक्ने बताउँदै आएको छ ।

भोलि २० मंसिरदेखि सडक डिभिजन अतिक्रमित संरचना हटाउन मैदानमा उत्रिने तयारीमा छ । २० देखि २५ दिनभित्र अतिक्रमित संरचना हटाइसक्ने लक्ष्य सडक डिभिजन कार्यालयले लिएको छ ।
यसअघि असार २०७६ मा १ नम्बर वडामा सरकारी निकायले उपभोग गरिरहेका सडक क्षेत्रको जग्गा खाली गराएयता सडक डिभिजन मैदानमा उत्रिएको छैन । त्यतिबेला राप्ती रोडमा स्थानीय र प्रहरीबीच झडप नै भएको थियो ।
सडक डिभिजनले पछिल्लो पटक दुई वर्षअघि सूचना निकालेको थियो । घरधनीहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि सडक डिभिजन रोकिएको थियो । सोही मुद्दाको फैसलालाई टेकेर अहिले सडक विस्तार हुन लागेको हो ।
सबै तयारी भइसक्यो, भोलिदेखि भत्काउँछौं : डिभिजन प्रमुख
सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले भोलि २० मंसिरदेखि अतिक्रमित घरटहरा लगायतका संरचनाहरु भत्काउन सुरु गरिने अनलाइनखबरलाई जानकारी दिए ।
‘अब सधैं सडक विस्तार रोकिराख्ने, कहिल्यै पार नलाग्ने भनेर कहाँ हुन्छ र । यसलाई विस्तार गर्नुपर्छ । हामी भोलिदेखि काम अगाडि बढाउन तयारी अवस्थामा छौं,’ अधिकारीले भने ।
सडक डिभिजनसँग २० वटा हेभी उपकरणहरु रहेको र यो पुग्दो अवस्थामा भएको प्रमुख अधिकारीले बताए । तीन तलासम्मको टप निकाल्न मिल्ने उपकरण पनि रहेको उनको भनाइ छ ।
‘हामीसँग उपकरणको कमी छैन । सायद सबै प्रयोग गर्न नपर्न सक्छ । यदि आवश्यक परे काठमाडौं र जनकपुरबाट पनि माग्छौं । भाडामा पनि लिन सक्छौं । सडक विस्तार कार्यमा उपकरणले समस्या हुँदैन,’ उनले भने । डिभिजन प्रमुख अधिकारीले आवश्यकता अनुसार २–३ ठाउँबाट अतिक्रमित संरचना हटाउन काम सुरु गर्ने बताए ।
महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ति पुलसम्म ६ दशमलव ३ किलोमिटर र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म ३ दशमलव २ किलोमिटर सडक विस्तार गर्नुपर्ने कार्यालयले जनाएको छ । भोलिबाट सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम अगाडि बढाउने डिभिजनको तयारी छ ।
सडक डिभिजनले रातोमाटेदेखि बुद्धचोक हुँदै राप्तीपुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म ८ दशमलव ५ किलोमिटर भित्र ५ सय ३१ वटा घर, टहरा तथा अन्य संरचना भत्काउनुपर्ने जनाएको छ । सडकको केन्द्रबिन्दुबाट २५/२५ गजभित्र सडकको दायाँतर्फ २ सय ३४ वटा र बायाँतर्फ २ सय ९७ वटा घर, टहरा र संरचना भत्काउनुपर्ने देखिएको डिभिजन प्रमुख अधिकारीले बताए ।
प्रतिक्रिया 4