+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
112/6 (17.6)
Shares

रवि, कुलमान र बालेन समूहबीच सघन सहकार्य संवाद

ऊर्जामन्त्री कुलमान घिसिङ पार्टी गठन गरेर एक्लै अघि बढ्दा वैकल्पिक शक्तिहरूको संवाद क्रम केही समय टुटेपनि तीन शक्ति मिल्ने गरी सघन छलफल फेरि सुरु भएको छ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ मंसिर १९ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रवि लामिछाने नेतृत्वको रास्वपा, कुलमान घिसिङ समर्थित उज्यालो नेपाल पार्टी र मेयर बालेन शाह समूहबीच वैकल्पिक शक्तिहरूको एकता प्रयास तीव्र भएको छ।
  • जेनजीका अगुवा सुदन गुरुङले रवि लामिछानेसँग भेटेर सबै वैकल्पिक शक्ति मिलेर पुराना दललाई हराउनुपर्ने प्रस्ताव राखेका छन्।
  • वार्तामा कुलमान घिसिङलाई प्रधानमन्त्री उम्मेदवार र रवि लामिछानेलाई पार्टी अध्यक्ष राख्ने प्रस्तावमा सहमति जुट्न लागेको छ।

१९ मंसिर,काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरू छुट्टिएर चुनाव लड्दा फेरि पुरानै राजनीतिक दलको वर्चस्व स्थापित हुने जोखिम देखेपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), कुलमान घिसिङ समर्थित उज्यालो नेपाल पार्टी (उनेपा) र काठमाडौंका मेयर बालेन शाह समूहका व्यक्तिहरू सहकार्यका लागि सघन छलफलमा जुट्न लागेका छन् ।

यो छलफललाई निष्कर्षमा पुर्‍याउन र मिल्न दबाब दिन जेनजीका समूहहरू पनि सक्रिय देखिन थालेका छन् । यही सिलसिलामा द काउन्सिल अफ जेनजीका अगुवा सुदन गुरुङले बिहीबार रास्वपा सभापति रवि लामिछानेलाई नख्खु जेलमै गएर भेटे ।

भेटमा जानु अघि नै उनले लेखेका थिए, ‘बालेन र कुलमानको एकतापछि, हामीले गरेको वाचाअनुसार आज एकता संवादको लागि रवी लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं ।’

यति लेखेर जेलमा रवि लामिछाने भेटेका गुरुङले सबै वैकल्पिक शक्ति मिलेर पुराना दललाई हराउनुपर्ने आशयको प्रस्ताव गरेका थिए । ‘मिल्नुपर्छ भन्नेमा हामी सकारात्मक छौँ । तपाईंहरू यसको लागि पहल गर्नुस्,’ लामिछानेलाई उद्धृत गर्दै गुरुङले अनलाइनखबरसँग भने ।

त्यस्तै, आफूले कुलमान र बालेनलाई पनि भेट गराएको दाबी गुरुङको छ । यसबारे उज्यालो नेपालका एक शिर्ष नेतासँग बुझ्दा पनि गुरुङसहितको पहलमा आफूहरूले बालेनलाई भेटेको स्वीकारे ।

‘सुदनजी सुरुबाटै मिलाउन नै लाग्नुभएको हो । बालेनसँगको भेटमा अरूसँगै उहाँको पनि सहयोग छ,’ उनले भने । गत शनिबारको उक्त भेटघाटपछि कुलमान घिसिडले आइतबार काठमाडौं महानगरका मेयर बालेन शाहसँगको तस्वीर सार्वजनिक गर्दै लेखेका थिए, ‘देश बनाउने अभियानमा हामीसँगै छौँ ।’

उक्त भेटमा थप के कुरा भएको थियो ? उज्यालो नेपालको वार्ता समितीमा रहेका एक नेता भन्छन्, ‘कुलमान जीलाई उहाँले आफूले उज्यालो नेपाललाई समर्थन गर्ने र भरसक वैकल्पिकहरू मिल्नुपर्ने सन्देश दिनुभएको थियो । उहाँको समर्थन हामीलाई रहन्छ भन्नेमा ढुक्क छौँ । त्यसैले पनि कुलमान जीले फोटो नै सार्वजनिक गर्नुभएको थियो ।’

रास्वपा प्रवक्ता मनिष झाले पनि सबै पक्ष एक भएर जाने विषयमा छलफल सकारात्मक चलिरहेको बताए । उनकाअनुसार सबै एक भएर अलायन्समा जाने पक्कापक्की भएको छ । नाम, चुनाव चिह्नजस्ता विषयमा भने छलफल नै चलिरहेको छ ।

‘छलफल चलिरहेको छ । अरू विषयमा करिब मिलिसकेको छ । अलायन्स गर्ने पक्कापक्की हो । बाँकी चुनाव चिह्न कुन लिएर जाने भन्ने विषयमा संवाद भइरहेको छ । दुईचार दिनमा केही निष्कर्ष आउँछ,’ रास्वपा प्रवक्ता झाले अनलाइनखबरसँग भने ।

कुलमान घिसिङको पार्टी खुल्नु अघि नै मिलाउने कोसिस भएको थियो । नमिलेपछि घिसिङ रास्वपा भन्दा बालेनको समूहसँग नजिकन थालेको हो ।

उज्यालो नेपाल पार्टीका एक नेताका अनुसार १७ गतेको घोषणा सभामै बालेनलाई ल्याउने सम्मको कुरा भएको थियो । तर, बालेन एकाएक पितृशोकमा परे ।

‘ढुक्क हुनुस्, हाम्रो कुनै चुनावी कार्यक्रममा बालेनको सरप्राइज इन्ट्री हुन्छ । उहाँले हामीलाई समर्थन गर्ने हिसाबले त्यहाँ आउनुहुन्छ । अबको तयारी त्यता पनि छ,’ ती नेताले दाबी गरे ।

उज्यालो नेपाल पार्टीले केन्द्रीय कमिटी विस्तार गर्दैछ । उज्यालो नेपालमा हाल ५१ सदस्यीय केन्द्रीय समिति छ । त्यसबेला बालेन समूहका केही व्यक्ति केन्द्रीय कमिटीमा पठाउने मोटामोटी सहमति भइसकेको दाबी पनि उनले गरे ।

उज्यालो नेपाल पार्टी घोषणामा शुभेच्छा व्यक्त गर्न आएका अन्य व्यक्तिहरूले पनि वैकल्पिक शक्ति मिलेर जानुपर्ने सुझाव दिएका थिए ।

त्यस्ता सुझावहरूबाट समेत दबाबमा परेकोले उज्यालो नेपालले रास्वपासँगको छलफललाई पनि निरन्तरता दिएको छ । वार्ता टोलीमा समेत समावेश उज्यालो नेपाल पार्टीका ती सदस्यको दाबी अनुसार, दुवै पक्षका सदस्यहरूबीच गत साता निरन्तर चलेको थियो ।

छलफलको क्रममा उज्यालो नेपालले यसअघि भन्दा केही लचक भएर आफ्ना प्रस्ताव अघि सारेको छ, जसलाई आधार मानेर एकता वा गठबन्धन टुङ्गोमा पुर्‍याउने अन्तिम प्रयास भइरहेको हो ।

सबैभन्दा बलियो मानिएको प्रस्ताव हो— कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सार्ने । रवि लामिछानेलाई पार्टी अध्यक्ष कायम राख्ने ।

भारतमा समेत यस्तो अभ्यास रहेको बताउँदै आफूहरू पनि यो विषयमा लचक भएको ती नेताले बताए । भारतमा भाजपा अध्यक्ष र प्रधानमन्त्री फरक भएजस्तै अभ्यास यहाँ पनि गर्न खोजेको देखिन्छ ।

यसअघि उज्यालो नेपाल पार्टी यही विषयमा सहमत भएको थिएन । त्यही कारण एकता हुन सकेको थिएन । अहिले उज्यालो नेपाल आफैँ यो विषयमा लचक भएको नेताहरू बताउँछन् ।

उज्यालो नेपालले अर्को विकल्प पनि अघि सारेको छ- पार्टीको नाम फेर्दा राष्ट्रिय उज्यालो पार्टी बनाउने । यसबाहेक उज्यालो स्वतन्त्र पार्टी वा राष्ट्रिय उज्यालो स्वतन्त्र पार्टीलगायतका नाम पनि विकल्पमा आएको वार्ता टोलीका एक सदस्यले बताए ।

तर, निर्वाचन आयोगमा दल एक भएर जाने समय घर्किएकाले रास्वपाको नाममै चुनावमा गएर पछि महाधिवेशनमार्फत् परिवर्तन गर्न सकिनेसम्मको विषय छलफलमा आएका छन् ।

यसरी तत्काल रास्वपाको नाम र चिह्नमै चुनावमा जाने अवस्थामा यो गठबन्धनले ‘उज्यालो नेपालको लागि राष्ट्रिय स्वतन्त्र पार्टीमा भोट हालौँ’ भन्ने नारा लिएर जनतामाझ जाने र महाधिवेशनमार्फत् एकतालाई औपचारिकता दिनेसम्मका विषय छलफलमा उठेका छन् ।

वार्तामा संलग्न ती नेताकाअनुसार कार्यदलले एकता वा गठबन्धनको खाका पनि लगभग तयार पारिसकेको छ । ‘हामीले धेरै कुरा टुङ्ग्याइसक्यौँ, अब दुईजना नेताले हस्ताक्षर गरे पुग्छ,’ती नेताले भने, ‘तर, अन्तिम निर्णय नबनेसम्म बाहिर सार्वजनिक नगर्ने भनेका छौँ ।’

रास्वपाको तर्फबाट स्वर्णिम वाग्ले, डिपी अर्याल, शिशिर खनाल लगायतका नेतासँग उज्यालो नेपालका नेताहरूको निरन्तर संवाद चलिरहेको छ ।

रास्वपाले गठन गरेको उच्च स्तरीय संवाद समितिका संयोजक समेत रहेको उपसभापति स्वर्णिम हाल भने अष्ट्रेलियामा छन् । तर अन्य नेताहरूले छलफल गरिरहेका छन् ।

उज्यालो नेपालकै उपल्ला तहका अर्का नेता पनि सैद्धान्तिक विषयमा दुई दलको एकतामा समस्या नभएको बताउँछन् । उनकाअनुसार एकताका लागि एक तहको सहमति पनि बनिसकेको छ ।

बरु रास्वपामा मूलतः सभापति रवि लामिछानेको निकट हुँ भन्नेहरूबाट नै जटिलता थपिएको हो । उनले अनलाइनखबरसँग भने, ‘रास्वपामा सभापति रवि एकताको पक्षमा स्पष्ट हुनुहुन्छ । हामी पनि खुला छौँ । तर, रवि निकटकै केही व्यक्तिहरू कुलमानको प्रवेशले आफ्नो स्थान खोसिने डर उहाँहरूमा देखिन्छ । त्यही कारण एकताले मूर्तरूप पाउन सकेको छैन ।’

उज्यालो नेपालले पार्टीले सभापतिदेखि प्रधानमन्त्रीसम्म खोज्दा एकतामा समस्या भएको भन्दै आएका विषयको प्रसंग कोट्याउँदै उनले थपे, ‘रास्वपाबाट कुलमानको विषयमा अतिरञ्जित प्रचार पनि गरियो । सभापति हुनैपर्ने, दलको नाम, चुनाव चिह्न परिवर्तन लगायतमा अनावश्यक प्रचारबाजी गरियो ।’

यता रास्वपाले पनि उच्चस्तरीय संवादका लागि उपसभापति डा.स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएको छ । जेनजी लगायतका नयाँ युवा पुस्तासँग एकताका लागि वार्ता गर्न केन्द्रीय सदस्य पुकार बमको संयोजकत्वमा अर्को वार्ता कार्यदल गठन गरेको छ ।

उपसभापति स्वर्णिम, नेता शिशिर खनाल लगायतले काठमाडौं महानगरका मेयर बालेन शाहका निकट कुमार बेन लगायतसँग छलफल गरेका थिए । उज्यालो नेपाल पार्टी गठन हुनुअघि नै स्वर्णिमले ऊर्जामन्त्री कुलमान घिसिङसँग वार्ता पनि गरेका थिए । सहमति जुट्न नसकेपछि कुलमान छुट्टै दल दर्ता गर्ने प्रक्रियामा लागे ।

तर, पछिल्लो समय जेनजीलगायतको बाहिरी दबाबका कारण पनि एक हुनुपर्ने भन्दै पुनः छलफलमा यी दल बसेका हुन् । रास्वपाका बागमती प्रदेश महामन्त्री सुरेन्द्र भट्ट पनि सकेसम्म सबै एकै ठाउँमा हुने भन्ने तरिकाले संवाद भइराखेको बताउँछन् ।

‘चुनावी त एउटा पाटो छँदै छ । रास्वपाको नेतृत्वमा सबै एकै ठाउँमा हुनुपर्यो भन्ने तरिकाले संवाद भइरहेको छ,’ भट्टले भने, ‘उज्यालो नेपाल पनि अलि लचक हुँदै गएको देखिन्छ । जेहोस् सबै सकारात्मक नै छन् ।’

बरु पार्टीको नाममा उज्यालो थप्ने भन्दा पनि नारामै ‘उज्यालो नेपाल अभियान’ सुरु गरेर जाऔँ भन्ने प्रस्ताव आफूहरूको रहेको भट्टले बताए ।

कुलमान घिसिङले विगतमा लोडसेडिङ मुक्त देश बनाएको ब्रान्डलाई पार्टीसँग जोडेर लाने विषयमा दुवै पक्ष करिब–करिब सहमत नै रहेको उनको भनाइ छ ।

त्यस्तै, काठमाडौं मेयर बालेन शाह पनि एकताका लागि सकारात्मक रहेको बताउँदै भट्टले थप भने, ‘बालेन पक्ष पनि पछिल्लो समय अझ बढी सकारात्मक देखिराख्नुभएको छ ।

नयाँ शक्तिहरू नमिलेको अवस्थामा पुराना शक्ति नै फेरि हाबी हुन्छ भन्ने चिन्ताले संवादहरु भइरहेको छ । अब केही दिनमै यो मिल्ने विषयमा केही न केही नतिजा आउला ।’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?