१९ मंसिर, काठमाडौं । नेकपा एमालेले ओखलढुंगा र धनकुटामा महाधिवेशन प्रतिनिधि छनोटको काम ५ दिनभित्र सक्न निर्देशन दिएको छ ।
दुवै जिल्लामा प्रतिनिधि छनोट विवादित बनेपछि एमाले संगठन विभागले पुनः प्रतनिधि छनोटको प्रक्रिया थाल्न निर्देशन दिएको हो ।
‘५ दिनको समय दिएर पुनः निर्वाचन गर्न पत्र पठाएका छौँ । पार्टी केन्द्रीय नेतालाई सहजीकरण गर्न भनेका छौं,’ संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भने ।
उनका अनुसार बाँकी जिल्लामा प्रतिनिधि छनोट सकिएको छ ।
‘भौगोलिक, गैरभौगोलिक, विभाग, जनसंगठन सबैमा प्रतिनिधि छनोट सकिएको छ,’ उनले भने ।
उजुरी र गुनासो आएको ठाउँमा अध्ययन गरिरहेको पनि प्रमुख अधिकारीले बताए ।
महाधिवेशनमा २ हजार २५० देखि २ हजार २७५ सम्म प्रतिनिधि छनोट हुने उनले बताए ।
‘एक दुई दिनमै प्रतिनिधि छनोटको काम टुंगिन्छ,’ उनले भने । एमाले महाधिवेशन २७ मंसिरदेखि सुरु हुँदैछ ।
प्रतिक्रिया 4