+
+
Shares
एमाले महाधिवेशन :

प्रतिनिधि छनोट विवाद : च्यासलमा उजुरी, धर्ना र हात हालाहाल (भिडियो )

शुक्रबार दिउँसो  केन्द्रीय कार्यालय च्यासलमा नेता कार्यकर्ताबीच हात हालाहालकै अवस्था सिर्जना भयो ।

दिनेश गौतम दिनेश गौतम
२०८२ मंसिर १९ गते १८:४९

१९ मंसिर, काठमाडौं । एमालेलाई एघारौं महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनको उद्घाटन सत्र सुरु हुन केही दिनअघि पार्टी केन्द्रीय कार्यालयमा पनि भीड बढिरहेको छ ।

यसैबीच एमालेको महाधिवेशनका लागि छनोट भएका प्रतिनिधिहरूको विवादले भने उग्र रुप लिन थालेको छ । शुक्रबार दिउँसो  केन्द्रीय कार्यालय च्यासलमा नेता कार्यकर्ता बीच हात हालाहालकै अवस्था सिर्जना भयो ।

लोकतान्त्रिक प्रक्रिया पूरा नभएको भन्दै आदिवासी जनजाति लोकतान्त्रिक महासंघको टोली च्यासल पुगेको थियो । संगठन विभागका प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर महासंघका प्रतिनिधिहरूले आफ्ना कुरा राखिरहेका थिए ।

सो क्रममा अवस्था असामान्य बन्यो । केहीबेर भनाभनपछि दुई समूहका कार्यकर्ताबीच हात हालाहालकै अवस्था बन्यो ।

‘लोकतान्त्रिक विधिबाट प्रतिनिधि छनोट नभएकाले ध्यानकर्षण गर्न आएका हौं,’ महासंघका महासचिव पेम्बा भोटे भन्छन्, ‘४२ जनाको उम्मेदवारी परेको थियो । यसमध्ये ७ जना विधि प्रक्रियाबाट टुंगो लाग्नुपर्ने हो तर बन्द कोठाबाट ल्याइयो ।’

तर, एमाले संगठन विभाग हात हालाहालको घटनालाई बहस र छलफलको रूपमा लिन्छ । ‘त्यो विवाद उहाँहरूको आन्तरिक थियो । प्रसंग उठेपछि अलिकति बहस र छलफल भएको हो,’ संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भने ।

संगठन विभाग प्रमुख काशीनाथ अधिकारी ।

महासंघको टोली भने लोकतान्त्रिक विधिबाट प्रतिनिधि छनोट हुनुपर्ने माग राखेर तीन दिनदेखि च्यासल पुगेर संगठन विभागलाई ध्यानकर्षण गराइरहेको छ । ‘छलफल पनि चलाइएन । चरम बेथिति भयो । तीन दिनदेखि संगठन विभागमा धर्ना दिइरहेका छौं,’ उनले भने, ‘खबरदारी गरिरहेका छौं ।’

महासंघकी सचिव समेत रहेकी एमाले बागमती प्रदेश कमिटी सदस्य मन्दिरा श्रेष्ठ पनि प्रतिनिधि छनोट लोकतान्त्रिक विधिबाट नभएकाले ध्यानाकर्षण गराउन च्यासल आएको बताउँछिन् । ‘पार्टी व्यक्तिवादी हुनुभएन । हाहा र हुहुले चल्नुभएन । लोकतान्त्रिक विधिबाट प्रतिनिधि छनोट गर्नुपर्ने हाम्रो माग हो,’ उनले भनिन् ।

प्रतिनिधिका आकांक्षीबीच छलफल नै नगराई छनोट गरिएको श्रेष्ठको दाबी छ । ‘पार्टीमा उजुरी दिएका छौं । उजुरी उपर के भयो भनेर ध्यानाकर्षण गराउन आएका हौं,’ उनले भनिन् ।

संगठन विभागका अनुसार मुख्यगरी ओखलढुंगा र धनकुटामा प्रतिनिधि छनोट विवाद छ । दुवै जिल्लामा पुन: प्रक्रियाबाट प्रतिनिधि छनोट गर्न विभागले निर्देशन दिएको छ । ‘५ दिनको समय दिएर पुन: निर्वाचन गर्न पत्र पठाएका छौं । पार्टीको केन्द्रीय नेतालाई सहजीकरण गर्न भनेको छ,’ संगठन विभाग अधिकारीले अनलाइनखबरसँग भने ।

एमाले धनकुटाका इन्चार्ज राजेन्द्र कुमार राई, महासंघका महासचिव पेम्बा भोटे, धनकुटा जिल्ला सचिव पर्शुराम नेपाल र बागमती प्रदेश कमिटी सदस्य मन्दिरा श्रेष्ठ ।

प्रतिनिधि छनोट विवाद भएको जिल्लाका नेता तथा कार्यकर्ताको भने फरक–फरक मत छ । ‘निर्वाचन समिति बनाएर प्रक्रिया अगाडि बढाएको हो । सर्वसम्मतिको प्रयत्न पनि भयो । सहमति नभएपछि निर्वाचन भयो,’ एमाले धनकुटा जिल्ला सचिव पर्शुराम नेपालले भने, ‘मत खस्न थालेपछि केहीको पक्षमा मत नखसेपछि विरोध गर्नुभएको हो ।’

एमाले धनकुटा इन्चार्ज तथा केन्द्रीय सदस्य राजेन्द्र कुमार राई संगठन विभागको निर्देशन अनुसार छलफल गरेर विवाद समाधान गर्ने बताउँछन् ।

‘एमाले लोकतान्त्रिक पार्टी हो । जिल्लामा धेरै विवाद छैन । विधि प्रक्रियाबाट नै प्रतिनिधि आएको हो । तर फेरि छलफल हुन्छ । एउटा निष्कर्ष निकाल्छौं । पार्टीको स्प्रिड अनुसार मिलाएर कार्यान्वयन गर्छौैं,’ उनले भने ।

संगठन विभाग प्रमुख अधिकारी उजुरी र गुनासो आएको ठाउँमा अध्ययन गरिरहेकाले केही दिनमा सबै जिल्लाको प्रतनिधि छनोट सकिने दाबी गर्छन् । ‘भौगोलिक, गैरभौगोलिक, विभाग, जनसंगठन सबैमा प्रतिनिधि छनोट सकिएको छ,’ उनले भने, ‘एक दुई दिनमै प्रतिनिधि छनोटको काम टुंगिन्छ ।’

एमालेको एघारौं महाधिवेशनमा २२५० देखि २२७५ सम्म प्रतिनिधि छनोट हुने उनले बताए । एमाले महाधिवेशन २७ मंसिरदेखि सुरु हुँदैछ ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?