२०, मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले जेनजी आन्दोलनले उठाएका मुद्दाहरूको सम्बोधनका लागि पार्टीका तर्फबाट सशक्त पहल गर्ने प्रतिवद्धता जनाएको छ ।
पार्टीले जारी गरेको पहिलो अन्तरपार्टी निर्देशन (अपानि) मा जेनजीले उठाएका मुद्दाहरूलाई संविधान संशोधन वा अन्य तरिकाले सम्बोधन गर्नका लागि सशक्त पहल गर्ने प्रतिवद्धता जनाएको छ ।
‘जेनजी आन्दोलनमार्फत् उठाएका सुशासन, रोजगारी, राजनीतिक दल तथा राज्यका निकायहरूमा युवा सहभागितालगायतका मुद्दाहरूलाई संविधान संशोधन वा अन्य तरिकाले सम्बोधन गर्न पार्टीको तर्फबाट सशक्त पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं,’ अपानिमा भनिएको छ ।
कम्युनिस्ट पार्टीले २३ भदौमा जेनजी आन्दोलनमा गरिएको दमन र २४ भदौमा गरिएको विध्वंसको बारेमा छानबिन गरी दोषीहरूमाथि कडा कारबाही गर्न पनि माग गरेको छ ।
‘यस क्रममा भएको राष्ट्रिय धरोहरहरूलगायत सार्वजनिक र नीजि सम्पत्तिमाथि भएको अतिप्रति दु:ख व्यक्त गर्दै राष्ट्रिय पुर्ननिर्माण अभियान सञ्चालन गर्न अपिल गर्दछौं,’ पार्टीले भनेको छ ।
अपानिमा पार्टीका सबै संगठनहरू तथा जनवर्गीय संगठनहरूमा जेनजी नवयुवा, युवा तथा महिला, दलितलगायत पछाडि पारिएका वर्ग, जाति, समुदायको न्यायोचित प्रतिनिधित्व गराउने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।
‘हाम्रो पार्टी सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तथा भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध भदौ २३ गते जेनजी पुस्ताका नवयुवाहरूले गरेको आन्दोलनको उच्च मूल्याङ्कन गर्दै आन्दोलनको भावनाको सम्मान गर्दछ,’ अपानिमा लेखिएको छ ।
प्रतिक्रिया 4