News Summary
Generated by OK AI. Editorially reviewed.- ओलम्पिक धाविका सन्तोषी श्रेष्ठले भ्यालेन्सिया म्याराथन मा २ घण्टा ४० मिनेट २३ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
- सन्तोषीले ८०औं स्थानमा रहेर २ मिनेट २७ सेकेण्डले आफ्नै पुरानो राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् ।
- सन्तोषीले पछिल्लो ८ महिनामा पाँच वटा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् र नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी भएकी थिइन्।
२१ मंसिर, काठमाडौं । ओलम्पिक धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी छिन् ।
विश्वकै प्रमुख म्याराथन मध्येको एक भ्यालेन्सिया म्याराथन २०२५ मा आइतबार सन्तोषी श्रेष्ठले २ घण्टा ४० मिनेट २३ सेकेण्डमा म्याराथन (४२.२ कि.मि.) पुरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
विश्वभरका ८ हजार ९२१ महिला एलिट रनरहरु सहभागि रहेको यस म्याराथनमा सन्तोषीले ८०औं स्थान रहँदै दौड पुरा गरिन् ।
उनले २ मिनेट २७ सेकेण्डले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भङ्ग गरिन् ।
उनले गत बैशाखमा लण्डन म्याराथन २ घण्टा ४२ मिनेट ५० सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले लण्डन म्याराथन अघि बंगलादेशको बंगबन्धु म्याराथनमा डेब्यु गर्दै २ घण्टा ४६ मिनेट २६ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
भ्यालेन्सियामा कीर्तिमान बनाएसँगै सन्तोषीले यसवर्ष पछिल्लो ८ महिनाभित्र पाँच वटा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।
सन्तोषीले गत असोजमा दिल्ली हाफ म्याराथनमा हाफ म्याराथनको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । साथै कात्तिकमा साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिप, राँचीमा ५ हजार मिटर र १० हजार मिटर दौडमा पनि दुई कास्य पदक जित्दा दुवैमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
नेपाल युके रनको पहल र प्रवर्दनमा सन्तोषी भ्यालेन्सिया म्याराथनमा सहभागी भएकी हुन् । ग्लोबल स्पोर्ट्स कम्युनिकेसन नेदरल्याण्डको फेलोसिपमा रहेकी सन्तोषीले भ्यालेन्सिया म्याराथनका लागि त्यहीकै अन्तराष्ट्रिय प्रशिक्षकको प्रशिक्षणमा थिइन् । साथै नेपालमा उनी मिसन २०२६ अन्तर्गत पनि प्रशिक्षणमा छिन् ।
प्रतिक्रिया 4