२४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्ने बताएका छन् ।
बुधबारदेखि काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्य समिति बैठकमा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष लिङ्देनले संविधान असफल भइसकेको र यही निर्वाचन प्रणाली कायम राखेर हुने निर्वाचनले मुलुकलाई थप संकटमा धकेल्ने जिकिर गरे ।
उनले यथास्थितिमा निर्वाचन मुलुकको समस्या समाधान गर्ने माध्यम हुनै नसक्ने बताए ।
अध्यक्ष लिङ्देनले जनतामा जान सक्ने र जनताले आशा गरेको पार्टी राप्रपा मात्रै भएको बताए ।
‘असफल भइसकेको संविधानलाई नै टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर २१ फागुनमा निर्वाचन गर्ने निर्णय भएको छ । त्यसले मुलुकलाई निकास दिने र समाधान दिने होइन । त्यसले थप जटिलताहरू पैदा गर्ने र अहिले देखिएको समस्यालाई अलि पर ठेल्ने मात्रै काम गर्नेछ भन्ने हाम्रो धारणा छ,’ उनले भने ।
अध्यक्ष लिङ्देनले मुलुकलाई निकास दिन राजा, राजनीतिक दल र जेनजीबीच समझदारी गरेर अघि बढ्नुपर्ने बताए ।
प्रतिक्रिया 4