News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग परिसंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले डिसेम्बर १३ मा स्वदेशी बजार २०२५ आयोजना गर्ने भएका छन्।
- स्वदेशी बजार २०२५ मा ४०–५० उद्योग र उद्यमले कृषि, खाद्य, वस्त्र, हस्तकला लगायतका उत्पादन प्रदर्शन गर्नेछन्।
- परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्वदेशी उत्पादनको प्रबर्द्धनले राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
२४ मंसिर, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित मेक इन नेपाल–स्वदेशी अभियानले उद्योग विभागको सहयोग एवम् समन्वयमा स्वदेशी बजार २०२५ आयोजना गर्ने भएको छ ।
आगामी डिसेम्बर १३ (२७ मंसिर) शनिबार अन्तर्राष्ट्रिय क्लब, सानेपा, ललितपुरमा सञ्चालन हुने एकदिने प्रदर्शनीले नेपालमै बनेका उत्पादन–नेपालकै पहिचान भन्ने अवधारणामा गुणस्तरीय नेपाली उत्पादनको प्रबर्द्धन, स्वदेशी उद्योग तथा उद्यमहरूको क्षमता अभिवृद्धि, र घरेलु उत्पादकहरूलाई बजार पहुँचमा सहयोग पुर्याउने उद्देश्य लिएको परिसंघले जनाएको छ ।
साना, मझौला तथा घरेलु उद्योगहरूको प्रबर्द्धनका लागि निःशुल्क स्टल सुविधा र सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रर्दशनीमा तीन हजार भन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ ।
प्रर्दशनीमा कृषि तथा एग्रो–प्रविधि, खाद्य तथा प्रशोधित उत्पादन, वस्त्र तथा पहिरन, हस्तकला तथा कला उद्योग, आयुर्वेदिक तथा स्वास्थ्य सेवा सम्बन्धि उत्पादन, सजावट सामग्री, चिया तथा पेय पदार्थ, र अन्य उत्पादन निर्माण सम्बन्धी उद्योगसहित करिब ४०–५० उद्योग तथा उद्यम सहभागी हुने छन् ।
यसमार्फत सहभागी उद्योगलाई आफ्ना उत्पादन तथा सेवा सार्वजनिक रूपमा प्रदर्शन गर्ने, उपभोक्तासँग प्रत्यक्ष रूपमा संवाद एवम अन्तक्र्रिया गर्ने तथा सम्भावित खरीदकर्ता, वितरक, व्यवसायिक साझेदार र सरोकारवालासँग नेटवर्क विस्तारका कार्यक्रम सञ्चालन गरिनेछ ।
परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्वदेशी बजार २०२५ ले नेपाली उद्योग, सीप, नवप्रवर्तन र उद्यमशीलताको पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्ने तथा स्वदेशी उत्पादनको उपभोग प्रबर्द्धनमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । नेपाल सरकारले स्वदेशी उत्पादन तथा उद्योगको प्रबर्द्धन गर्ने नीति लिएसँगै स्वदेशी बजार २०२५ ले नेपाली उद्योगीको मनोबल बढाउने विश्वास लिएको छ ।
प्रतिक्रिया 4