+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

आठौं पटक चुनाव लड्ने विजय गच्छदारको तयारी

कांग्रेस नेता गच्छदारले २०४८ सालयता ७ वटै निर्वाचन लडेका छन् । उनले २०७९ सालमा मात्रै पराजय भोगे । २१ फागुनको निर्वाचनका लागि कांग्रेसको सुनसरी क्षेत्र नम्बर ३ ले गच्छदारसहित तीन जनाको नाम सिफारिस गरेको छ ।

हरि अधिकारी हरि अधिकारी
२०८२ मंसिर २५ गते १२:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस नेता विजयकुमार गच्छदार आठौं पटक प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् ।
  • क्षेत्रीय समितिले गच्छदारसहित तीन जनाको नाम सिफारिस गरेको छ ।
  • गच्छदार बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा मुछिएका छन् र विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका छन्।

२५ मंसिर, विराटनगर । नेपाली कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार फेरि चुनाव लड्ने तयारीमा जुटेका छन् ।

२०४८ सालयता उनले ७ पटक चुनाव लडिसकेका छन् । ७१ वर्षीय गच्छदार आठौं पटक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेका हुन् ।

उनको निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नम्बर ३ हो । संसदीय राजनीतिका चतुर खेलाडी मानिने गच्छदार २०७९ को निर्वाचनमा पहिलो पटक एमाले उम्मेदवार भगवती चौधरीसँग पराजित भएका थिए ।

गच्छदारले क्षेत्र नम्बर ३ बाट आफ्नो एकल नाम सिफारिस गराउन चाहेका थिए । तर, क्षेत्रीय समितिले गच्छदारसहित तीन जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय समितिले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार र ओम थापाको नाम सिफारिस गरेको हो । सिफारिसमा परेका दुहबीका वर्तमान मेयर गच्छदार विजयकुमारको नाताले भतिज पर्छन् ।

नेपाली कांग्रेस जिल्ला समिति सचिव विरेन्द्र साहका अनुसार क्षेत्रीय समितिको सिफारिस जिल्लामा आइसकेको छैन । क्षेत्रबाट गच्छदारको एकल नाम सिफारिसका लागि छलफल भएको बताउँदै उनले तीन जनाको नाम सिफारिस भएर आइनसकेको बताए । ‘विजयकुमार गच्छदारको एकल नाम सिफारिस गर्ने प्रयास भएको थियो, तीन जनाको नाम सिफारिस भएको मौखिक जानकारी छ, लिखित छैन,’ उनले भने, ‘भोलि जिल्ला समिति बैठक बस्दैछ, बैठकमा क्षेत्रीय समितिको सिफारिस पेश हुन्छ ।’

कांग्रेस नेता गच्छदारले २०४८ सालयता ७ वटै निर्वाचन लडेका छन् । ६ वटामा अपराजित रहेका उनले २०७९ सालमा मात्रै पराजय भोगे ।

२०४८ देखि २०७४ सम्म हुने १२ पटक मन्त्री बनेका छन् । २०४८ मा सञ्चार राज्यमन्त्री बनेका थिए । अन्तिम पटक २०७४ सालमा उपप्रधान तथा स्थानीय विकास मन्त्री बनेका थिए । त्यसता उनको राजनीति निरन्तर ओरालो यात्रामा छ ।

गच्छदारले २०४८, २०५१, २०५६ र २०७४ गरी चारवटा निर्वाचन नेपाली कांग्रेसबाट जितेका थिए । मधेश आन्दोलनका बेला कांग्रेस छाडेर उनी तत्कालीन मधेशी जनअधिकार फोरममा लागे । २०६४ को पहिलो संविधानसभा निर्वाचन फोरमबाटै जिते । दोस्रो संविधानसभा निर्वाचनअघि  मधेशी जनअधिकार फोरम फुटाएर आफ्नै नेतृत्वमा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरे ।

२०७० को दोस्रो संविधानसभामा आफ्नै नेतृत्वमा रहेको पार्टीबाट लडेर चुनाव जिते । कांग्रेस छाडेको १० वर्षपछि उनी कांग्रेसमै फर्किए ।

२०७४ सालको निर्वाचन कांग्रेसबाट जिते । यो निर्वाचनमा उनले भगवती चौधरीलाई ३२१ मतले पराजित गरेका थिए । २०७४ सालको निर्वाचनमा गच्छदारले ३८ हजार ९ सय ७२ मतसहित बिजयी हुँदा चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन् । मतगणनाका क्रममा धाँधली गरेको आरोप उनीमाथि लाग्यो ।

आठौं पटक चुनावी मैदानमा उत्रने तयारी गरेका गच्छदार बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा मुछिएका छन् । विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा खेपिरहेका उनी केही समय भूमिगत भएर पनि बसेका थिए । २०७८ असार ३० गते १० लाख धरौटी बुझाएर छुटेपछि सामान्य राजनीतिमा फर्किएका गच्छदारले आफूलाई फसाइएको दाबी गर्दै आएका छन् ।

अन्य क्षेत्रबाट को–को भए सिफारिस ?

सुनसरी क्षेत्र नम्बर १ बाट ८ जनाको नाम सिफारिस भएको छ । केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, कोशी प्रदेश महामन्त्री उमेश थापा, चन्द्रशेखर लामा, निर्मला गुरुङ, माधवबहादुर घिसिङ, रुक्मिना गौतम, विनोदकुमार राई र सन्दीप श्रेष्ठको नाम सिफारिस भएको हो ।

क्षेत्र नम्बर २ बाट राजीव कोइराला, राजीव ढुङ्गाना र सीताराम मेहताको नाम सिफारिस भएको छ । सुनसरी क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, डिल्लीबहादुर कार्की, गफार अन्सारी, अबुल अन्सारी र नवीन श्रेष्ठको नाम सिफारिस भएको छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?