+
एनपीएल २०२५ :

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा

२०८२ मंसिर  २७ गते २३:०० २०८२ मंसिर २७ गते २३:००

पहिलो सिजन पूछारमा रहेको लुम्बिनीले दोस्रो सिजन ‘रोलरकोस्टर जर्नी’ तय गर्दै च्याम्पियन सम्मको यात्रा तय गर्‍यो ।

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग २०७९ को फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको छ।
  • कप्तान रोहित पौडेलले फाइनलमा ह्याट्रिक विकेट लिएर लुम्बिनीको बलिङलाई मजबुत बनाएका थिए र उनले उत्कृष्ट नेपाली खेलाडी र बेस्ट ब्याटरको पुरस्कार जितेका छन्।
  • लुम्बिनीले लिग चरणमा चौथो स्थान हासिल गरी प्लेअफमा प्रवेश गरी लगातार खेल जित्दै उपाधि जितेको थियो भने सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेता रह्यो।

२७ मंसिर, काठमाडौं । २७ दिन, ३२ खेल र लुम्बिनी लायन्स नयाँ च्याम्पियन ।

लिगको सुरुवात देखि फाइनलसम्म उतारचढावपूर्ण यात्रापछि लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ च्याम्पियन बनाएर सम्पन्न भएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा फ्लडलाइटमूनि पहिलो पटक भएको एनपीएलमा फाइनल खेल डे-नाइट भएको थियो । फाइनलमा लुम्बिनीले साविक उपविजेता समेत रहेको सुदूरपश्चिममाथि ६ विकेटको एकपक्षिय जित निकाल्दै उपाधि जितेको हो ।

सुदूरपश्चिमलाई ८५ रनमै अलआउट गरेको लुम्बिनीले ८६ रनको लक्ष्य ९ ओभर खेल्दै पूरा गर्‍यो । यस क्रममा लुम्बिनीले ४ विकेट गुमाएको थियो ।

लिग चरणमा चौथो भएको लुम्बिनीले एनपीएलको च्याम्पियन बन्ने क्रममा सबैभन्दा धेरै १० खेल खेल्यो अनि त्यसमा सुदूरपश्चिमसँगै समान ७ खेलमा जित हात पार्‍यो । लुम्बिनी च्याम्पियन टिम बन्यो । सुदूरपश्चिम फेरि लगातार दोस्रो पटक उपविजेतामै सीमित भयो ।

लुम्बिनीलाई च्याम्पियन बनाएपछि कप्तान रोहित पौडेलले सपना पूरा भएको जस्तै बताए ।

‘ड्रि कम ट्रयु जस्तो अनुभव भइराछ । जुन अवस्थामा हामी थियौं ४ गेम पछि १ जित र ३ हार थियो । त्यहाँबाट यहाँसम्म पुग्न भनेको ठूलो अचिभमेन्ट जस्तो लाग्छ र एनपीएल जित्नु लुम्बिनी लायन्सको लागि ठूलो उपलब्धि हो र टिमवर्कको नतिजा हो’ रोहितले पोष्ट म्याच कन्फेरेन्समा भने ।

अन्तिम देखि च्याम्पियनसम्मको यात्रा

पहिलो सिजन लुम्बिनी लायन्स अन्तिम स्थानमा रहेको थियो । रोहित पौडेलको कप्तानीको लुम्बिनीले लिग चरणमा जम्मा १ खेल मात्र जित्दै २ अंक जोडेको थियो । पहिलो सिजन पूछारमा रहेको लुम्बिनीले दोस्रो सिजन ‘रोलरकोस्टर जर्नी’ तय गर्दै च्याम्पियन सम्मको यात्रा तय गर्‍यो ।

यस क्रममा लुम्बिनीले पहिलो खेलमै चितवन राइनोजलाई पराजित गर्दै सानदार सुरुवात गरेको थियो । तर त्यसपछि लगातार तीन खेलमा पराजित हुँदा लुम्बिनी लिग चरणबाटै बाहिरिने खतरामा पुगेको थियो । कर्णाली याक्सविरुद्ध एकपक्षीय हारपछि लुम्बिनीले सुदूरपश्चिम र काठमान्डु गोर्खाज विरुद्धको खेल गुमाएको थियो । लगातार तीन खेल हार्दा खराब लयमा देखिएको लुम्बिनीका लागि लयमा फर्कनु नै चुनौतीपूर्ण थियो ।

तर पोखरा एभेन्जर्सलाई हराएर दोस्रो जित हात पारेपछि लुम्बिनीले फेरि जितको लय लियो । त्यसपछि भने लुम्बिनीले च्याम्पियन बन्दासम्म खेलेका कुनै पनि खेल गुमाएन । लुम्बिनीले यस्तो गज्जबको पुनरागमन गर्‍यो कि त्यसपछि खेलेका सबै ६ खेल जित्यो । यस क्रममा लुम्बिनीले लिगमा पोखरा एभेन्जर्स, विराटनगर किंग्स र साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लिग चरणमा चौथो भएर प्लेअफमा छनोट भयो ।

सुदूरपश्चिम रोएल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सपछि प्लेअफमा छनोट हुने लुम्बिनी चौथो टोली बनेको थियो । लिगमा चौथो भएर प्लेअफ पुगेको लुम्बिनीका लागि फाइनलसम्म पुग्दै उपाधि जित्नु सामान्य कुरा थिएन । त्यसमा पनि लुम्बिनीले प्लेअफमा सबैभन्दा धेरै ३ खेल खेल्नुपर्‍यो । लिगमा शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगेको सुदूरपश्चिम भन्दा लुम्बिनीले धेरै खेल खेल्नुपर्ने र लगातार खेल्नुपरेको थियो ।

तर पहिलो सिजनमा फाइनल पुगेर पनि उपाधि फेभरेट भएर पराजित भएको सुदूरपश्चिमसामु दोस्रो सिजन फाइनल पुगेर उपाधि जित्ने एक खालको दबाब थियो ।

लुम्बिनी भने पहिलो पटक फाइनल पुगेकोले सुदूरपश्चिम जस्तो दबाब थिएन। उनीहरुलाई हार्नु केही थिएन र फाइनलमा अन्डरडग टिम जस्तो थियो । त्यसैले पनि लुम्बिनीले प्लेअफमा बिना दबाब खेल्दै तीन टिमलाई लगातार पराजित गरेर च्याम्पियन बन्यो ।

फाइनलमा लुम्बिनीको जबरजस्त बलिङ

यस पटक लुम्बिनीको ब्याटिङ भन्दा बलिङ गज्जबले चल्यो । अझ पछिल्ला खेलहरुमा त लुम्बिनीको बलिङ कन्सिस्टेन्सी गज्जबको थियो । विपक्षीलाई स्कोरमा रोक्दा होस या आफ्नो स्कोर डिफेण्ड गर्दै विपक्षीलाई अलआउट गर्न लुम्बिनीका बलरहरुले गज्जबको प्रदर्शन गरे ।

प्लेअफको तीन खेलमा त लुम्बिनीले विपक्षी टिमका ब्याटरहरुलाई खुलेर खेल्न समेत दिएनन् । तीनै खेलमा लुम्बिनीले विपक्षीलाई अलआउट गरेको छ ।

एलिमिनेटरमा काठमान्डुलाई लुम्बिनीले १११ रनमा अलआउट गरेको थियो ।  त्यसपछि लुम्बिनीले क्वालिफायर टु मा बलियो ब्याटिङ लाइनअप भएको विराटनगरलाई ९४ रनमै अलआउट गरिदियो । यस खेलमा लुम्बिनीले १३४ रन स्कोर डिफेण्ड गरेको थियो ।

फाइनलमा पनि लुम्बिनीको उत्कृष्ट बलिङले निरन्तरता पायो । कप्तान रोहित पौडेलको ह्याट्रिक विकेट अनि रुबेन ट्रम्पलम्यान र शेर मल्लको घातक बलिङमा सुदूरपश्चिम ८५ रनमै अलआउट भयो । ट्रम्पलम्यान र शेर मिलेर सुदूरशको टप अर्डर ध्वस्त पारिसकेका थिए ।

सुदूरपश्चिमजस्तो टिमलाई ८५ रनमा रोक्न सोचेभन्दा राम्रो बलिङ भएको रोहितले बताए । रोहितले पार्ट टाइम बलिङ गर्दै विकेट लिइरहेका थिए । फाइनलमा भने उनले लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गर्दा सुदूरको ब्याटिङ लाइन धरासयी नै बन्यो । जसको नतिजा सुदूरपश्चिम ५ बल अघि नै ८५ रनमा अलआउट भयो ।

‘एक्जुकेट त्यो भन्दा बढी राम्रो भाको हो । सुदूरपश्चिम ८५ रनमा अलआउट गर्छौं भन्ने थिएन । १४०-१५० मा रोक्यौं भने सहज हुन्छ भन्ने थियो । तर जुन हिसावले शेर र रुबेनले बलिङ गर्‍यो । मैले पनि गरेँ । आज सबै कुरा राम्रो भयो जस्तो लाग्छ’ रोहितले भने ।

यस्तै ह्याट्रिक लिने कुरा आफूले सपनामा पनि सोच्न नसकेको र दबाबले गर्दा विपक्षीको विकेट गएको हुन सक्ने रोहितले बताए । ‘सोचेको थिएन ह्याट्रिक हुन्छ भनेर । ड्रिममा पनि सोच्न सक्दिन ह्याट्रिक हुन्छ भनेर । आज मेरो दिन राम्रो छ जस्तो लाग्यो,’ रोहितले हाँसोसहित भने, ‘टुर्नामेन्ट राम्रो भयो । विदेशी खेलाडीले राम्रो खेले । रुबेन, जेजेले राम्रो गर्‍यो । डिकवेलाले राम्रो गरिराछ । शेर अभिशेष तिलक सबैले राम्रो खेले । जोरा अनि दिलिप दाई । सबैले राम्रो खेले ।’

सुदूरपश्चिमले बनाएको ८५ रन एनपीएलको संयुक्त रुपमा चौथो कम स्कोर हो भने एनपीएल फाइनलको कम योगफल हो ।

सुदूरपश्चिमका मुख्य प्रशिक्षक जगत टमाटाले पनि आझ आफूहरुको दिन नभएको बताए । ‘आज हामीले राम्रो खेल्न सकेनौँ । हामरो ब्याड डे थियो । विपक्षी टिमले राम्रो खेल्यो । बलरहरुले राम्रो गरे ।’ टमाटाले पोष्ट म्याच कन्फेरेन्समा भने । ‘हामीले १४०-१५० को लक्ष्य बनाएर आएका थियौं तर त्यो पूरा भएन ।’

रोहितले ११औं ओभरको अन्तिम तीन बलमा सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरी, दिपक बोहरा र  पुनित मेहरालाई लगातार आउट गर्दै ह्याट्रिक विकेट लिएका थिए ।

उनले ४ ओभर स्पेलमा जम्मा १२ रन खर्चिए । रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै शेर मल्ले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए ।

सुदूरपश्चिमका लागि ओपनिङ गरेका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । उनले एक छेउबाट विकेट जाँदा अर्को छेउ सम्हाल्दै इनिङ्स बिल्ड गरेका थिए । चौथो विकेटका लागि कप्तान दीपेन्द्रसँग इशानले गरेको २५ रनको साझेदारी नै सबैभन्दा ठूलो साझेदारी बन्यो । इशानबाहेक कप्तान दीपेन्द्रले १३ तथा हर्मित सिंह र स्कट कुगेलेइनले समान १० रन जोडे । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

८६ रनको सामान्य लक्ष्य पछ्याउँदै लुम्बिनीका ओपनर दिनेश अधिकारीले विष्फोटक ब्याटिङ नै गरे । पहिलो ओभरमै सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीलाई दिनेशले ४ छक्का प्रहार गरेपछि लुम्बिनीले २७ रन जोडेको थियो । त्यसबाटै लुम्बिनी जित नजिक पुगेको थियो ।

दिनेशले १३ बल मात्र खेल्दै १ चौका र ५ छक्का मदतमा ४२ रन बनाए । दिनेशले पहिलो विकेटका लागि डार्शी सर्टसँग ४ ओभरमै ५८ रनको साझेदारी गरेर जितको आधार तयार गरिसकेका थिए ।

तर सुदूरका हेमन्त धामीले पाँचौ ओभरमा डार्सी शर्ट र दिनेश दुवैलाई आउट गरेपछि लुम्बिनीले केही मिहिनेत गर्नुपरेको थियो । शर्टले १४ बलमा १३ रन बनाए ।

रोहितले निरोशन डिकवेलालाई वान डाउनमा पठाएर आफू चौथो नम्बरमा ब्याटिङ गरे । रोहितले १२ बलमा २ चौका र १ छक्कासिहत १६ रन जोडे । गेम फिनिस गर्ने धुनमा रोहित अविनाश बोहराको बलमा दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट भए । त्यसपछि आएका सन्दिप जोरा खाता नखोली आउट भए । डिकवेलाले १२ बलमा अवजित ११ रन जोडे । दिलिप नाथले एक बल खेल्दै विजयी रन जोडे ।

लुम्बिनीले खेलेको १० खेलको नतिजा

 

चितवन राइनोज विरुद्ध ६ विकेटले विजयी

कर्णाली याक्स विरुद्ध ९ विकेटले पराजित

काठमान्डु गोर्खाज विरुद्ध २२ रनले पराजित

सुदूरपश्चिम रोएल्स विरुद्ध ७ विकेटले पराजित

पोखरा एभेन्जर्स विरुद्ध ३ विकेटले विजयी

विराटनगर किंग्स विरुद्ध ५ विकेटले विजयी

जनकपुर बोल्ट्स विरुद्ध ४ विकेटले विजयी

एलिमिनेटर

काठमान्ड् गोर्खाज विरुद्ध ४ विकेटले विजयी

क्वालिफायर २

विराटनगर किंग्स विरुद्ध ४० रनले विजयी

फाइनल

सुदूरपश्चिम रोएल्स विरुद्ध ६ विकेटले विजयी

रोहितलाई कारदेखि बाइकसम्म पुरस्कार

च्याम्पियन लुम्बिनी टिमले व्यक्तिगत पुरस्कारमा पनि वर्चस्व जमायो । प्रतियोगिता सर्वोत्कृष्ट नेपाली देखि विदेशी खेलाडीसम्मको अवार्ड लुम्बिनीका खेलाडीले पाए ।

त्यसका कप्तान रोहित नै अघि रहे । ब्याटिङमा २७६ रन बनाउनुका साथै बलिङमा १० विकेट पनि लिएका रोहित उत्कृष्ट नेपाली खेलाडी बन्दे जेइको जे फाइभ कार जित्न सफल भए । यस्तै उनी बेस्ट ब्याटर समेत घोषित भए । उनले पल्सर मोटरबाइक पुरस्कार पनि जिते ।

रोहित सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा रहँदै नेपाली खेलाडी मध्ये धेरै रन बनाउने खेलाडीको सूचीमा अघि रहे ।

रोहितले कार र बाइक पाएपछि आफ्नो बुबा आमा परिवारलाई कारमा राखेर घुमाएका थिए । आफ्नो लागि आज सपना पूरा भएको क्षण भएको उनले सुनाए । ‘च्याम्पियन भयौँ । कार र बाइक पनि पाएँ । परिवारलाई साथ राखेर घुमाएँ । यो खुशीको क्षण थियो’ उनले भने ।

यसैगरी लुम्बिनीका नामिबियन बलर रुबेन ट्रम्पलम्यान प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ लाखको चेक पाए । फाइनलमा पनि उनी ‘प्लेअर अफ दि म्याच’ घोषित भएका थिए । उनले लुम्बिनीका लागि १० खेल खेल्दा १५ विकेट लिए । उनी सर्वाधिक विकेट लिनेमा चौथो स्थानमा थिए भने ब्याटिङमा ६५ रन बनाए ।

यस्तै लुम्बिनीकै शेर मल्ल इमर्जिङ प्लेअर घोषित हुँदै पल्सर मोटरबाइक प्राप्त गरे । उनले विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिमका अविनाश बोहरासँगै संयुक्त रुपमा सर्वाधिक १७ विकेट लिएका थिए ।

सन्दीप बेस्ट बलर घोषित हुँदै पल्सर मोटरबाइक जित्न सफल भए । अविनाश बोहराले भने इनर्जेटिक प्लेअर घोषित हुँदै नगद २ लाखको चेक पाए ।

लुम्बिनी लायन्स
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय