News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले बनेपामा निर्माण गर्न लागेको आधुनिक इन्डोर फिल्म स्टुडियोका लागि दोस्रो चरणको बोलपत्र प्रक्रियामा ११ कम्पनी प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका छन्।
- योग्य कम्पनीको आर्थिक प्रस्ताव पुस ७ गते दिउँसो २ बजे सार्वजनिक रूपमा खोलिने बोर्डले जनाएको छ।
- बोर्डले १६ करोड ४९ लाख ८७ हजार १ सय बयानब्बे रुपैयाँ लागत अनुमानसहित राष्ट्रिय प्रतिस्पर्धात्मक ई–बिडिङ प्रणालीमार्फत टेन्डर आह्वान गरेको थियो।
काठमाडौं । चलचित्र विकास बोर्डले बनेपामा निर्माण गर्न लागेको आधुनिक इन्डोर फिल्म स्टुडियोका लागि आह्वान गरिएको दोस्रो चरणको बोलपत्र प्रक्रियाअन्तर्गत ११ वटा निर्माण कम्पनी प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका छन् ।
बोर्डका अनुसार योग्य ठहरिएका कम्पनीको आर्थिक प्रस्ताव पुस ७ गते दिउँसो २ बजे सार्वजनिक रूपमा खोलिनेछ ।
नेपाली चलचित्र उद्योगका लागि दीर्घकालीन पूर्वाधार विकास गर्ने उद्देश्यसहित अघि बढाइएको यस परियोजनाका लागि बोर्डले १६ करोड ४९ लाख ८७ हजार १ सय बयानब्बे रुपैया लागत अनुमानसहित राष्ट्रिय प्रतिस्पर्धात्मक ई–बिडिङ प्रणालीमार्फत टेन्डर आह्वान गरेको थियो ।
प्राप्त बोलपत्रमध्ये आवश्यक योग्यता, अनुभव, प्राविधिक क्षमता, मानव स्रोत तथा वित्तीय विश्वसनीयताको आधारमा विस्तृत मूल्याङ्कन गरी ११ कम्पनी प्राविधिक चरणमा छनोट भएका हुन् ।
प्राविधिक रूपमा योग्य ठहरिएका कम्पनीको आर्थिक प्रस्ताव बोर्डको कार्यालयमा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ ज (उपनियम ५) बमोजिम सार्वजनिक रूपमा खोलिने बोर्डले जनाएको छ ।
आर्थिक प्रस्तावको मूल्याङ्कनपछि सबैभन्दा कम बोलकबोल गर्ने निर्माण कम्पनीसँग सम्झौता गरी १ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
बनेपामा निर्माण हुने यो इन्डोर फिल्म स्टुडियो नेपाली चलचित्र उद्योगका लागि महत्वपूर्ण र रणनीतिक पूर्वाधारका रूपमा हेरिएको छ । स्टुडियो सञ्चालनमा आएपछि सेट निर्माण, इन्डोर छायांकन, मौसम–निरपेक्ष सुटिङ तथा आधुनिक प्राविधिक सुविधा स्वदेशमै उपलब्ध हुने अपेक्षा गरिएको छ ।
यसले चलचित्र निर्माण लागत घटाउने, समय बचत गर्ने र विदेशी स्टुडियोमा निर्भरता कम गर्ने बोर्डको विश्वास छ ।
बोर्ड अध्यक्ष दिनेश डिसीका अनुसार, “इन्डोर स्टुडियो सञ्चालनमा आएपछि नेपाली चलचित्रसँगै टेलिभिजन सिरियल, वेब–सिरिज, विज्ञापन तथा अन्तर्राष्ट्रिय सह-निर्माणका लागि समेत सहज वातावरण सिर्जना हुनेछ ।’
बोर्डले यस परियोजनालाई नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने दिशातर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ ।
प्रतिक्रिया 4