+
+
Shares

राति मतदान हुँदा अप्रिय घटना नहोस् भन्ने कामना छ: योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १६:१३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सचिव योगेश भट्टराईले नेतृत्व चयनका लागि हुने मतदान ५ बजेसम्म हुनुपर्ने भए पनि ढिलाइ भएको भन्दै चिन्ता व्यक्त गरे।
  • भट्टराईले मतदान राति हुँदा अप्रिय घटना हुने आशंका व्यक्त गर्दै कुनै अप्रिय घटना नहोस् भन्ने कामना पनि गरे।
  • उनले निर्वाचन आयोगले मतदान आजै सक्नुपर्ने बाध्यता भनेको र पार्टी नेतृत्व सहज हस्तान्तरण नहुँदा निर्वाचन प्रक्रियामा जानु परेको बताए।

पुस १, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेतृत्व चयनका लागि हुने मतदान ५ बजेसम्म हुनुपर्ने भए पनि ढिलाइ भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले मतदान राति हुँदा अप्रिय घटना हुने आशंका गरेका हुन्। त्यस्तै उनले अप्रिय घटना नहोस् भन्ने कामना पनि गरे।

‘राति हुँदा अप्रिय घटना हुन्छ कि भन्ने हाम्रो आशङ्का हो। यद्यपि यसमा हामी सचेत छौँ। तर, बाध्यता छ,’ उनले भने, ‘कुनै अप्रिय घटना नघटी यो सकियोस् भन्ने मेरो कामना छ। त्यो हुन्छ भन्ने विश्वास पनि छ।’

भट्टराईले निर्वाचन आयोगले‍ अपराह्न ५ बजेसम्म मतदान सुरु गर्न ताकेता दिए पनि यो अहिले सम्भव नहुने अवस्थामा पुगेको बताए।

‘निर्वाचन आयोगको भनाइ अनुसार ५ बजे मतदान हुने समय भनिएको छ। तर यो हुने देखिएन। अब राति मतदान सुरु हुने कुरा छ,’ उनले थपे, ‘अर्कोतर्फ, यो ठाउँ आजको लागि मात्र हाम्रो छ। भोलिबाट यो अरु कसैको हो। त्यसैले आजै सक्नुपर्ने बाध्यता रहेको निर्वाचन आयोगले हामीलाई भनेको छ।’

उनले पार्टी नेतृत्व हस्तान्तरण सहज बनाउन प्रयास गरे पनि सम्भव नभएपछि निर्वाचन प्रक्रियामा जानु परेको बताए।

‘पार्टीमा नेतृत्वको सहज हस्तान्तरण गरौँ भन्ने हाम्रो पहल थियो। निर्वाचनअघिको प्रकृयाबाट त्यो सम्भव भएन। त्यसैले अब निर्वाचनबाटै त्यो सम्भव हुन्छ भन्ने लाग्छ,’ भट्टराईले थपे, ‘मैले धेरैको कुरा सुनेको छु। धेरैसँग हात मिलाएको छु। जतिको कुरा सुनेको छु, उहाँहरूले नवीकृत नेकपा एमाले खोजिरहेको बुझेको छु।’

उनले १०औं अधिवेशनपछि पार्टी नेताको मुख्यालय र काठमाडौँ केन्द्रित भएको भन्दै अब भने जनतातिर फर्किन ढिलाइ भइसकेको पनि बताए। नेताहरू जनता केन्द्रित भएनन् भने गत भदौ २३ र २४ मा भएजस्तै घटना फेरि घट्ने भट्टराईको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?