२ पुस, विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या भएको घटनाले दुई छिमेकी परिवारको जीवन तहसनहस बनाएको छ ।
स्थानीय नवीन गौतमको परिवारले १३ वर्षीया छोरी अंशुलाई गुमाएको छ । अंशुको हत्या अभियोगमा पक्राउ परेका छिमेकी पदमबहादुर अधिकारी परिवारका सदस्यहरु भने थातथलोबाट विस्थापित भएका छन् । ५९ वर्षीय पदमबहादुर अधिकारीले अंशुको हत्या स्वीकार गरेपछि उनको परिवारले गाउँ छाडेको हो ।
असोज २१ गते हराएकी अंशुको शव कात्तिक ७ गते टाउको र शरीर अलग भएको अवस्थामा जंगलमा फेला परेको थियो । प्रहरीले मंसिर १८ गते अंशुको हत्या आरोपमा पदमबहादुरलाई पक्राउ गरेको थियो । मंसिर २१ गते जग (जस्टिस फर अंशु गौतम) अपरेसन मार्फत बलात्कारपछि हत्या भएको निष्कर्षसहित अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको थियो ।
अधिकारीको भनाइ अनुसार प्रहरी स्रोतले भन्यो, ‘घाँस काट्न सघाए पैसा दिन्छु भन्दै फकाएर जंगल लगेर बलात्कार गरेका थिए । पोल खुल्ने डरले घाँटी थिचेर हत्या गरेका थिए । त्यसपछि हँसियाले घाँटी रेटेका थिए । घटनापछि उनी घाँस लिएर घर फर्किएका थिए ।
अधिकारीले हत्या गरेको स्वीकार गरेपछि गाउँमा आक्रोश फैलिएको थियो । बालिका हत्यापछि गाउँको सामाजिक प्रोफाइल तयार गरेको प्रहरीले तीन सय जनासँग सोधपुछ र बयान लिएको थियो ।
अधिकारीका कारण छिमेकी विमल गौतमले छोरी गुमाएको र गाउँलेले दु:ख पाएको भन्दै उत्तेजित भिडले पदमबहादुरको घरमा तोडफोडसमेत गरेको थियो ।
घरमुलीले गल्ती गरे, सजाय परिवारका सदस्यले पाए
सुरक्षा खतरा बढेपछि पदमबहादुरकी श्रीमती, छोरा र छोरीले गाउँ छाडेर आफन्तकोमा पुगेका छन् । अधिकारीका तीन छोरी र एक छोरा छन् । दुईवटी छोरीको बिहे भइसकेको छ । कान्छी छोरी काठमाडौं बस्दै आएकी थिइन् । घरमा माइली छोरी, छोरा र आमा थिए । छोरा पनि जबरजस्ती करणी आशयको मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरेर कात्तिक १८ गते मात्रै जेलमुक्त भएका थिए ।
लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलाका अनुसार पदमबहादुर पक्राउ परेलगतै परिवार गाउँबाट विस्थापित भएको हो । कहाँ गएर बसिरहेका छन् भन्रे जानकारी नभएको उनले बताइन् । ‘आरोपीले गल्ती गरे त्यसको सजाय परिवारले पाउनु हुँदैन’, उनले भनिन्, ‘अवस्था सामान्य बन्दै गएपछि परिवारलाई पुनर्स्थापित गराउने प्रयास गर्छाैं ।’
प्रहरी स्रोतका अनुसार आमा–छोरी विराटचोकमा आफन्तको घरमा आएका छन् । छोरा भने झापामा आफन्तको घरमा बस्दै आएका छन् । परिवारमाथि नै आक्रमणको जोखिम बढेपछि पदमबहादुरको परिवार घरभित्रका सामान घरमै छाडेर विस्थापित भएको हो ।
पीडक अधिकारी र पीडित गौतमको घरको आँगन जोडिएको छ । २०४३ सालको बाढीपीडितका रूपमा दुवै परिवार एकैसाथ लेटाङ–२ मा बसोबास गर्न आएका थिए । दुवै परिवारको आर्थिक अवस्था कमजोर छ ।
पीडित परिवारलाई सहयोग अभियान
हत्या आरोपी पक्राउ परेपछि अंशुको दाहसंस्कार गरेर उनको परिवारले काजकिरिया गरिरहेको छ । छोरीको काजकिरिया गरिरहेको अंशुको परिवारको अवस्था कमजोर छ । कागती बेचेर दैनिक गुजारा चलाउने उनको परिवारलाई किरिया खर्च जुटाउनसमेत समस्या थियो । आर्थिक अभाव भएपछि स्थानीयले सहयोग संकलन अभियान सञ्चालन गरेका छन् ।
अभियान मार्फत पीडित परिवारलाई आर्थिक सहयोग जुटेको अभियानमा सक्रिय राममणी बरालले जानकारी दिए । सामाजिक सञ्जालमा अंशुका बुबाको खाता नम्बर राखेर सहयोग संकलनका लागि आह्वान गरिएको उनले बताए ।
लेटाङ नगरपालिका उपप्रमुख निरौलाका अनुसार स्थानीय र संघसंस्थाले पनि पीडित परिवारका लागि सहयोग गरेको छ ।
प्रतिक्रिया 4