News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व फुटबलका महान् खेलाडी मेस्सी ‘द गोट टुर इण्डिया २०२५’ अन्तर्गत भारतको चार शहरमा तीन दिन भ्रमण गरी सोमबार फर्किएका छन्।
- मेस्सीले भारतको जामनगरमा रहेको वनतारा संरक्षण केन्द्रमा परम्परागत आरती गर्दै सनातन धर्मको सम्मान गरेका छन्।
विश्व फुटबलका महान् खेलाडी मेस्सी यसै साता भारत भ्रमणमा आएर । ‘द गोट टुर इण्डिया २०२५’ अन्तर्गत तीन दिन भ्रमणका लागि आएका उनी सोमबार फर्किएका छन् । भारत भ्रमणमा रहँदा उनले विदेशी संस्कृतिप्रति देखाएको सम्मानले सामाजिक सञ्जालमा यति बेला तहल्का पिटेको छ ।
हालै सार्वजनिक भएको तस्बिरमा मेस्सीले वनतारामा परम्परागत आरती गर्दै प्रार्थना गरेको दृश्यले विश्वभरका फ्यानको ध्यान खिचेको छ । उनका फ्यानहरूले केवल खेलकूदका लागि मात्र नभएर मानवता र संस्कृतिप्रति सम्मान देखाएको भन्दै उनको प्रशंसा गरिरहेका छन् ।

अर्जेन्टिनाका यी सुपरस्टार १३ डिसेम्बरमा भारत आएका थिए ।
पहिले २०११ को सेप्टेम्बरमा पहिलो पटक भारत आउँदा उनले कोलकातामा भेनेजुएलासँग मैत्रीपूर्ण खेल खेलेका थिए । यसपटक भने कोलकाता, हैदराबाद, मुम्बई र दिल्ली गरी चार शहरमा उनको सयर भयो ।
उनको कोलकाता भ्रमण विवादित पनि बन्यो । शनिबार मेस्सी कोलकाताको साल्ट लेक स्टेडियममा जाँदा उनलाई देख्न नपाएको भन्दै प्रशंसकहरूले तोडफोड गरे । मेस्सी फर्किए पनि यस घटनाले भारतको पश्चिम बंगालको राजनीति नै तरंगित बनिरहेको छ ।
तर भ्रमणको सबैभन्दा रोचक र हृदयस्पर्शी भाग भने जामनगरको वनतारा भ्रमण रह्यो, जहाँ मेस्सीले भारतीय संस्कृति र सनातन धर्मको सम्मान गर्दै परम्परागत अनुष्ठानमा भाग लिए । विश्वका ठूला उद्योगपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको निमन्त्रणामा भ्रमणको अन्तिमतिर उनी आफ्ना साथीहरू लुइस सुआरेज र रोद्रिगो डे पलसहित जामनगर पुगे।

वनतारा विश्वको सबैभन्दा ठूलो वन्यजन्तु उद्धार, पुनर्वास र संरक्षण केन्द्र हो, जसलाई अनन्त अम्बानीले स्थापना गरेका हुन् । ३ हजार एकडमा फैलिएको यो केन्द्रमा सिंह, बाघ, हात्ती, चितुवा जस्ता जनावरहरूको संरक्षण गरिन्छ । उनीहरूलाई परम्परागत स्वागत गरियो, लोक संगीत, फूलको वर्षा र आरती भयो ।

वनतारामा सबै काम सनातन धर्म अनुसार देवताहरूको आशीर्वाद लिएर सुरु हुने गर्छ । मेस्सीले पनि यो परम्परालाई सम्मान गर्दै मन्दिरमा महाआरती गरे । उनले अम्बे माता पूजा, गणेश पूजा, हनुमान पूजा र शिव अभिषेकमा भाग लिए । विशेषगरी हनुमानजीको मूर्तिअगाडि माथि टेकेर आशीर्वाद लिएको दृश्य अत्यन्त मार्मिक थियो ।

मेस्सीले पूजा थाली समातेर आरती गरे, टीका लगाए र शान्तिपूर्वक प्रार्थना गरे । धर्मले फरक पारे पनि संस्कृति र परम्पराको आदर गर्नु मानवताको सबैभन्दा ठूलो गुण हो भन्ने कुरा मेस्सीले देखाएको सम्मानले विश्वलाई सन्देश दियो ।

उनले पूजामा भाग मात्र लिएनन्, वनताराको संरक्षण कार्यको पनि मुक्तकण्ठले प्रशंसा गरे। उनी जनावरहरूको केयर सेन्टर घुमे, सिंह–बाघसँग नजिकबाट भेटे र कर्मचारीहरूसँग कुराकानी गरे ।
मेस्सीले स्पेनिसमा भने, ‘वनताराले जनावरहरूका लागि जुन काम गरिरहेको छ, यो साँच्चै सुन्दर छ । उनीहरूलाई बचाउने, हेरचाह गर्ने तरिका प्रभावशाली छ । हामीले यहाँ अद्भुत समय बितायौँ ।’
चार शहरको भ्रमणमा लाखौँ फ्यानहरूले उनलाई स्वागत गरे । दिल्ली, मुम्बई, हैदराबाद र कोलकातामा उनी जहाँ गए, भीड उत्तिकै थियो ।
प्रतिक्रिया 4