+
+
Shares

कांग्रेस उम्मेदवार सिफारिस : समय घर्कियो, दुई दर्जन क्षेत्रले पठाएनन् नाम

केन्द्रले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरूबाट आकांक्षीको नाम केन्द्रमा बुझाउन समय तोके पनि विभिन्न जिल्लाका दुई दर्जन क्षेत्रबाट नाम सिफारिस भएको छैन ।

केशव सावद केशव सावद
२०८२ पुष २ गते २१:५३
Listen News
0:00
0:30
🔊

२ पुस, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि उम्मेदवारको नाम पठाउन मंसिर मसान्तको डेडलाइन तोकेको थियो । तर केही जिल्लाहरूले अझै आकांक्षीको नाम सिफारिस गर्न सकेका छैनन् ।

केन्द्रले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरूबाट आकांक्षीको नाम केन्द्रमा बुझाउन समय तोके पनि विभिन्न जिल्लाका दुई दर्जन क्षेत्रबाट नाम सिफारिस भएको छैन ।

तोकिएको मिति भित्र उम्मेदवार सिफारिस नगर्नेमा कोशी प्रदेशको खोटाङ, मधेश प्रदेशको सप्तरी, महोत्तरी, रौतहट र बारा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत तथा लुम्बिनी प्रदेशका गुल्मी र अर्घाखाँचीबाट उम्मेदवारको नाम सिफारिस भएको छैन ।

मधेश प्रदेशका सप्तरी र महोत्तरीका कुनै पनि क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छैनन् । यी जिल्लाहरूमा चार-चार निर्वाचन क्षेत्र छन् । चार-चार निर्वाचन क्षेत्र भएका रौतहटबाट १, ३ र ४ तथा बाराबाट १ र २ नम्बर क्षेत्रले पनि उम्मेदवार सिफारिस गरेका छैनन् ।

यस्तै दुई-दुई क्षेत्र भएका मकवानपुर र गुल्मीका क्षेत्रीय कार्यसमितिहरू तथा एक मात्र निर्वाचन क्षेत्र भएका मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, अर्घाखाँचीका जिल्ला कार्यसमितिबाट आकांक्षीको नाम सिफारिस भएको छैन ।

दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका क्षेत्रीय कार्यसमितिहरू र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला कार्यसमितिहरूले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका आकांक्षीहरूको नाम नपठाएपछि प्रदेश कार्यसमितिलाई केन्द्रले तोकेको मंसिर मसान्तको डेडलाइन सकिएको छ ।

अघिल्लो निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै अनुशासनका कारबाहीमा परेका जिल्ला नेतृत्वका कारणदेखि कांग्रेसका देखिँदै आएको गुटगत राजनीतिका कारण सहमति नजुट्दा केन्द्रको समयसीमा सकिएको हो ।

गत निर्वाचनमा पार्टीले अघि सारेका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा जिल्ला सभापति विष्णुकुमार राई अनुशासनको कारबाहीमा परेपछि खोटाङबाट उम्मेदवार सिफारिस हुन ढिलाइ भएको हो ।

‘म खोटाङको सभापति हुँ । ममाथि अनुशासनको कारबाही गरिएको छ । पार्टीले कसैलाई कार्यवाहक पनि दिएको छैन,’ राईले भने, ‘न सभापति छ, न कार्यवाहक नै छ । कसले जिल्लाको नेतृत्व गर्ने भन्ने अन्योलले सिफारिसमा ढिलाइ भएको हो ।’

कारबाहीमा परेका जिल्ला सभापति राईले केही दिनमै आफूमाथिको कारबाही फुकुवा हुने र त्यसपछि मात्रै खोटाङबाट उम्मेदवार सिफारिस हुने प्रतिक्रिया दिए । ‘फुकुवा तीन’चार दिनमा हुनेवाला छ । त्यसपछि खोटाङबाट उम्मेदवारहरू सिफारिस हुन्छन्,’ उनले भने ।

कांग्रेस सप्तरीका सभापति रामदेव शाहले आज (बुधबार) क्षेत्रीय कार्यसमितिहरूबाट नाम आउने र जिल्ला कार्यसमितिले आजै प्रदेश कार्यसमितिसमक्ष सिफारिस गर्ने प्रतिक्रिया दिए । ‘एक-दुई क्षेत्रको बाँकी थियो । आज नामहरू सिफारिस भएर आउँछन् । आजै सिफारिस गर्दैछु ।’

सभापति शाहले आन्तरिक विवादका कारण सप्तरीबाट आकांक्षीहरूको नाम सिफारिसमा ढिलाइ भएको बताए । ‘नाम आउन ढिलाइ भयो । विवादले ढिलाइ भएको हो,’ उनले भने, ‘कांग्रेस हो नि, विवाद त भइहाल्छ, आकांक्षीहरू मेरो नाम सिफारिस गर भन्छन् ।’

कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुनले जिल्लामा सहमति नहुँदा गुल्मी र अर्घाखाँचीबाट आकांक्षीहरूको सिफारिस हुन नसकेको जानकारी आफूले पाएको प्रतिक्रया दिए । ‘दुई जिल्लामा सहमति हुन नसकेर सिफारिस नभएको भन्ने कुरा आएको छ,’ उनले भने ।

प्रदेश सभापति पुनले बर्दियाका दुवै निर्वाचन क्षेत्रबाट सिफारिस भएका आकांक्षीको नाम जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिलाई बुझाउन बाँकी रहेको पनि जानकारी दिए ।

कांग्रेसले सातवटै प्रदेश कार्यसमितिलाई प्रत्यक्षतर्फ जिल्ला कार्यसमितिबाट प्राप्त नाममा आफ्नो रायसमेत उल्लेख गरी मंसिर मसान्तभित्र केन्द्रमा पठाउन परिपत्रमार्फत निर्देशन दिएको थियो ।

यस्तै प्रदेश कार्यसमितिहरूलाई आगामी ११ माघमा सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न विधान बमोजिमको काम गर्न भनिएको थियो । राष्ट्रिय सभा निर्वाचनका लागि पनि डेडलाइन मंसिर मसान्त तोकिएको थियो ।

कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरूलाई प्रत्यक्षका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम २३ मंसिरभित्र जिल्ला कार्यसमितिमा पठाउन भनेको थियो ।

पार्टीले गरेको परिपत्रअनुसार एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका नाममा आफ्नो रायसमेत उल्लेख गरी जिल्ला कार्यसमितिलाई २५ मंसिरभित्र प्रदेश कार्यसमितिमा पठाउनुपर्ने उल्लेख थियो ।

यस्तै एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रक्रिया पुर्‍याएर बैठक बसी आफ्नो रायसमेत उल्लेख गरेर जिल्ला कार्यसमितिले २५ मंसिरभित्र उम्मेदवारको नाम प्रदेश कार्यसमितिमा पठाउनुपर्ने परिपत्रमा भनिएको थियो ।

परिपत्रमा मातहतलाई ‘प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न’ स्पष्ट निर्देशन गरिएको थियो ।

तर, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिहरू धमाधम केन्द्रले निर्धारण गरेको मापदण्ड मिचेर उम्मेदवार सिफारिस गरिरहेका छन् । केन्द्रले प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जनालाई सिफारिस गर्न भने पनि कतै नेताहरू एकल सिफारिसमा परेका छन् भने कुनै क्षेत्रले तीनभन्दा बढी आकांक्षीको नाम सिफारिस गरेका छन् ।

समानुपातिकतर्फका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न केन्द्रले दिएको निर्देशन क्षेत्रीय कार्यसमितिहरूले उल्लंघन गरेका छन् ।

कांग्रेसले गरेको परिपत्रमा ‘उम्मेदवारको नाम सिफारिस गर्दा विशेष ध्यान दिनुपर्ने विषयहरू’ उपशीर्षक दिएर १० बुँदे निर्देशन उल्लेख थियो । जसको पाँचौं बुँदामा भनिएको छ, ‘तोकिएको उम्मेदवारको संख्याभन्दा बढी नाम सिफारिस गर्न पाइने छैन ।’ तर क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिहरूले केन्द्रको मापदण्ड मिचेर उम्मेदवार सिफारिस गरेका छन् ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?