+
+
Shares

गोकुल बास्कोटा एकल उम्मेदवार सिफारिस भएपछि काभ्रे एमालेभित्र विवाद

निर्वाचन क्षेत्रका चार पालिका अध्यक्षको असहमति

कपिल कोइराला कपिल कोइराला
२०८२ पुष २० गते २२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रे क्षेत्र नम्बर २ मा एमालेले गोकुल बास्कोटालाई एकल उम्मेदवार सिफारिस गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ।
  • बैठकमा संयोजक कृष्णप्रसाद दाहालले निर्णय नगरी माइन्यूट लिएर बाहिरिँदा अन्य नेताहरूले विधिसम्मत सिफारिसको माग गरेका थिए।
  • काभ्रे क्षेत्र नम्बर २ का चार पालिका अध्यक्षहरूले सर्वसम्मत नभएको भन्दै गोकुल बास्कोटाको सिफारिसमा असहमति जनाएका छन्।

२० पुस, काभ्रेपलाञ्चोक । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा गोकुल बास्कोटा एकल उम्मेदवार सिफारिस भएपछि एमालेभित्र विवाद सिर्जना भएको छ ।

आइतबार नेकपा एमाले काभ्रे क्षेत्र नम्बर २ मा उम्मेदवार छनोटका लागि निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठक बसेको थियो ।

बैठकमा उम्मेदवारको रूपमा केन्द्रीय सदस्य गोकुल बास्कोटा, अशोक व्यान्जुसहित जिल्लाका नेताहरू कुमार थापा, भीम न्यौपाने हरिशरण दाहाल, विमला शर्मा र रजनी बैदारको नाम आएको थियो ।

सहभागीहरूले केन्द्रले पठाएको विधिअनुसार उम्मेदवार छान्न लामो समय छलफल गरे । अन्तिममा प्रतिनिधिसभा क्षेत्र नम्बर २ कमिटीका संयोजक कृष्णप्रसाद दाहालले अधिकांशले नाम लिएको भन्दै गोकुल बास्कोटा सर्वसम्मत सिफारिस भएको घोषणा गर्दै बाहिरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

 ती नेताले भने, ‘बैठकमा उम्मेदवारमा नाम उठेका व्यक्तिहरूले विधिसम्मत नाम पठाउन माग गरेका थिए । एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न आयोजित बैठकमा संयोजक दाहाल नै निर्णयमा नपुग्दै माइन्यूट लिएर बैठक कक्षबाट हिड्न लागेपछि केहीबेर रस्साकस्सी भएको थियो ।’

बैठकमा कुनै पनि निर्णय नभएको बताउँदै उम्मेदवार भनेर प्रस्तुत गरिएको व्यक्तिहरूको विषयमा छलफल हुँदाहुँदै संयोजकले माइन्यूट बोकेर भागेको ती नेताको दाबी छ ।

सुरुमै संयोजकले बैठकको एजेण्डा एउटा मात्र भएको र सोही विषयमा मात्रै छलफल गर्न सुझाएका थिए । बैठकमा झण्डै २२ जनाले आफ्नो धारणा राखेका थिए ।

धारणामा बहुमत सदस्यले गोकुल बास्कोटाको नाम लिएको भन्दै उनैलाई उम्मेदवार सिफारिस गर्नुपर्ने अडान लिएर संयोजक बैठकस्थलबाट बाहिरिएका थिए ।

त्यसक्रममा अन्य नेता, कार्यकर्ताले पार्टीको विधिअनुसार उम्मेदवार सिफारिस गरिनुपर्ने भन्दै संयोजकलाई रोक्न खोजेका थिए ।

बैठकबारे बनेपा नगर कमिटीका अध्यक्ष नवराज मानन्धरले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बैठकबारे असहमति जाहेर गरेका छन् ।

यसबारे बुझ्न खोज्दा संयोजक कृष्णप्रसाद दाहाल सम्पर्कमा आउन चाहेनन् । दाहाललाई टेलिफोन सम्पर्क गर्दा फोन रिसिभ भएन ।

बैठकमा काभ्रे क्षेत्र नम्बर २ भित्र पर्ने जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरू,  त्यस क्षेत्रका एमालेबाट निर्वाचित मेयर उपमेयर तथा अध्यक्ष उपाध्यक्ष, त्यस क्षेत्रका पालिका कमिटीका अध्यक्षहरू, वडा समितिका अध्यक्षहरू सहभागी थिए ।

चार पालिका अध्यक्षको असहमति

काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ को बैठकले निर्णय नै नगरी सर्वसम्मत भएको भन्दै बास्कोटा उम्मेदवार सिफारिस भएपछि त्यस निर्वाचन क्षेत्रका  ७ पालिका मध्ये ४ पालिका अध्यक्षले आपत्ति जनाउँदै असहमति प्रकट गरेका छन् ।

धुलिखेल, बनेपा, बेथानचोक र पाँचखालको कमिटीका अध्यक्षहरूले विज्ञप्ति नै जारी गरेर सर्वसम्मत रूपमा चयन नभएको भन्दै सिफारिस प्रति आपत्ति जनाएका हुन् ।

काभ्रे १ मा एमालेबाट १० जना उम्मेदवार सिफारिस

काभ्रे–१ बाट एमालेले आगामी प्रतिनिधिसभा चुनावका लागि १० जनालाई  उम्मेदवार सिफारिस गरेको छ ।

सिफारिस हुनेमा एमाले केन्द्रीय सदस्य अमित लामा सहित ९ जना पुरुष र  महिलातर्फ नवीना लामा रहेका छन् ।

यस्तै चन्द्र लामा, रेशम लामा, राकेश लामा, टुल्कु लामा, रामहरि सुवेदी, कुलचन्द्र अधिकारी, कान्छामान तामाङ (रक्तिम) दीपक चौलागाईं लगायतलाई उम्मेदवार सिफारिस गरिएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?