News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतस्थित कुश्मा कारागार कार्यालयका प्रमुख शिला श्रेष्ठसहित पाँचजनाविरुद्ध २१ लाख ५५ हजार ७३५ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- मुद्दा दायर भएका अन्यमा बोलपत्र मूल्यांकन समितिका सदस्य विकास अधिकारी, नायब सुब्बा हरिकृष्ण शर्मा, सह–लेखापाल सुभास घर्ती र प्रोपाइटर प्रदिप तिमिल्सिना छन्।
- कारागार भान्साघर निर्माणको निकासा रकममा अनियमितता भएको उजुरीपछि अख्तियारले अनुसन्धान गरी उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
३ पुस, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतस्थित कुश्मा कारागार कार्यालयका प्रमुख तथा मूल्यांकन समितिका अध्यक्ष शिला श्रेष्ठसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले २१ लाख ५५ हजार ७३५ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा बोलपत्र मूल्यांकन समितिका सदस्यहरू सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङका इन्जिनियर विकास अधिकारी, कारागार कार्यालय कुश्माका नायब सुब्बा हरिकृष्ण शर्मा र कोष तथा लेखा नियन्त्रणको कार्यालय, पर्वतका सह–लेखापाल सुभास घर्ती छन् ।
यस्तै, मोदीकाली कन्स्ट्रक्सन मोदी –६ पर्वतका प्रोपाइटर प्रदिप तिमिल्सिनाविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
पर्वत कारागार कार्यालयका प्रमुख, इन्जिनियर र निर्माण व्यवसायी समेतको मिलेमतोमा कारागारको भान्साघर निर्माणको लागि निकासा भएको रकम अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा उनीहरूले मिलोमतोमा २१ लाख ५५ हजार ७३५ रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । दायर गरिएको मुद्दामा उनीहरूसँग २१ लाख ५५ हजार ७३५ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
प्रतिक्रिया 4