+
+
Shares

भरतपुरको सिटी हल ५ वर्षदेखि अधुरै, कुलमानले गरे अवलोकन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ५ गते १०:३३
Listen News
0:00
0:30
🔊

५ पुस, चितवन । चितवनको भरतपुर महानगरमा बन्दै गरेको सिटी हल निर्माणको काम अलपत्र परेको छ । हलको माथि बनाइएको ट्रसको डिजाइनमा नै त्रुटि भएपछि नयाँ डिजाइन तयार गरिएको आयोजनाको दाबी छ ।

निर्माण रोकिएको हलको सहरी विकास मन्त्री कुलमान घिसिङले अवलोकन गरे । अवलोकनका क्रममा मन्त्री घिसिङले रोकिएको कामलाई चाँडै अगाडि बढाउन निर्देशन दिए ।

भवनको माथि निर्माण कम्पनीले राखेको ट्रस २०८२ जेठमा आएको हुरीले खसालेर भाँचेको थियो । ६० मिटर लामो फलामको ट्रसको बीचमा कुनै सर्पोट नहुँदा भाँचिन गएको थियो ।

ट्रसको काम नहुँदा अरु बाँकी काम गर्न नसकिएको निर्माण कम्पनी इन्डो सगुन रौताहा जेभीले बताउँदै आएको छ । त्यसका सञ्चालक सहदेव खड्काले आफूहरुले डिजाइन अनुसार नै काम गर्दा दुर्घटना भएको बताए ।

डिजाइनमा नै त्रुटि भएपछि नयाँ डिजाइन तयार गरिएको उनले बताए । नयाँ डिजाइन अध्ययन कै चरणमा छ ।

निर्माण कम्पनीले गत मंसिर १ गते वर्कसप ड्रोइङहरु पेस गरेको त्यसको रिभ्यू भैरहेको छ । ट्रस निर्माणका लागि आवश्यक निर्माण सामाग्रीहरु निर्माण कम्पनीले आयात गरिनसकेको आयोजनाले जनाएको छ ।

मन्त्री घिसिङले सबै तयार गरेर भाँचिएको भए ठूलो क्षति हुन सक्ने भन्दै आगामी दिनमा यस्ता घटना नहुने गरी काम गर्न निर्देशन दिए ।

ट्रस भाँचिए पछि काम रोकिएको पनि १० महिना भन्दा बढि भयो । सिटीहलको भौतिक प्रगति ६० प्रतिशत पुगेको दाबी छ ।

हलको मुख्य संरचनाको केही काम भए पनि ट्रसको डिजाइनको काम नहुँदा थप काम रोकिएको निर्माण पक्षले जनाएको छ ।

२७ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी वि.सं २०७७ मङ्सिर १८ गते निर्माण सम्झौता गरिएको थियो । २०८० फागुन १४, २०८१ माघ ३० र २०८३ असार मसान्तसम्मका लागि भनेर तीनपटक म्याद थप भैसकेको छ । आयोजनाले तोकिएको म्याद भित्र पनि हलको काम सक्न नसकिने र थप ६ महिना अरु लाग्ने जनाएको छ । ठेकेदार कम्पनीले भेरिएसन गराउने कामलाई अगाडि बढाएको छ ।

तोकिएको समयमा काम नसकिएको, लागत बढेको र पहिले डिजाइन अनुसार बनाएको ट्रस पनि भाँचिएकोले भेरिएन हुनुपर्ने अडान उसले लिएको छ । सिटी हल इन्डो सगुन रौताहा जेभीले भ्याटसहित ८७ करोड ८८ लाख ८८ हजार ८ सय ८८ मा ठेक्का लिएको थियो ।

बाइपास सडकसँगै जिल्ला समन्वय समितिको नाममा रहेको चार बिगाहा चार कट्ठा जमिन भरतपुर महानगरपालिकाको नाममा लगेर सिटीहल निर्माण थालिएको हो ।

हाल सिटीहलको भित्री भागको बिजुली, पानी जडान गर्ने, प्लास्टर, प्लम्बिङलगायतका कामहरु भइरहेको छ । सिटीहलमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल बन्ने छ । साथै ३०० जना अट्ने क्षमताको सभा हल पनि रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?