+
+
Shares

रवि रफ्तार

गत माघमा ८४ दिनपछि हिरासतमुक्त हुँदा रास्वपा सभापति रवि लामिछाने डेढ महिना मौन रहे । तर, यसपटक भने करिब ९ महिनापछि गत शुक्रबार रिहा भए लगत्तै आफ्नै रफ्तार बढाएका छन् । उनको निशानामा अघिल्लो सरकार परेको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ पुष ७ गते २१:३७

७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारीको रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीको पक्राउ पुर्जीको आधारमा २०८१ साल कात्तिक २ गते पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए ।

रवि हिरासतमा रहेको ८४ दिनपछि कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ जमानत लिएर छोड्न आदेश दियो । अन्य स्थानमा समेत उनीमाथि मुद्दा दर्ता भएको हुँदा अघिल्लो वर्षको माघ महिनाभर थुनछेक बहसमा ओहोरदोहोर गरिरहनु पर्‍यो ।

२५ माघबाट उनका लागि बाहिर बसेरै मुद्दा लड्ने अवस्था बन्यो । रिहा भएपनि मुद्दा विचाराधीन रहेको हुँदा चैतको मध्यसम्म उनले सार्वजनिक रुपमा टिका टिप्पणी गरेनन् । गत १८ चैतमा सभापतिको पूर्ववत भूमिकासहित उनी केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए ।

पार्टी काममा सक्रिय हुनुअघि लामिछाने धरौटी बदरको माग गर्दै अदालत पुगे । अर्कोतर्फ, सुप्रिम सहकारीमा जिल्ला अदालतले गरेको आदेशविरुद्ध सरकारी वकिलको कार्यालय उच्च अदालत पुग्यो ।

उच्च अदालत तुलसीपुर बुटवलको इजलासले जिल्लाको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउन आदेश दियो । गत चैतमा २२ मा पक्राउ परेर कारागार चलान भएका उनी गत शुक्रबार (करिब ९ महिना पछि) रिहा भएका छन् ।

त्यसबेला रिहा हुँदा रवि डेढ महिना ‘चुपचाप’  बसेका थिए । यतिबेला रिहा हुँदा भने आक्रामक क्रियाशीलता बढाएका छन् ।

गत माघमा बाहिर निस्कँदा केही समय चुपचाप रहेका रविले अहिले त्यही शैली अपनाएनन् । रिहा लगत्तै आक्रामक शैलीमा देखिएका उनी पार्टीमा पूर्ववत् जिम्मेवारीमा फर्किहाले ।

अदालतले शर्त सहित रिहा गर्न आदेश दिएसँगै बिहीबार साँझ रास्वपाका नेता कार्यकर्ताको उत्साह सहित खुसी बाँड्न नख्खु कारागार अघि भेला भए ।

अदालती प्रक्रिया पुरा गर्न उनी शुक्रबार रुपन्देहीस्थित जिल्ला अदालत पुगे । त्यसदिन अदालती प्रक्रिया सक्न उनलाई सहज भने भएन ।

शुक्रबार बिहान विमानस्थल पुगेका उनी जहाज उड्न मौसमले साथ नदिएपछि भरतपुर गएर सडकमार्गबाट भैरहवा पुगेका थिए । रुपन्देहीमा स्वागत गर्न उनका लागि नेता, कार्यकर्ता र शुभेच्छुकको उल्लेख्य उपस्थित भए ।

अदालती प्रक्रिया सकेर शुक्रबार मध्यरातमा उनी भरतपुर आइपुगे । रिहा भएकै भोलिपल्ट सभापति रविले सम्बोधन गर्ने गरी चितवनमा रास्वपाले सभा राख्यो । सभामा ठूलो संख्यामा उपस्थितका माझ उनी आक्रामक शैलीमा प्रस्तुत भए । पुराना दललाई चेतावनी दिए । नयाँ दल र शक्तिसँग एकता हुने दाबी गरे ।

जेनजीको अभिभावकीय भूमिका आफूले लिने दाबी गरेका उनले शनिबार काठमाडौं फर्केर जेनजी आन्दोलनका सहिद परिवारलाई भेटे । प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा रहेका दललाई शनिबार र आइतबार खबरदारी गरे । आइतबार सभापतिको भूमिकामा पूर्ववत् फर्किएका उनी शीर्ष नेताहरूलाई साथमा लिएर प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगे ।

प्रधानमन्त्रीलाई ढाडस

नेकपा एमाले संसद पुनर्स्थापनाको मागलाई प्रमुख मुद्दा बनाएको छ । वर्तमान सरकारले चुनाव गर्न नसक्ने भन्दै एमालेको अध्यक्ष केपी ओलीले निरन्तर सार्वजनिक रुपमा सरकारविरुद्ध खनिरहेका छन् । जेनजीको एक समूह निर्वाचनको विरुद्धमा सडकमै आएको छ ।

चुनाव हुने/नहुने अन्योल रहिरहेका बेला रास्वपा भने प्रचार अभियानमा लागिसकेको छ । शनिबार चितवनमा भएको सभामा बोल्ने क्रममा सरकारलाई समर्थन गर्न रास्वपा तत्पर रहेको रविले बताए ।

प्रधानमन्त्री कार्कीलाई खुट्टा नकमाउन आग्रह गरे । प्रधानमन्त्रीलाई ढाडस दिँदै भने, ‘समयमा निर्वाचन गर्न सरकारलाई हाम्रो साथ छ । मैले प्रधानमन्त्रीको अनुहार अँध्यारो देखिरहेको छु । अनुहारमा हाँसो ल्याउनुस् प्रधानमन्त्रीज्यू ।’ न्याय क्षेत्रमा रहेर विगतमा उल्लेखनीय भूमिका खेलेको भन्दै प्रधानमन्त्री कार्कीको प्रशंसा गर्दै अब देशलाई न्याय दिन आग्रह गरे ।

आइतबार साँझ रास्वपा सभापति रविले शीर्ष नेताहरूलाई साथमा लिएर प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे । प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल छलफलमा सहभागी थिए ।

रास्वपाबाट सभापति रवि, उपासभापतिद्धय डीपी अर्याल, डा. स्वर्णिम वाग्ले, महामन्त्री कबिन्द्र बुर्लाकोटी, सचिवालय सदस्यद्धय शिशिर खनाल र सोविता गौतम सहभागी थिए । सरकारी पक्षसँग वार्तामा सहभागी रास्वपाका एक नेताका अनुसार तोकिएको मितिमा चुनाव गराउन प्रधानमन्त्री कार्की दृढ छन् ।

‘हामीले चुनावको तयारी गरिसकेका छौं । कांग्रेसको ठूलो तप्का तोकिएको समयमा चुनाव हुनुपर्ने पक्षमा देखिन्छ,’ बैठकमा सहभागी रास्वपाका एक नेताले भने, ‘प्रचण्डहरू पनि तयार नै छन् । एमालेलाई पनि चुनावमा ल्याउन सकिन्छ भन्ने बुझाइ प्रधानमन्त्रीलाई थियो ।’

पुनर्स्थापनाको पक्षमा उभिनेलाई खबरदारी

प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेको एमालेलाई अर्को दल कांग्रेसले पनि साथ दिएको छ । एमाले संस्थागत रुपमा प्रतिनिधि सभा ब्युँताउनुपर्ने पक्षमा छ । कांग्रेसले भने पुनर्स्थापनाको पक्षमा उभिने औपचारिक निर्णय गरेको छैन ।

एमालेका सम्पूर्ण सांसदले पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन् । कांग्रेसका आठ सांसदले वारेसमार्फत यसअघि रिट दर्ता गराएका थिए । दुवै दलले विघटित प्रतिनिधि सभाको बहुमत संख्या पुर्‍याएर पुरक रिट दर्ता गर्ने तयारी गरेका छन् । कांग्रेस र एमालेका बहुमत निवर्तमान सांसद (१३८ जना) ले पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरिसकेका छन् ।

पुनर्स्थापनाको मागका लागि दुई दलले सक्रियता थप बढाएको बेला रास्वपा सभापति रविले उनीहरूलाई चेतावनी दिएका छन् । शनिबार चितवन र आइतबार काठमाडौंमा बोल्ने क्रममा पुनर्स्थापनाका पक्षधरलाई प्रतिनिधि सभा ब्युँताउने चेष्टा नगर्न रविले चेतावनी दिए ।

प्रतिनिधि सभा पुनर्बहालीको प्रयास नगर्न चेतावनीको शैलीमा शनिबार उनले भने,‘ संसद ब्युँताउने हो कि भनेर आँखा चम्काउनेहरू । होसियार ! शहीदको रगत सुकेको छैन । शहीदकी आमाको आँखा अझै ओभानो भएको छैन । धेरै आँखा नचम्काउनुहोला ।’

पुरक रिटका लागि कांग्रेस संसदीय दलको कार्यालयमा पूर्व सांसदहरूको हस्ताक्षर रास्वपाको बनस्थली कार्यालयबाट आइतबार फेरि रविले खबरदारी गरे । संसद पुनर्स्थपनाका मागमा षड्यन्त्र गन्ध रहेको रविको निचोड छ ।

‘म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थाले रे । कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको ? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? षड्यन्त्रको आँखा बन्द गर्नुहोला ।’

जेनजीको अभिभावक हुने प्रयत्न र नयाँ शक्तिहरू मिल्ने दाबी

जेनजी आन्दोलनको दोस्रो दिनमा नख्खु कारागारबाट निस्किएपछि रवि माथि आलोचना भएको थियो । उनी पुन: कारागार फर्के ।

जेनजी आन्दोलनको अगुवाई र अपनत्व लिने भूमिकामा रास्वपा चुकेको त्यसबेला नेता कार्यकर्ताले विश्लेषण गरेका थिए । अदालतले रिहा गरे लगत्तै जेनजी पुस्ताले दिएको बलिदान खेर जान नदिने प्रतिवद्धता रविले गरेका छन् ।

भदौ २३ गतेको घटनालाई नजर अन्दाज नगर्न उनले चेतावनी दिए । ‘भदौ २३ मा ताकी–ताकी गोली खाएर ढलेका मानिस देखेर आक्रोशित जनताले घरघरबाट विद्रोह गरेका हुन् । त्यो जनताको विद्रोह हो । खबरदार ! त्यो विद्रोहलाई कतै कुनामा पसेर जिस्क्याउने, चलाउने आँट नगर ।’

रास्वपाले चुनावी मैदानबाट पराजित गर्न २०८४ साल प्रतिक्षा गरेपनि जेनजीले त्यस बेलासम्म प्रतिक्षा नगरेको भन्दै आन्दोलनको प्रशंसा गरे । जेन–जी आन्दोलनका घाइते तथा सहिद परिवारसँग शनिबार भेटेर ‘तपाईंहरूको छोरा म हुँ’ भन्दै घाइते र मृतकका परिवारलाई सान्त्वना दिए । सबै जेन समूहलाई मिलाउने दाबी समेत रविले गरेका छन् ।

यही बीचमा रविले नयाँ दल वा शक्तिहरूसँग सम्भावित एकताका विषयहरू पनि खुलाए । त्यसो त, उनी कारागारमा हुँदा नै एकताका लागि प्रयासहरू भइरहेका थिए । उर्जामन्त्री कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टी र काठमाडौंका मेयर बालेन शाहसँग एकता गर्ने विषयमा पटक पटक संवाद भएपनि निष्कर्ष भने निस्कन सकेको छैन ।

चुनाव चिन्ह, पार्टीको नाम, सभापति सबै छोड्न तयार रहेको घोषणा पनि उनले चितवनमा गरे । नयाँ वैकल्पिक शक्तिहरू मिल्ने दाबी गर्दै उनले भने, ‘मिल्नुपर्नेहरू जो–जो हो, हामी मिलेरै छाड्छौँ, चिन्ता नगर्नुहोस् । सबै साथीहरू संवादमा हुनुहुन्छ ।’

एउटा चुनावमा लागि मात्रै एकता भने सम्भव नहुने रविले स्पष्ट पारेका छन् ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?