९ पुस, विराटनगर । नेकपा एमालेका केन्द्रीय सचिव शेरधन राईले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताएका छन् । सरकार ‘असंवैधानिक’ भएको दाबी गर्दै उनले घोषणा गरेको चुनाव सम्भव नरहेको दाबी गरे ।
एमाले कोशी प्रदेश कमिटीको मंगलबार आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बोल्दै नेता राईले वर्तमान सरकार चुनाव गराउनका लागि नभई लोकतन्त्र र संविधानमाथि प्रहार गर्न बनेको आरोप लगाए ।
‘अहिलेको अवस्थामा १ लाखभन्दा बढी गोलीगठ्ठा, १ हजार २०० भन्दा बढी हातहतियार र ५ हजार ५०० भन्दा बढी कैदीहरू बाहिरै छन् । सुरक्षाकर्मीका पोशाकहरू बाहिर दुरुपयोग भइरहेका छन् । यस्तो असुरक्षित वातावरणमा निष्पक्ष चुनाव हुन सक्दैन,’ उनले भने ।
राईले प्रमुख राजनीतिक दलका नेताहरूमाथि सांघातिक हमला भइरहेको, घर र पार्टी कार्यालयहरू जलाइएको भन्दै सरकारले प्रतिशोधपूर्ण राजनीति गरिरहेको बताए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रतिशोध साध्ने काम भइरहेको उनले बताए ।
‘नेताहरूलाई टर्चर गर्ने र भिसा रोक्ने जस्ता कार्यहरू भइरहेका छन्,’ उनले भने, ‘यो सरकारले सामाजिक सद्भाव भड्काएर देशलाई प्रतिगमनतर्फ धकेल्न खोजिरहेको छ ।’
नेता राईले एमालेले देशव्यापी रूपमा जनतालाई परिचालन नगरेको भए देश निकै ठूलो दुर्घटनामा पर्ने दाबी गरे ।
एमाले कोशी प्रदेश कमिटीले सिंगो पार्टी पंक्तिलाई संघर्ष र आन्दोलनमा उत्रन आह्वान गरिसकेको जानकारी दिँदै राईले वर्तमान सरकारको कदमलाई डटेर सामना गर्ने चेतावनी समेत दिए ।
प्रतिक्रिया 4