News Summary
Generated by OK AI. Editorially reviewed.- इन्डोनेसियाका पेस बलर गेदे प्रियान्दानाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा पाँच विकेट लिएर नयाँ कीर्तिमान बनाएका छन्।
- प्रियान्दानाले कम्बोडियाविरुद्धको खेलमा पहिलो तीन बलमै ह्याट्रिक पूरा गर्दै पाँच विकेट लिएर इन्डोनेसियालाई ६० रनले जिताउन मद्दत गरे।
- यो अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा एकै ओभरमा पाँच विकेट लिने पहिलो घटना हो र यसअघि पुरुष टी–२०मा दुई पटक मात्र यस्तो उपलब्धि भएको थियो।
८ पुस, काठमाडौं । इन्डोनेसिया क्रिकेट टोलीका २८ वर्षीय दायाँहाते पेस बलर गेदे प्रियान्दानाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा पाँच विकेट लिएर कीर्तिमान बनाएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा यो उपलब्धि हासिल गर्ने उनी पहिलो खेलाडी बनेका हुन्। मंगलबार बालीमा भएको इन्डोनेसिया र कम्बोडियाबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले कीर्तिमान बनाएका हुन् ।
इन्डोनेसियाले दिएको १६८ रनको लक्ष्य पछ्याइरहेको कम्बोडिया १५ ओभरपछि ५ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा थियो र खेलमा जीवितै देखिन्थ्यो ।
तर आफ्नो पहिलो ओभर बलिङ गर्न आएका प्रियान्दानाले चमत्कारिक प्रदर्शन गरे। उनले ओभरका पहिलो तीन बलमै ह्याट्रिक पूरा गर्दै तीन ब्याटरलाई आउट गरे। त्यसपछि एक डट बल भयो र अन्तिम दुई बलमा थप दुई विकेट लिए। कम्बोडियाले त्यो ओभरमा वाइडको एक रन (वाइड) मात्र जोड्न सक्यो र ६० रनले पराजित भयो ।
यसअघि ब्याटिङमा प्रियान्दानाले ओपनरका रूपमा ११ बलमा ६ रन बनाए। इन्डोनेसियाका लागि विकेटकिपर ब्याटर धर्मा केसुमाले उत्कृष्ट प्रदर्शन गर्दै ६८ बलमा नटआउट ११० रन बनाएका थिए ।
यसअघि पुरुष टी–२० क्रिकेटमा दुई पटक मात्र एकै ओभरमा पाँच विकेट लिइएको थियो। तर अन्तर्राष्ट्रिय टी–२०मा यो पहिलो पटक भएको हो।
यसअघि एकै ओभरमा चार विकेट लिने घटना १४ पटक भएको छ, जसमा सबैभन्दा चर्चित सन् २०१९ मा श्रीलंकाका लसिथ मलिङ्गा ले न्यूजिल्यान्डविरुद्ध लगातार चार बलमा चार विकेट लिएको घटना हो।
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4