+

सुदूरपश्चिम रोयल्सको सफलताको सूत्र बुन्दै कान्छा टिम म्यानेजर थापा

२०८२ पुष  १ गते १४:१४ २०८२ पुष १ गते १४:१४
सुदूरपश्चिम रोयल्सको सफलताको सूत्र बुन्दै कान्छा टिम म्यानेजर थापा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिग २०२५ मा सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक उपविजेता बनेको छ।
  • टिम म्यानेजर सुनिल थापाले अनुशासित र प्रोफेशनल टिम संस्कृतिको निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन्।
  • थापाले भने, 'ट्रफी नजित्नु मात्रै सफलताको मापदण्ड हुँदैन' र फ्यान सपोर्टलाई टिमको शक्ति बताए।

१ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा लगातार दोस्रोपटक उपविजेता बनेको सुदूरपश्चिम रोयल्स उपाधि जित्नबाट वञ्चित रहेपनि मैदानमा सशक्त प्रदर्शनको लय कायमै राख्न सफल देखिएको थियो ।

लगातार दोस्रो पटक फाइनलसम्म पुर्‍याउने यात्रामा मैदानभित्रको प्रदर्शनसँगै मैदानबाहिरको व्यवस्थापन निर्णायक रह्यो। यस सफलताको केन्द्रमा रहेका छन् टिमका म्यानेजर सुनिल थापा। उनी एनपीएलकै कान्छा म्यानेजर समेत हुन् ।

२६ वर्षीय थापा नेपाली लोकल क्रिकेटमा परिचित नाम हुन् । उनले रोयल्समा अनुशासित, सहज र प्रोफेशनल टिम संस्कृतिको निर्माणमा महत्वपूर्ण भूमिका खेले। अभ्यास तालिका, यात्रा र आवास व्यवस्थापन, टिम मिटिङदेखि दैनिक सञ्चालनसम्म व्यवस्थापनलाई व्यवस्थित राख्न उनले निरन्तर प्रभावकारी काम गरे, जसका कारण खेलाडी, कोचिङ स्टाफ र व्यवस्थापनबीच उत्कृष्ट समन्वय कायम रह्यो।

सानै उमेरदेखि नेपाली क्रिकेटसँग जोडिँदै आएका थापा क्रिकेट एकेडेमी सञ्चालन, लोकल तथा राष्ट्रिय प्रतियोगिता आयोजना जस्ता अनुभवसहित आएका हुन्। हालसालै उनले आईपीएलको फ्रेन्चाइज टोली राजस्थान रोयल्सबाट स्पोर्ट्स म्यानेजमेन्टको उच्चस्तरीय प्रमाणपत्रसमेत हासिल गरेका छन्। भविष्यमा नेपाल क्रिकेट संघ (क्यान) मा संलग्न भई नीतिगत र संरचनागत विकासमा योगदान दिने उनको लक्ष्य छ।

टिम नेतृत्वमा कप्तान दिपेन्द्र सिंह ऐरीको शान्त र अनुभवी भूमिका, हेड कोच जगत तमाटा गुरुको मार्गदर्शन, टिम ओनर स्वतन्त्र सरको विश्वास र सिइओ प्रकाश खड्काको व्यवस्थापकीय नेतृत्वले रोयल्सलाई हरेक सिजन अझ परिपक्व बनाउँदै लगेको थापाको विश्वास छ।

फाइनलपछि प्रतिक्रिया दिँदै थापाले भने, ‘ट्रफी नजित्नु मात्रै सफलताको मापदण्ड हुँदैन। लगानीकर्ता, व्यवस्थापन, टिम संस्कृति र फ्यान सपोर्टको हिसाबले सुदूरपश्चिम रोयल्स एनपीएलकै अग्रणी टिम हो। लगातार दुई सिजन फाइनल पुग्नु ठूलो उपलब्धि हो।’

फाइनलमा उपविजेतामा सीमित भए पनि सुदूरपश्चिम रोयल्सको यो सिजनलाई सकारात्मक रूपमा हेरिएको छ। ‘हाम्रो शक्ति र पहिचान हाम्रो फ्यान सपोर्ट हो, जसप्रति हामी सधैं आभारी छौं’ थापाले भनेका छन् ।

सुदूरपश्चिम रोयल्स सुनिल थापा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय