१० पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जहाँ रहे पनि, जुन क्षेत्रमा काम गरे पनि मानवता, सामाजिक संवेदनशीलता र राष्ट्रप्रतिको दायित्वलाई हामीले कहिल्यै पनि बिर्सन नहुने बताएकी छन् ।
त्रिपुरेश्वर रंगशालामा बिहीबार आयोजित ५१औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईंहरूको ज्ञान, श्रम र प्रतिबद्धताले नेपाल र विश्वको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक योगदान पुऱ्याउने छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’
उनले अगाडि भनिन्, ‘तपाईंहरूले प्राप्त गर्नुभएको उपाधि केवल व्यक्तिगत उपलब्धि मात्र होइन । यो नैतिकता, इमान्दारी र सामाजिक उत्तरदायित्वसहित प्रयोग गर्नुपर्ने शक्ति हो । जहाँ रहनुहुन्छ, जुन क्षेत्रमा कार्य गर्नुहन्छ, त्यहाँ मानवता, सामाजिक संवेदनशीलता र राष्ट्रप्रतिको दायित्वलाई कहिल्यै नबिर्सनुहोस् ।’
प्रधानमन्त्री कार्कीले प्राप्त ज्ञानलाई सेवासँग, सिपलाई सदाचारसँग र सफलतालाई समाजप्रतिको योगदानसँग जोड्न दिक्षीत विद्यार्थीहरूलाई आग्रह गरिन् ।
दिगो र समावेशी विकास, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यहरूको संरक्षणका लागि शिक्षित, सचेत र उत्तरदायी नागरिकको भूमिका निर्णायक हुने उनले बताइन् ।
प्रतिक्रिया 4