+
+
Shares

डा. अमर गिरीका कविता र निबन्ध विमोचन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते ७:५६

दाङ । प्रगतिवादी साहित्यकार डा. अमर गिरीका दुई कृति उनकै गृहजिल्ला दाङमा विमोचन गरिएको छ । गिरीका ‘रातमा कलम’ कविता सङ्ग्रह र ‘समय, शब्द र संवाद’ निबन्ध सङ्ग्रह विहीबार विमोचन गरिएको हो ।

विमोचन कार्यक्रम अध्ययन मञ्च दाङ र सर्वोदय पुस्तकालयको संयुक्त आयोजनामा गरिएको थियो । सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा गुरुको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कृतिमाथि समीक्षात्मक चर्चा गरिएको थियो ।

विमोचित कविता सङ्ग्रहको समीक्षा डा. टीकाराम उदासीले र निबन्ध सङ्ग्रहको समीक्षा शशिधर भण्डारीले गरेका थिए । कविता  सङ्ग्रहको समीक्षा गर्दै डा. उदासीले डा. गिरीका कवितामा समाज, प्रकृति, जीवन, दर्शन र वर्गसंघर्षका विषय सशक्त रूपमा समेटिएको उल्लेख गरे । उनका अनुसार गिरीका कविताले नेपाली समाजका भोगाइ र संघर्षलाई प्रतिनिधित्व गर्छन् ।

यसैगरी, निबन्ध सङ्ग्रह ‘समय, शब्द र संवाद’को समीक्षा गर्दै शशिधर भण्डारीले डा. गिरीका निबन्धहरूको मूल हृदयतत्व विचारको सुस्पष्टता भएको बताए ।

डा. गिरीका यसअघि घाम छेक्ने पहाड तर पनि हामी जीवित छौँ, दु:साध्य समय, शब्दहरूका बीचमा र समय संवाद कविता सङ्गहका साथै समय, समाज र संस्कृति, समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य, भूमण्डलीकरण र साहित्य, काव्य विमर्श, कवितामा वर्गद्वन्द्व आदि समालोचना कृति प्रकाशित छन् ।

अन्तर्ध्वनि, कलम, कविता, भृकुटी आदि पत्रिकाको सम्पादनसमेत गरेका डा. गिरीका दर्जनौं अनुसन्धानमूलक लेखहरु प्रकाशित छन् । कार्यक्रममा लेखक डा. अमर गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण अध्ययन मञ्च दाङका संयोजक सूर्य बिसीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?