११ पुस, पोखरा । २०६४ सालयता रोल्पा, काठमाडौं, सिराहा, चितवन हुँदै गोरखाबाट प्रतिनिधि सभामा चुनाव जितेर प्रधानमन्त्री बनेका नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबको चुनावमा कहाँबाट उम्मेदवार बन्लान् ? नेपाली राजनीतिमा चर्चा र चासोकै विषय बनेको छ ।
फेरि गोरखा–२ बाट प्रचण्डको नाम सिफारिस भइसकेको छ भने सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, महोत्तरी, रोल्पासम्मका जिल्लाबाट प्रचण्ड चुनावमा उठ्ने चर्चा भइरहेको छ तर प्रचण्ड निर्णयमा भने पुगिसकेका छैनन् ।
प्रचण्डको अब निर्वाचन क्षेत्र कहाँ होला ? भन्ने नेकपाका नेताहरुले नै अनेक अनुमानमात्र गरिरहेका छन् । अनुकुल क्षेत्र हेरेर निर्वाचन लड्दै आएका प्रचण्डका निम्ति नेकपा वृत्तमा सुरक्षित ठाउँको खोजी भइरहेको छ । त्यही क्रममा प्रचण्डलाई कास्कीको जन्मक्षेत्रबाटै चुनाव लड्नका लागि नेता कार्यकर्ताहरुले माग गरेका छन् ।
कास्की क्षेत्र नम्बर ३ का केन्द्रीय सदस्य र अगुवा नेता कार्यकर्ताहरुको बिहीबार भएको भेलामा अधिकांशले प्रचण्डलाई जन्मक्षेत्रबाट उठाउनुपर्ने माग राखेको महाधिवेशन आयोजक समिटी सदस्य राजु क्षेत्रीले जानकारी दिए । अगुवा कार्यकर्ताहरुको भेलामा दुईतिहाइले प्रचण्डलाई आफ्नै जन्मथलो कास्की क्षेत्र नम्बर ३ बाट उठाउन सिफारिस गरेको हो ।
कास्की–३ प्रचण्डलाई कति सुरक्षित ?
अन्नपूर्ण गाउँपालिकाको लेवाडेमा जन्मिएर चितवन बसाइँ सरेका प्रचण्ड कास्कीबाट उठ्ने चर्चा २०६४ सालयता नै चर्चा हुँदै आएको हो भने नेता–कार्यकर्ताहरुले विभिन्न सार्वजनिक मञ्च र कार्यक्रमहरुमार्फत पनि प्रचण्डलाई कास्कीमा चुनाव उठ्न अपिलसमेत गर्दै आएका थिए । २०६९ मंसिरको चुनावमा तत्कालीन नेपाल समाजवादी पार्टीसँग एकताको उद्घोष गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले छाडेपछि गोरखा–२ मा आएर प्रचण्ड विजयी हुँदै प्रधानमन्त्री बनेका थिए ।
प्रचण्ड–बाबुरामको एकता असम्भव भएपछि र तत्कालीन गठबन्धन पनि भत्किएपछि अहिले उनको नाम सिफारिस भएको भए पनि गोरखा–२ बाट उठ्ने सम्भावना कम रहेको र उनलाई अब गोरखामा जित्नसमेत कठिन पर्ने उनकै पार्टीका नेताहरुले बताइरहेका छन् । प्रचण्डलाई सुरुदेखि नै कास्कीबाट चुनाव लड्न आग्रह गर्ने गरिएको र प्रचण्डले कास्कीलाई आफ्नो घर बनाउने गरेको भए पनि उनले यहाँबाट चुनाव लड्न अहिलेसम्म इच्छा देखाएनन् ।

अब पनि प्रचण्डका निम्ति कास्की–३ कति सुरक्षित र उनी उठ्ने सम्भावना छ त ? ‘अहिले परिस्थिति बदलिएको छ । हिजो र आजको अवस्था एउटै छैन,’ नेकपाका नेता तथा कास्की–३ मै २०६९ मंसिरको चुनावमा पराजित उम्मेदवार रामजीप्रसाद बरालले भन्छन्, ‘प्रचण्डजत्ति राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरले मानेको व्यक्तित्व उठ्दा परिस्थिति फरक बन्छ, कास्कीकै विकासका निम्ति पनि सबै दलले आशाका नजरले हेर्नेछन् र प्रचण्डजत्तिको मानिसका निम्ति असहज छैन ।’
खुम्चिँदै गएको माओवादीको विम्ब
शान्ति प्रक्रिया हुँदै संसदीय निर्वाचनमा होमिएको तत्कालीन माओवादीको पहिलो संविधान सभाको चुनावमा देशभर लहर चल्दा कास्की पनि उर्बरभूमि थियो । त्यतिबेला कास्कीका ५ वटा निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रमा माओवादीले जित हाँसिल गरेको थियो । कास्की क्षेत्र नम्बर ३ मा माओवादी नेता झलकपाणि तिवारीलाई हराउँदै रवीन्द्र विजयी बन्दा कास्की–१ मा देव गुरुङ, क्षेत्र नम्बर २ मा राजकाजी गुरुङ ‘करण’ र क्षेत्र नम्बर ४ मा दुर्गा विकले संविधान सभामा विजयी हाँसिल गरेका थिए ।
दोस्रो संविधान सभाबाट भने कास्की खुम्चिँदै गएको माओवादीको विम्व बन्न थाल्यो । २०६४ सालमा माओवादी दबदबा रहेको कास्की निरन्तर ओह्रालो लागिरहेको छ भने यहाँबाट केन्द्रसम्म पहुँच राख्ने र आशा जगाउने नेतासमेत माओवादीले कास्कीबाट पाएन ।
दोस्रो संविधान सभामा कास्कीमा तत्कालीन माओवादी शून्यमा झर्न पुग्यो । कास्की क्षेत्र नम्बर १ मा यज्ञबहादुर थापा, २ मा कांग्रेसकै शारदा पौडेल, ३ र ४ मा एमालेबाट क्रमश रवीन्द्र र सीता गिरी विजयी भए । खुम्चिँदै गएको माओवादी पनि गुट र नेताहरुकै स्वार्थको लडाइँको सिकार बन्न पुग्यो ।
संविधान जारी भएर देश संघीयतामा गएपछि कास्कीमा ३ वटा निर्वाचन क्षेत्र कायम गरियो । २०७४ सालको चुनावमा नेकपा एमाले र माओवादी मिलेर चुनावमा जाँदा माओवादीले संघमा टिकटै पाएन भने प्रदेशतर्फ ३ क्षेत्रमा माओवादीका ३ नेताले टिकट हात पारे ।

गण्डकी प्रदेश सभातर्फ एमालेको बलमा कास्की–१ (क) बाट नेता दीपक कोइराला र कास्की–३ (क)मा नेता रामजी बरालले जित हाँसिल गरेर कोइराला विकास समिति सभापति बने । नेकपा विभाजन भएपछि कांग्रेस नेतृत्वमा बनेको गण्डकी सरकारमा रामजी अर्थमन्त्री नै बन्न सफल भए । २०७४ मा एमालेसँग गठबन्धन हुँदा पनि कास्की–२ (ख)बाट टिकट पाएर चुनाव लडेका राजकाजी भने कांग्रेस उम्मेदवार विन्दुकुमार थापासँग पराजित भए ।
गुटगत लडाइँ
कास्कीमा मुख्यगरी राजकाजी र दीपकबीच सुरुदेखि नै गुटगत लडाइँ हुँदै आएको छ भने रामजीले पनि गुटलाई नै मलजल गर्दै आए । कास्कीका हरेक कार्यक्रममा आउँदा अध्यक्ष प्रचण्डकै टाउको दुखाइ बनेको गुटले माओवादीलाई कमजोर बनाउँदै लगेको नेताहरु नै बताउँछन् ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित २०७९ मंसिरको चुनावमा जाँदा पनि माओवादी कास्कीमा फेरि बढारिन पुग्यो । गण्डकी प्रदेशमा अर्थमन्त्री बनेका रामजीले नै माओवादीबाट कास्की–३ मा संघको टिकट हात पारे । जसका कारण माओवादीभित्र पनि असन्तुष्टि थियो भने नेपाली कांग्रेसले सार्वजनिक रुपमा असहमति जनाएको थियो ।
माओवादीको खस्कँदो जनमत र कांग्रेसकै असन्तुष्टिका कारण ५ दलीय गठबन्धन हुँदा पनि एमालेका दामोदर पौडेल ‘वैरागी’सँग पराजित भए । कास्की–१ (क)मा फेरि टिकट ल्याएका दीपकको पनि गण्डकीमा मुख्यमन्त्री बन्ने नारासहित प्रदेश उत्रिएका एमालेका नेता खगराज अधिकारीसामु कुनै जोर चलेन ।

कास्की–२ (क)मा माओवादी नेता विश्वप्रकाश लामिछानेले एमाले नेता भीम कार्कीसँग पराजय बेहोरे । कास्की–३ (क)मा माओवादीका बालसखा दुर्गादत्त भण्डारीले टिकट पाएका थिए । जसका कारण पनि कांग्रेससहितको गठबन्धनमा ठूलो असन्तुष्टि थियो । संघ र प्रदेश सभा (क)तर्फ पनि माओवादीलाई नै टिकट दिइएको भन्दै कांग्रेसभित्र उठेको असन्तुष्टिको असर मतमा पनि देखियो र एमालेका गणेशमान गुरुङले लोकप्रिय मतका साथ जित निकाले ।
एमालेका रवीन्द्रबाहेक ३ क्षेत्रमा जीत हाँसिल गरेको माओवादीको जनमत कास्कीमा यसरी गिर्न पुग्यो कि २०७९ को चुनावसम्म आइपुग्दा कास्कीबाट समानुपातिकतर्फ जम्मा ११ हजार ४ सय ७५ मतमात्रै ल्याउन सक्यो ।
स्थानीय तहमा माओवादी जनप्रतिनिधि कति ?
प्रचण्डलाई बिगतको गिर्दो जनमत हेर्दा अनुकुल देखिँदैन । नेकपा एमालेका दामोदर पौडेल वैरागीले २२ हजार ९८० मत ल्याएर विजयी बनेका थिए ।
माओवादीलाई २०७९ को चुनावी नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी नै चुनौतिपूर्ण थियो । कांग्रेस, माओवादीसहित ५ दलीय गठबन्धन हुँदा पनि तत्कालीन माओवादीका रामजीप्रसाद बरालले जम्मा १७ हजार ५३५ मत ल्याएका थिए । जबकि रास्वपाका योगराज पौडेल एक्लैले घन्टी चुनाव चिह्नमा १२ हजार १८० मत ल्याएर तेस्रो भएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले २ हजार ४४२ मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका कमलजङ्ग कुँवरले ८६५ मत ल्याएका थिए भने जनता समाजवादी पार्टीका हितकाजी गुरुङले ५३५ मत ल्याएका थिए ।
तत्कालीन जनता समाजवादी पार्टी, हाम्रो नेपाली पार्टी, मंगोल नेपाल अर्गनाइजेसनलगायत साना दलको उपस्थिति नगण्य थिए । माओवादीबाटै अनिता भुर्तेलले स्तन्त्र उम्मेदवारी दिएर २३८ मत ल्याएकी थिइन् ।
प्रचण्डलाई उम्मेदवार बन्न आग्रह गरिएको कास्की–३ मा अन्नपूर्ण, माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको १ देखि ३, १८, १९ र वडा नम्बर २२ देखि २५ नम्बरसम्म कास्की क्षेत्र नम्बर ३ मा पर्छ । अन्नपूर्णमा एमाले र माछापुच्छ्रे मा कांग्रेस विजयी छ भने सिंगो पोखरा महानगरपालिकामै माओवादी प्रतिनिधि शून्य छन् ।
ससुरा–बुहारी नै सिफारिस
जेनजी आन्दोलनपछि बदलिएको परिस्थिति र जन्मथलो पनि भएकाले यहाँबाट उठ्न आग्रह गर्दै १ नम्बरमा प्रचण्डको नाम राखेर बिहीबार अगुवा नेता–कार्यकर्ताले सिफारिस गरेका छन् । माओवादी, एकीकृत समाजवादीसहित एकता भएर चुनाव गएको र गत चुनावमा भन्दा आगामी चुनावमा माओवादीको पक्षमा जनमत बढेको दाबी गरिए पनि भूगोलमा त्यो अवस्था देखिँदैन ।

तत्कालीन अवस्थामा कांग्रेस, माओवादीसहित गठबन्धनबाट कास्कीमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट पोखराको मेयर धनराज आचार्य विजयी भएको भए पनि जनमत बलियो देखिँदैन । पछिल्लो समयको ध्रुवीकरणले कास्कीमा आशा जगाउने गरी नयाँ नेता र युवाहरुको आकर्षण पनि कास्कीमा देखिएको छैन ।
यस्तो अवस्थामा प्रचण्डका निम्ति कास्की–३ कति अनुकुल छ त ? ‘प्रचण्ड आफैंले कास्कीलाई कहिल्यै भरपर्दो र सुरक्षित क्षेत्रका रुपमा लिनुभएन । यहाँको संगठन, विवाद र गुटबाट उहाँ जहिले पनि दिक्क हुनुहुन्थ्यो । पूर्वप्रधानमन्त्री, देशमा परिवर्तन ल्याउन ठूलो संघर्ष गरेका व्यक्ति उठ्दा जनमत बढ्न सक्ने भए पनि ठूलो फरक पर्ने स्थिति भने अंकगणितले देखाउँदैन,’ नेकपाको केन्द्रीय महाधिवेशन आयोजक कमिटीका एक सदस्यले भने ।
निरन्तर सत्तामा पुगेको माओवादी गण्डकीबाटै संघ, प्रदेश र स्थानीय तहमै कमजोर बन्दै गएको छ । अन्य पार्टीका नेताहरुले प्रचण्डजत्तिको नेताप्रति सहानुभूति राख्न सक्ने भए पनि कास्कीमा पछिल्लो परिस्थिति उनी अनुकुल नभएको दाबी गर्छन् ।
नेताहरुको अगुवा भेलामा बिहीबार दुईतिहाइले प्रचण्डको नाम सिफारिस गर्नुपर्ने र यहीँबाट चुनाव उठाउन पहल गर्नुपर्ने आवाजसहित उनको हकमा सर्वसम्मत गर्ने निर्णय गरेका छन् । तर, उनी कास्की नआउँदाको हकमा भने प्रचण्डकै बुहारी सिर्जना त्रिपाठीसहित १५ जनाले दाबी गरेका छन् ।
प्रचण्ड पुत्र प्रकाशकी श्रीमती सिर्जना कास्कीलाई नै आधार बनाएर राजनीतिमा सक्रिय छिन् । हेमजानिवासी त्रिपाठी प्रचण्डको बुहारी भएर होइन, पार्टीको इमान्दार कार्यकर्ताका रुपमा उम्मेदवार बन्न चाहेको बताएकी छन् ।
संविधान सभा सदस्य दुर्गा विक फेरि पनि उम्मेदवार बन्न चाहेकी छन् भने गत चुनावमा पराजय भोगेका रामजी पनि फेरि उठ्न आकांक्षी छन् । नेकपा नेता बलराम सुवेदी, भानु अधिकारी, भोजराज पौडेललगायत १५ जनाको नाम सिफारिस गरिएको र निर्णय केन्द्रले नै गर्ने नेताहरुले बताएका छन् ।
प्रतिक्रिया 4