+
+
Shares

यूएई ‘एजुकेसन स्क्याम’ : कहाँ पुग्यो सीआईबी र शिक्षा मन्त्रालयको अनुसन्धान ?

यूएईको ‘फ्रि जोन’ मा इन्स्टिच्युटका नाममा दर्ता संस्थाहरूले विश्वविद्यालय भन्दै नेपाली विद्यार्थी अध्ययनका लागि लगेर ठगी गरेको भन्दै विद्यार्थीले उजुरी दिएका थिए ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ पुष ११ गते २१:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यूएईमा नेपाली विद्यार्थी ठगीमा परेको विषयमा शिक्षा मन्त्रालय र सीआईबीले अनुसन्धान गरिरहेका छन्।
  • हालसम्म १८३ जनाले अनलाइनमार्फत उजुरी दिएका छन् र छानबिन जारी छ।
  • पीडित विद्यार्थीहरूले अनुसन्धानमा ढिलाइ भएको गुनासो गर्दै चाँडो निष्कर्षमा पुग्न माग गरेका छन्।

११ पुस काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) पढ्न जाने नेपाली विद्यार्थी ठगीमा परेको विषयमा अनुसन्धान जारी छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गर्दै आएको हो । विश्वविद्यालय भन्दै यूएईका ‘ग्रिन जोन’ मा रहेका शिक्षालयहरूमा डिग्रीको सर्टिफिकेट दिने गरेको विषयमा उजुरी परेपछि दुवै निकायले छानबिन गर्दै आएका हुन् ।

यूएईको ‘फ्रि जोन’ मा इन्स्टिच्युटका नाममा दर्ता संस्थाहरूले विश्वविद्यालय भन्दै नेपाली विद्यार्थी अध्ययनका लागि लगेर ठगी गरेको भन्दै विद्यार्थीले उजुरी दिएका थिए ।

शिक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, सीआईबी लगायत निकायमा विद्यार्थीले ठगिएको भन्दै उजुरी दिएका थिए । ती उजुरीमा छानबिन गरिरहेको सम्बद्ध निकायले जनाएका छन् ।

यो विषयमा शिक्षा मन्त्रालय र सीआईबीले अनुसन्धान गर्दै आएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागले अनलाइन मार्फत मार्फत ठगीमा परेका विद्यार्थीलाई उजुरी दिन आग्रह गरेको थियो ।

हालसम्म १ सय ८३ जनाले अनलाइन मार्फत आफू ठगिएको भन्दै निवेदन दिएका छन् । ती उजुरीमाथि शिक्षा मन्त्रालय र सीआईबीले अनुसन्धान गर्दै आएका हुन् ।

शिक्षा मन्त्रालय अन्तर्गतको उच्च शिक्षा महाशाखा प्रमुख सहसचिव श्रीप्रसाद भट्टराईका अनुसार अनुसन्धान जारी छ । अहिले आएका उजुरीमा भेरिफाई गर्ने काम भइरहेको उनको भनाइ छ ।

विद्यार्थीले दिएका उजुरी र उनीहरूले पढ्ने संस्थासँग शिक्षा मन्त्रालयको एनओसीमा रेकर्ड भएका विवरणसँग भेरिफाई गर्ने काम शिक्षा मन्त्रालयले गरिरहेको हो ।

त्यस्तै सीआईबीले उजुरीमाथि प्रारम्भिक चरणको अनुसन्धान अघि बढाएको छ । सीआईबी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले प्रारम्भिक चरणको अनुसन्धान भइरहेको बताए । अनुसन्धान जारी नै रहेको र सकिएपछि निष्कर्षमा पुगिने सीआईबीले जनाएको छ ।

नेपालका शैक्षिक कन्सल्टेन्सीहरूले यूएईका फ्रि जोनमा स्थापित तथा सञ्चालित विभिन्न विश्वविद्यालय, कलेज तथा व्यावसायिक तालिम केन्द्रमा नेपाली विद्यार्थी पठाउँदै आएका छन् ।

ती शैक्षिक संस्थामध्ये कतिपय मापदण्ड अनुरूप सञ्चालन नभएको, विभिन्न विदेशी विश्वविद्यालयसँग आबद्ध भएको भनिएकोमा त्यस्तो नपाइएको कलेज तथा केन्द्रहरूको आफ्नै भवन नभएको, केही महिनामात्र भाडामा लिएको अपार्टमेन्टमा भौतिक कक्षा सञ्चालन गरी त्यसपछि अनलाइन कक्षा हुने गरेको, प्रतिबद्धता अनुरूप सेवा सुविधा उपलब्ध नभएको जस्ता गुनासा विद्यार्थीबाट आएका थिए ।

त्यसरी पीडित विद्यार्थीलाई अनलाइन मार्फत उजुरी दिन भनिएको थियो । कतिपय विद्यार्थी बीचमै पढाइ छाडेर नेपाल फर्किसकेका थिए भने कतिपय अझै पनि यूएईमा बस्दै आएका छन् । उनीहरूले अहिलेसम्म नेपाल सरकारले केही गर्न नसकेको बताएका छन् ।

यूएईमा कसरी ठगिन्छन नेपाली विद्यार्थी ?

यूएईमा पढ्न जाने विद्यार्थी नेपालका कन्सल्टेन्सीबाटै ठगीमा पर्छन् । ‘स्टडी इन दुबई/यूएई’ भन्दै सामाजिक सञ्जालमा विज्ञापन गर्ने कन्सल्टेन्सीहरूबाट नै ठगीमा पर्ने गरेका छन् ।

यूएईका विदेशी विश्वविद्यालयका नाममा विद्यार्थीबाट १० देखि २० लाख रुपैयाँ उठाउने गरेको पाइन्छ । यूएई पुगेपछि सुरुमा भाडाको घरमा पठनपाठन गराउने र त्यसपछि विद्यार्थीलाई भर्चुअल ट्रेनिङ सेन्टरका नाममा भर्चुअल कक्षा लिने गरिएको थियो ।

दुबईमा ठगीमा परेर नेपाल फर्किएका महोत्तरीका विश्वजितकुमार यादवले ‘स्क्यान द स्क्यामर्स’ अभियान चलाएका थिए । उनको अभियानपछि धेरै विद्यार्थीहरू ठगीमा परेको भन्दै जोडिएका छन् ।

उनी विद्यावारिधि (पीएचडी) अध्ययन गर्न दुबई पुगेका थिए । त्यहाँ पुगेपछि एजुकेसन स्क्याममा परेका थिए । पीएचडी अध्ययन गराउने भनेको संस्था नै भाडाका चार कोठामा सीमित थियो ।

त्यसपछि उनले यो विषयमा खोजी गरेका थिए । संस्था दर्ता, यूकेमा रहेको दर्ता, यूएईको शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाली दूतावास, नेपालको शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत निकायमा इमेल पठाएका थिए ।

लगातार प्रयासपछि उनले यो विषय यूएईको राजपरिवारसम्म पुर्‍याएका थिए । त्यसपछि वकिल मार्फत उनले क्षतिपूर्तिका लागि उजुरी दिएका थिए । आफू नेपालमा ऋण निकालेर आएको तथा जग्गा, गाडीसमेत बेचेर आएको भन्दै २ करोड रुपैयाँ क्षतिपूर्ति मागसहित उजुरी दिएका थिए । तर, पछि उनले २० हजार दिराम कलेजलाई तिरेको शुल्क र ५ हजार दिराम अतिरिक्त गरी २५ हजार दिराम क्षतिपूर्ति पाएका थिए ।

रकम पाउने बेला उनलाई ‘यो विषयमा बाहिर कहीँ कतै गएर बोल्दिनँ, यो विषय एकदमै गोप्य राख्छु’ भनेर कागज समेत गराइएको थियो ।

अनुसन्धानमा ढिलाइ भएको विद्यार्थीको गुनासो

पीडित विद्यार्थीले सरकारले गरिरहेको अनुसन्धानमा ढिलाइ भइरहेको गुनासो गरेका छन् । सरकारले अनुसन्धान थालेको दुई महिना बितिसक्दा समेत निष्कर्षमा पुग्न नसकेको पीडित विद्यार्थी यादवको भनाइ छ । सुरुवाती चरणमा अनुसन्धान गरेजस्तो देखिए पनि बेवास्ता गर्न थालेका कारण अब आन्दोलन गर्ने चेतावनी उनले दिए ।

त्यसरी ठगिनेमा २ हजारभन्दा बढी नेपाली विद्यार्थी रहेको अनुमान छ । तर, सरकारले लिएको अनलाइन उजुरीमा भने १ सय ८३ जनाले मात्रै निवेदन दिएका थिए । सरकारले गर्ने अनुसन्धानप्रति विद्यार्थीको विश्वास नभएकाले अरू विद्यार्थीले निवेदन नदिएको उनको दाबी छ ।

‘२ हजारभन्दा बढी विद्यार्थी ठगीमा परेका छन् तर सरकारले गर्ने अनुसन्धानमा विश्वास छैन,’ यादवले भने, ‘अहिले अनलाइन मार्फत निवेदन दिँदा भोलि अर्को समस्या आयो भने के गर्ने भनेर विद्यार्थीहरू डराइरहेका छन् ।’

अनुसन्धान थालेको दुई महिनासम्म पनि कुनै निष्कर्षमा नपुग्नु राज्यको गैरजिम्मेवारीपन भएको उनको आरोप छ । जति ढिला गरियो विद्यार्थीहरू ठगिने क्रम त्यति नै बढ्ने भन्दै चाँडो निष्कर्षमा पुग्न शिक्षा मन्त्रालय र सीआईबीसँग विद्यार्थीहरूको माग छ ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?