अचेल चिया पसलमा समेत सुन्न थालिएको छ – बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङहरू मिल्नैपर्छ । तीनैजना मिलेर चुनावमा जानुपर्छ अनि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी जस्ता पुराना दललाई धूलो चटाएर बहुमतको सरकार बनाउनुपर्छ । एउटै नयाँ दल भएर चुनावमा जानुपर्छ, अलग–अलग जानु हुँदैन ।
बालेन, रवि र कुलमानहरू मिल्नैपर्छ र पार्टी एकता गर्नैपर्छ भनेर मत प्रकट गर्ने एक सर्वसाधारणलाई यस पंक्तिकारले सोध्यो– बहुदलीय व्यवस्थामा यी तीनैजनाले आ–आफ्नै पार्टी बनाएर चुनावमा जाँदा हुँदैन ?
जवाफ आयो– आम्मै ! त्यसो गर्यो भने त यिनै कांग्रेस एमालेहरूले नै फेरि चुनाव जितिहाल्छन् नि ! एउटै पार्टी बनाएर जानुपर्छ ।
पंक्तिकारले फेरि सोध्यो– त्यसो भए कांग्रेस, एमाले र माओवादीले पनि एउटै पार्टी बनाएर, पार्टी एकता नै गरेर चुनावमा जान सम्भव छ त ? पार्टी भनेको त एउटा निश्चित विचारका आधारमा देशलाई दीर्घकालीन रूपमा अगाडि बढाउनका लागि बन्ने संस्था होइन र ? कि पार्टी भनेको चुनावमा अर्कोलाई हराउने र सत्तामा पुग्ने गणितीय खेलो फड्को मात्रै हो ?
एउटा मात्र नयाँ पार्टी खोजिरहेका ती सम्वादकर्ता धेरै बोलेनन् । मनको भाव पोख्दै यत्ति भने– यी ओली, देउवा प्रचण्डहरूलाई जसरी भए पनि हराउनु पर्यो सर । यिनीहरूले देश बर्बाद बनाए ।
आजको मितिसम्म बालेन, रवि र कुलमान घिसिङका आ–आफ्नै पार्टीहरू छन् । ती पार्टीको लक्ष, उद्देश्य र सिद्धान्त के हो ? भोलि चुनाव जितेपछि गर्ने कामहरू के–के हुन् ? उनीहरूको वर्गीय पक्षधरता के हो ?
शासकीय स्वरूप, राज्य प्रणाली र राज्य सञ्चालनको नीति र विधि के हो ? यी प्रश्नहरूमाथि छलफलै नगरी कांग्रेस–एमालेलाई हराउन वा उनीहरूमाथि रिस पोख्नका लागि मात्रै एकता गर्ने हो भने नयाँ गठबन्धनले चुनाव त जित्ला तर जितेपछि के गर्ने ? नयाँ पार्टीले लिने कार्यक्रम र नीतिका विषयमा हामीबीच पर्याप्त छलफल र बहस हुन सकेको देखिँदैन ।
युवा पुस्तामा यत्तिमात्रै हुटहुटी छ, नयाँहरू मिलुन् र पुरानालाई हराउन् । तर, हराएपछि के गर्ने ? अगाडिको बाटोबारे खासै बहस भएको छैन । बरु, अलमल छ ।
रवि लामिछानेमाथि प्रश्न
रवि लामिछाने जुझारु क्षमता भएका व्यक्ति हुन् । उनीसँग आँट पनि छ, जोश पनि छ । अचम्मको ‘डोपामिन’ छ उनीभित्र । उनलाई कार्यकर्ता र समर्थकहरूको बलियो साथ पनि छ । आफ्नो निर्वाचन क्षेत्र चितवनमा उनी ढुक्क छन् ।
र, अहिलेको परिस्थितिले रविलाई राम्रैसँग साथ पनि दिएको छ । यो अवस्थामा रवि लामिछाने कांग्रेस–एमालेलाई चुनौती दिन सक्ने बलिया पात्र हुन् भन्नेमा शंका छैन । उनी कुलमान, बालेन लगायत धेरै नेताहरूलाई सँगै लिएर अघि बढ्न सक्ने क्षमता राख्छन् ।
तर, रवि लामिछानेसँग फ्यान फलोअर्स र अवसरहरू मात्र छैनन्, यक्ष प्रश्नहरूको घेराबन्दी पनि छ ।

रवि लामिछानेलाई पनि धेरै मानिसहरूले पुरानै पार्टीका शीर्षनेता (ओली, देउवा र प्रचण्ड) सँगै राखेर हेरिरहेको अवस्था छ । ०७९ को चुनाव जितेपछि उनले के–के गरे ? सरकारमा जान केपी शर्मा ओलीसँग किन गठबन्धन गरे ? त्यसयता देशका विभिन्न सहकारीमा उनी किन मुछिए ? के यसमा रवि दूधले धोएकै व्यक्ति हुन् ?
के उनलाई ओली सरकारले निराधार आरोप लगाएको हो ? उनलाई विभिन्न अदालतले किन धरौटी राख्न लगाए ? अन्तिममा उनी आफैंले आफ्नो ‘भागमा पर्न सक्ने’ बिगो तिरेर काराबारबाट निस्किएका हुन् या अदालतले उनलाई सहकारी ठगीमा निदोर्षिताको प्रमाणपत्र दिइसकेको हो ?
यसरी विभिन्न अदालतमा मुद्दैमुद्दा भएको व्यक्तिमा भोलि भ्रष्टाचारविरुद्ध अभियान चलाउने नैतिक बल कहाँबाट आउँछ ? जीबी राई अहिलेसम्म किन पक्राउ परेका छैनन् ? ग्यालेक्सी टीभीमा कार्यरत पत्रकारको तलब कहिले निकासा हुन्छ ? यस्ता विविध प्रश्नहरूको घेराबन्दीमा छन् रवि लामिछाने ।
भैरहवा काराबारबाट विगो जरिवाना तिरेर बाहिर निस्कँदै गर्दा रवि कुनै युद्ध जितेर आएको शैलीमा थिए । चितवन, काठमाडौं लगायतका ठाउँमा उनका भाषण सुन्दा भावावेग र गालीबाहेक केही सुनिएन । उनी नरमरूपमा प्रस्तुत भएनन् । अर्कालाई गाली मात्रै गरे । तर, सहकारीको विषयमा उनी खासै बोलेनन् ।
सहकारी पीडितहरूका बारेमा बोलेनन् । विगतमा आफूले धेरै भूल गरेको थिएँ कि ? आत्मालोचनाको ‘आ’ सम्म निस्किएन उनको मुखबाट । उनले अदालतप्रति सम्मान गरौं, आलोचना नगरौं भनेर कार्यकर्तालाई भनेनन् । उनमा यस्तो दम्भ देखियो कि मानिलिऊँ उनी अहिल्यै सिकन्दर भइसके । त्यसैले अज्ञात शत्रु खडा गरेर उनले त्यसमाथि हवाइ फायर गरे । के उनको यो प्रस्तुतीले जेनजी पुस्ताबमाट खोजिएको नेताको अभाव पूर्ति होला ? यो बहसको विषय हो ।
भनिन्छ, प्रेमीसँग शब्द सकियो भने एक अर्कालाई चुम्बन गर्छन्, नेतासँग शब्द सकियो भने अरूलाई गाली गर्छन् । जुन नेतासँग शब्द सकिएको हुँदैन, उसले आफ्नो भाषणमा कसैलाई गाली नगरिकन आगामी दिनमा देशलाई कता लैजाने भन्ने सिर्जनात्मक ढाँचा प्रस्तुत गर्छन् ।
आफ्ना आलोचकहरूलाई गाली गर्न र घृणात्मक अभिव्यक्ति दिनका लागि रवि लामिछाने पनि केपी ओलीभन्दा कम छैनन्, बरू बढ्तै छन् । विपक्षीहरूप्रति उनको व्यवहार लोकतान्त्रिक हुने गरेको छैन । मूल धारको मिडियालाई हेर्ने नजर पनि पूर्वाग्रही छ । ‘१२ भाइ’ को बिल्ला भिराएर पत्रकारितालाई बदनाम गर्ने उनै हुन् ।
यति मात्र होइन, पार्टी सञ्चालनमा पनि रविमाथि केपी ओलीकै शैली अपनाएको आरोप लाग्ने गरेको छ । मुकुल ढकाल त्यसै भनेर पार्टीबाट निस्किए । पछि, सुमना श्रेष्ठको विद्रोह पनि यही कुरासँग सम्बन्धित छ ।
आफूमाथि मुद्दा लाग्दा परिवारका सदस्यलाई खटाएर पूर्वन्यायाधीश भेट्न लगाई भनसुन गराउने अनि अदालतमा राजनीतिक हस्तक्षेपको भरमग्दुर प्रयास उनले गरेको हुनाले स्वतन्त्र न्यायालयप्रति पनि रविको प्रतिबद्धतामा शंका छ ।
आफूलाई रिस उठेकै आधारमा मानिसहरूमाथि पक्राउ गरेर मुद्दा चलाउने र बदनाम गर्ने प्रकरणमा उनले गृहमन्त्री हुँदा हात हालेको कुरा कैलाश सिरोहियाको गिरफ्तारी प्रकरणबाटै स्पष्ट हुन्छ ।
जेनजी आन्दोलनको मुल मुद्दा सुशासन, पारदर्शिता र कानूनको शासन स्थापित होस् भन्ने हो । सहकारी ठगीमा अदालतबाट धरौटीमा छुटेको व्यक्तिले पार्टी नेतृत्वको जिम्मेवारी सम्हाल्ने, चुनावमा लड्ने अनि सरकारको नेतृत्व गर्ने भन्न मिल्छ ? कि त्यस्तो स्थितिको मानिसले नैतिकताको आधारमा कुनै पनि जिम्मेवारीमा रहन्न भनेर न्यायालयको अन्तिम फैसला कुर्नुपर्छ ?
यहाँनेर जेनजी आन्दोलनको स्पिरिट र रवि लामिछानेको सक्रियताबीच अन्तरविरोध देखिन्छ । तर, सुशासनको चर्को कुरा गर्दै आफूलाई जेनजी आन्दोलनको अगुवा हुँ भन्ने व्यक्तिले नै जेलमा गएर रवि दाइ भेट्ने, उनको रिहाइका लागि दबाब दिने र अहिले काँधमा बोकेर हिँड्ने प्रवृत्तिले ‘जेनजी’ समूहतिर पनि प्रश्न तेर्स्याएकै छ ।
यसरी प्रश्नै प्रश्नको घेरामा परेका रवि लामिछानेले भोलि बहुमत नै ल्याए वा प्रधानमन्त्री नै बनिहाले भने पनि देशमा सुशासन आउला भनेर कसरी विश्वास गर्ने ? आगामी चुनाव रविकै पार्टीले जित्ला, त्यसमा शंका नगरौं । तर, जितेपछि उनले के गर्लान् ? त्यसमा चाहिँ शंका छ ।
राजनीतिकरूपमा पनि रविको लाइन तरल देखिन्छ । विगतमा उनको दलले प्रदेशसभाको चुनाव नै बहिस्कार गरेको थियो । त्यही कारण आदिवासी, जनजाति, मधेसीलगायत उत्पीडित समुदायले रविमाथि विश्वास गर्न सकेका छैनन् । यही कारण उनको दल मधेसमा अरूतिर भन्दा कमजोर छ ।
आगामी दिनमा संघीय प्रणालीप्रति रविको पार्टीको प्रतिवद्धता रहन्छ कि रहँदैन ? अब उनी ‘दक्षिणपन्थ मनपराउने लोकप्रियता’को बाटोतिर लाग्छन् या सीमान्तकृत समुदायलाई विश्वासमा लिएर अघि बढ्छन् ? यहाँनेर पनि रवि लामिछाने दोबाटोमा उभिएको प्रतीत हुन्छ ।
अब सांसदका उम्मेद्वारहरू छनोट गर्दा नयाँ दलले पनि पुरानै पार्टीको पारा अपनाउँछन् या नयाँ विधि प्रयोग गर्छन् ? यो पनि हेर्न लायक विषय हो ।
रास्वपाको झण्डा साथमा राखेर एकजना नेकपा एमाले नेताका सन्तानले अहिलेदेखि नै ‘म समानुपातिक उम्मेदवार’ भन्दै फेसबुकमा प्रचार गरिरहेको देखिन्छ । ‘नेपो बेबी’ विरुद्ध आन्दोलन छोडेको जेनजी पुस्ताले चाहेको यही हो त ? के फेरि पनि तरमारा वर्गलाई नै संसदमा पठाउन चाहेको हो ?
नयाँतिर लागेर तर मार्न पाइने आशमा धेरैजना अवसरवादीहरू अहिलेदेखि नै लाइनमा उभिइसकेका छन् । अब तिनै अवसरवादीहरूको बुई चढेर संसदमा पुग्दा कस्तो नयाँपन आउला ? त्यो पनि संशयकै विषय छ ।
बालेन शाहमाथि प्रश्न
काठमाडौं महानगरपालिका मेयर बालेन शाहचाहिँ रवि लामिछानेजस्तो विवादमा नपरेका, अहिलेसम्म आर्थिकरूपमा स्वच्छ छवि भएका व्यक्ति हुन् । उनी अहिलेसम्म कुनै भ्रष्टाचार काण्डमा मुछिएका छैनन् ।
महानगरमा पनि उनी केही स्वाभावजन्य प्रश्नमा बाहेक विवादमा परेनन् । बरू महानगरमा उनले गरेका कामलाई लिएर जनतामा सन्तुष्टि नै देखिएको छ ।

कम बोल्ने, अन्तरमुखी स्वाभावका बालेन शाहको छवि राम्रै देखिन्छ । विदेशमा समेत उनको नाम छ । बोलेर भन्दा काम गरेर देखाउनुपर्छ भन्ने उनको शैली देखिन्छ । तर, उनले अहिलेसम्म राजनीतिक दल बनाएका थिएनन् ।
बालेनले पार्टी खोलून् भन्ने धेरैको चाहना थियो । अहिले आएर उनी राजनीतिमा हाम्फाल्न खोजेको देखिन्छ । बालेनले आफ्नै नेतृत्वमा पार्टी बनाए भने उनले उपत्यका लगायत धेरै ठाउँबाट राम्रो पोजिसन ल्याउने देखिन्छ । तर, उनले आफ्नै खुट्टामा उभिएर पार्टी चलाउँछन् या रवि लामिछानेसँग मिल्छन् भन्ने प्रश्नले नयाँ राजनीतिक प्रश्नहरू जन्माएको छ ।
बालेनसँग आफ्नै दल खोलेर अघि बढ्ने वा देशैभरिका निर्वाचन क्षेत्रहरूमा रवि, कुलमान आदिसँग चुनावी तालमेलमात्रै गर्ने विकल्प पनि नभएको होइन । तर, उनले कुन नीति लिन्छन्, त्यसैले बालेनको आगामी राजनीतिको बाटो तय गर्ने छ ।
रविसँग मिल्दा बालेन भौतिक हिसाबले शक्तिशाली हुनेछन् । तर, विवादमा परेको व्यक्तिसँग मिलेकोमा उनीमाथि नैतिक प्रश्न पनि उठ्न थाल्ने छ । त्यसका संकेतहरू अहिलेदेखि नै देखिइसकेका छन् ।
पछिल्लो समय बालेन शाहमाथि केही प्रश्न उठेका छन् । राति सामाजिक सञ्जालमा ‘सिंहदरबार जलाइदिन्छु’ भनेर लेख्नु, अदालतविरुद्ध पनि बेलाबखत अभिव्यक्तिहरू दिनु, महानगरमा अरूलाई समन्वयन गर्न नसकेको आरोप लाग्नु अनि सम्वाद र सार्वजनिक बहसहरूमा सहभागी हुन नरुचाउनु जस्ता आरोपहरू उनीमाथि लाग्ने गरेका छन् । खासगरी जेनजी आन्दोलनपछि उनका आलोचकहरू बढेका छन् । शायद यही रक्षात्मक पोजिसनले गर्दा उनी रवि लामिछानेसँग सम्झौता गर्न तयार हुन लागेका हुन् ।
यति मात्रै नभएर बालेन शाहको वर्गीय पक्षधरतामाथि पनि तल्लो वर्गले प्रश्न र गुनासो गर्दै आएको छ । उनी जनताका नेता भन्दा पनि साउथ एसियन फिल्मको ‘हिरो’ जस्तै प्रतीत हुन्छन् ।
बागमतीका सुकुमबासीलाई बलपूर्वक हटाउन खोजेको उनीमाथि आरोप छ । शायद ०७९ चुनावमा उनलाई बागमती किनारका सुकुमबासीहरूले पनि मत दिएका थिए, तर पनि उनीसँग रिसाए । यसको असर आगामी चुनावमा देशैभरिका सुकुमबासीमा पर्न सक्छ ।
यो हेर्दा सानो कुराजस्तो देखिन्छ, तर महत्वपूर्ण वर्गीय प्रश्न हो । सुमन सायमीजस्ता काठमाडौंका कोर नेतासमेत बालेनसँग चिढिएको अवस्था छ । सडक विस्तारका क्रममा घर भत्किएकाहरू पनि उनीसँग रिसाएका छन् । तथापि, काठमाडौंमा बालेनको पक्षमा अहिले पनि राम्रो मत छ ।
विगतमा रवि लामिछाने र बालेनबीच चुनावी सहकार्य भएन । किनभने, बालेन र रविको स्वाभाव पनि मिल्दैनथ्यो, छवि पनि फरक थियो ।
कुलमान घिसिङको बेग्लै धरातल
कुलमान घिसिङ, रवि लामिछाने र बालेन शाह आपसमा मिल्न लागेको सुन्दा कतिपय प्रश्नहरू जन्मिन्छन् ।
जस्तो– कुलमानको उज्यालो नेपाल पार्टीमा पूर्वी नेपालको पहिचानवादी टिम पनि मिसिएको छ, डा. महेन्द्र लावतीहरूको नेतृत्वमा ।
पाथीभरामा पहिचानको आन्दोलनमा सरिक भएको यो समूहले कुलमान घिसिङको नेतृत्वमा पहिचानको मुद्दा अघि बढाउन सकिने ठानेको छ । साथै, देशभरिका आदिवासी जनजातिहरू कुलमानको पार्टीमा जान सक्ने सम्भावना त्यसले दिएको छ । तर, रास्वपासँग गत मध्यावधि चुनावमा इलाममा भएको बहसलाई हेर्ने हो भने पहिचान भर्सेस रास्वपा जस्तो थियो ।
यहाँनेर प्रश्न उब्जन्छ– रवि र कुलमानको एकताले रास्वपालाई पहिचानवादी बनाउने छ या कुलमान र महेन्द्र लावतीहरूलाई प्रदेशको आलोचक बनाउने छ ? कुन वैचारिक एजेण्डाका आधारमा कुलमानले पूर्वको पहिचानवादी आन्दोलनलाई रवि लामिछानेको रास्वपासँग मिलाउलान् ?

अथवा, कुलमानमाथि यो पनि प्रश्न उब्जने छ कि उनी अब उत्पीडित समुदायको मुद्दामा केन्द्रित हुनेछन् या ‘दक्षिणपन्थी लोकप्रियतावाद’को बुई चढेको शक्तिसँग सम्झौता गर्न पुग्नेछन् ? कुलमानले आफ्नै खुट्टामा उभिने स्वतन्त्र राजनीतिक दल खोलेर चुनावमा जाने आत्मविश्वास किन लिन सकेनन् ?
कुराकानीको सिलसिलामा एकजना मित्र एक महिना अगाडि यो पंक्तिकारसँग भन्दै थिए, ‘नेपालका आदिवासी जनजातिहरूले अहिलेसम्म आफ्नै पार्टीलाई भोट हाल्न पाएका छैनन् । उनीहरूले कहिले कांग्रेस र एमाले त कहिले माओवादीलाई जिताए । तर, यसपालि जनजातिहरूले आफ्नै पार्टीलाई भोट हाल्न पाउने भए ।’
यो पंक्तिकारले सोध्यो– कुन पार्टी ? जवाफ आयो– उज्यालो नेपाल पार्टी ।
के अब आदिवासी–जनजाति एवं पहिचानवादीहरूले रवि लामिछाने र बालेन शाहलाई भोट हालेर चित्त बुझाउनुपर्ने स्थिति आउन लागेको हो ? शायद यसको जवाफ समयले कुलमान घिसिङ र महेन्द्र लावतीहरूसँग खोज्ने छ । पहिचानवादीहरू कुलमानसँग रिसाए भने पूर्वी पहाडमा हर्क साम्पाङ बलियो हुनेछन् ।
अन्त्यमा,
निकट विगतमा पुराना पार्टीहरूबीच विभिन्नखालको गठबन्धन बनेकै हो । कहिले एमाले र माओवादी । कहिले कांग्रेस र माओवादी । कहिले कांग्रेस र एमाले । अनि, कहिले माओवादी–एमाले र रास्वपा ।
देशलाई चाहिएको जनताको पक्षमा काम गर्ने इमान्दार राजनीतिक दल हो या सत्ताका लागि हुने नयाँ गठजोड ? चुनावमा जनताको मुद्दा र एजेण्डा प्रधान हुन्छ या जीतको दाउपेच ?
प्रतिक्रिया 4