News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा जारी नवौं एनभीए भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् ।
- रुकुम पश्चिमको जितमा तीन पाकिस्तानी खेलाडीको प्रदर्शन निर्णायक रह्यो । यस्तै आर्मीले कोशीको कडा प्रतिस्पर्धालाई पन्छाउन सफल भयो ।
- महिलातर्फ न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले कर्णालीको चुली युवा क्लबलाई तथा एपीएफ क्लबले मधेश प्रदेश खेलकुद परिषद्लाई सोझो सेटमा हरायो ।
१२ पुस, काठमाडौं । काठमाडौंमा जारी नवौं एनभीए भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले बुढानिलकण्ठ भलिबल क्लबलाई २५-१९, २५-२१,२५-२१ को सेटमा पराजित गरेको हो ।
तीन पाकिस्तानी खेलाडीलाई समावेश गरेको रुकुम पश्चिमको जितका विदेशी खेलाडीको योगदान महत्वपूर्ण रह्यो । रुकुमका लागि अहमेद मुस्ताफाले सर्वाधिक २१ अंक जोड्दा माजर अलीले १८ अंक जोडे । यस्तै विदेशी सेटर वालिदले पनि ४ अंक जोडे । बुढानिलकण्ठका लागि सुरेश मल्लले १२ र धिरोजकाजीले ६ अंक जोडे ।
राष्ट्रिय टिमका सदस्य धिरोजकाजी बस्नेतको कप्तानीमा खेलेको बुढानिलकण्ठले रुकुम पश्चिमलाई टक्कर दिएपछि सेट आप्नो पक्षमा पार्न भने सकेन ।
त्यस्तै आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई प्रतिस्पर्धात्मक खेलमा पराजित गरेको छ । आर्मीले कोशीलाई २५-२३, २७-२५, २७-२५ ले पराजित गरेको हो ।
आर्मीका लागि सुनिल बोहराले सर्वाधिक २१ अंक जोडे । यस्तै धन बहादुर भट्टले १४ तथा शरन सामरी क्षेत्रीले १३ अंक जोडे । कोशीका लागि कप्तान विष्णु बस्नेत र रोमन बस्नेतले समान १३ अंक जोडे ।
महिलातर्फ एपीएफ र न्यु डायमण्ड विजयी
महिलातर्फको पहिलो खेलमा न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले कर्णालीको चुली युवा क्लबलाई २५-१०,२५-५,२५-१५ ले हराउँदै विजयी सुरुवात गरेको छ । न्यु डायमण्डका लागि जेनिशा विक, सुनिता खत्री, निशा महरा र सलिना बुढामगरले ११-११ अंक स्कोर गर्दा सुमित्रा रेग्मीले १० अंक जोडिन् । चुली क्लबकी करिस्मा थापाले ८ अंक जोडिन् ।
यस्तै एपीएफ क्लबले पनि मधेश प्रदेश खेलकुद परिषद्लाई साेझाे सेटमा हराउँदै विजयी सुरूवात गरेको छ । एकपक्षीय खेलमा एपीएफले मधेशलाई २५-४, २५-५, २५-४ ले पराजित गरेको हो । एपीएफका लागि राष्ट्रिय टिमकी स्पाइकर समेत रहेकी निरुता ठगुन्नाले सर्वाधिक १३ अंक जोडिन् भने पुजा थारुले ९ अंक जोडिन् । मधेशका लागि कुनै पनि खेलाडीले एक भन्दा बढी व्यक्तिगत स्कोर गर्न सकेनन् ।
प्रतिक्रिया 4