१२ पुस, काठमाडौं । नेपाल करातेको आयोजनामा राष्ट्रिय टिमका प्रशिक्षक तथा खेलाडीहरूको सहभागितामा विद्यालयस्तरका खेलाडीलाई प्रशिक्षण दिइएको छ ।
शनिबार सातदोबाटो कराते हलमा उपत्यकाका ८ सय बढी विद्यार्थीलाई नि:शुल्क प्रशिक्षण दिइएको हो ।
‘खेलाडीको वृद्धि, विकास, हौसला अभिवृद्धि गर्ने उद्देश्यले एकै ठाउँमा प्रशिक्षण गरिएको हो,’ राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठले भने, ‘यस कार्यक्रमले विद्यालय स्तरका खेलाडीलाई सही मार्गदर्शन, प्रेरणा र राष्ट्रिय टिम सम्म पुग्ने लक्ष्यमा सहयोग पुग्ने विश्वास लिइएका छौँ ।’
हरेक शनिबार निरन्तर रूपमा नि:शुल्क प्रशिक्षण प्रदान गर्दै आएको यो कार्यक्रम नवौँ हप्तामा प्रवेश गरेको अवसरमा विशेष बनाइएको र सहभागी सम्पूर्ण खेलाडीहरुलाई निशुल्क च्याम्पियनहरुको हस्ताक्षर सहितको टिसर्ट प्रदान गरिएको कार्यक्रम संयोजक पुरुषोत्तम पोखरेलले जानकारी दिए ।

विद्यालय स्तरका विद्यार्थी भाई बहिनीहरु सङ अनुभव साझा गर्न पाउँदा आफुलाई खुशी लागेको कराते स्टार खेलाडी एरिका गुरुङले बताइन् ।
प्रशिक्षणमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ, काता प्रशिक्षक मण्डेकाजी श्रेष्ठ, स्टार खेलाडी एरिका गुरुङ, सानुमाया थिङ,स्वनिम मानन्धर,महमद सेखु आलाम,राष्ट्रिय टिमका क्याप्टेन सन्तोष श्रेष्ठले प्रशिक्षण प्रदान गरेका थिए ।
हाल उपत्यका लक्षित गरिएको कार्यक्रम आवश्यकता अनुसार सातै प्रदेशमा गरिने पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया 4