+
+
Shares

गोगनेको ‘कालो सुन’ र पैसाको थुप्र

सामूहिक व्यावसायिक खेतीमा होमिएका गोगनेका किसानले सामूहिक खेतीबाट मात्रै यो वर्ष १ करोड १७ लाख रुपैयाँ भित्र्याएका छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ पुष १४ गते २१:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोगनेका ४६ परिवारले १२–१३ जनाको समूह बनाएर सामूहिक व्यावसायिक अलैंची खेतीबाट यस वर्ष १ करोड १७ लाख रुपैयाँ आम्दानी गरेका छन्।
  • यस वर्ष गोगनेका किसानले प्रतिमन ९८ हजार रुपैयाँ दरले १ सय १९ मन अलैंची बिक्री गरेका छन्।
  • किसानहरूले पानी व्यवस्थापन, गोड्ने, टिप्ने लगायत मेहनत र लगानी गरी आधुनिक प्रविधि प्रयोग गरेर खेती गरेका छन्।

१४ पुस, विराटनगर । दुई वटा टेबल, त्यसमाथि नोटका बिटाको थुप्रो र वरिपरि खुसी मुद्रामा हिसाबकिताब गरिरहेका किसानहरू । सोमबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको यो तस्बिर संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसवाखोलास्थित गोगनेका किसानहरूले अलैंची बिक्री गरेपछि आम्दानी बाँडफाँट गरिरहदाकाे हाे ।

परम्परागत खेतीलाई छाडेर सामूहिक व्यावसायिक खेतीमा होमिएका गोगनेका किसानले सामूहिक खेतीबाट मात्रै यो वर्ष १ करोड १७ लाख रुपैयाँ भित्र्याएका छन् । यस वर्ष अलैंचीको बजार भाउ निकै राम्रो रहेकाले किसानहरू उत्साहित छन् । वडा सदस्य हेमराज राईका अनुसार गाेगनेका किसानहरूले याे वर्ष प्रतिमन ९८ हजार रुपैयाँका दरले १ सय १९ मन अलैंची बिक्री गरेका छन्।

उनका अनुसार हेर्दा पैसाको चाङ देखिए पनि किसानले सहजै आम्दानी गरेका भने होइनन् । खेतीका लागि लगानी र मेहनत पनि पर्याप्त गरेका छन् । ‘बाहिरबाट पाइपमा पानी ल्याएर फिरफिरे मार्फत पानी लगाउनु पर्छ, वर्षमा चार पटक गोड्नु पनि पर्छ’ उनले भने,’ टिप्नु पर्छ, छाेडार सुकाएपछि मात्रै बिक्रीका लागि तयार हुन्छ ।’

गोगने गाउँका ४६ परिवार मिलेर १२–१३ जनाका विभिन्न समूह बनाई सामूहिक खेती गर्दै आएका छन् । सामूहिक खेतीबाहेक किसानहरूले व्यक्तिगत रूपमा पनि अलैंची लगाएका छन् । वडा सदस्य राईका अनुसार यो वर्ष सो वडाका किसानहरूले १० करोडभन्दा बढीको अलैंची बिक्री गरेका छन् ।

गोगनेका किसानले करिब ५–६ वर्षअघि सामुदायिक वनको जग्गा भाडामा लिएर व्यावसायिक अलैंची खेती सुरु गरेका थिए । यो सामूहिक प्रयासले अहिले उनीहरूको आर्थिक जीवनस्तरमा परिवर्तन ल्याएको छ । ‘हाम्रो वडाका किसानले १० करोड भन्दा बढीको अलैची बेच्नु भएको छ,’ उनले भने,‘ गोगनेमा ४६ परिवारले १२–१३ जनाको समूह बनाएर खेती गर्नु भएको छ ।’

किसानकाे खेती गर्ने तरिका पनि व्यवस्थित छ । किसानले आफ्नो जिम्मेवारी बाँडफाँट गरेका छन् । यदि कसैले तोकिएको जिम्मेवारी पूरा नगरेमा हर्जाना तिर्नुपर्ने नियमसमेत बनाइएको छ । यसले गर्दा काममा अनुशासन र अपनत्व बढाएको छ । भौगोलिक विकटताका बाबजुद आधुनिक प्रविधि र सामूहिक जाँगरलाई मिसाउँदा गोगनेका किसानले आम्दानी राम्राे गरेका हुन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?