News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय क्रिकेट टोलीकी उपकप्तान स्मृति मन्धनाले महिला अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गर्ने चौथो खेलाडी बनेकी छन्।
- मन्धनाले सबै फर्म्याटमा जम्मा २८१ इनिङ्समै १० हजार रन पूरा गर्ने सबैभन्दा छिटो कीर्तिमान बनाएकी छन्।
- आइतबार श्रीलंकाविरुद्धको टी–२० खेलमा ८० रन बनाएर मन्धनाले भारतको सर्वाधिक छक्का प्रहार गर्ने महिला खेलाडी पनि बनेकी छन्।
१४ पुस, काठमाडौं । भारतीय क्रिकेट टोलीकी उपकप्तान स्मृति मन्धना महिला अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गर्ने चौथो खेलाडी बनेकी छन्। यस उपलब्धिसँगै उनी भारतबाट यो आँकडा पार गर्ने दोस्रो खेलाडी बनेकी हुन्। यसअघि मिथाली राज १० हजार ८६८ रनसहित भारतको शीर्ष स्थानमा रहेकी छन्।
मन्धनाभन्दा अघि यो कीर्तिमान पूरा गर्ने अन्य खेलाडीहरूमा न्युजिल्यान्डकी सुजी बेट्स (१० हजार ६५२ रन) र इंग्ल्यान्डकी चार्लोट एड्वार्ड्स (१०,२७३ रन) छन्।
मन्धनाले सबैभन्दा छिटो १० हजार रन पूरा गर्ने कीर्तिमान पनि बनाएकी छन्। उनले सबै फर्म्याटमा गरेर जम्मा २८१ इनिङ्समै यो उपलब्धि हासिल गरिन्। मिथाली राजले २९१ इनिङ्समा, चार्लोट एड्वार्ड्सले ३०८ इनिङ्समा र सुजी बेट्सले ३१४ इनिङ्समा यो आँकडा पूरा गरेका थिए।
आइतबार भएको श्रीलंकाविरुद्धको चौथो टी–२० अन्तर्राष्ट्रिय खेलअघि मन्धना ९ हजार ९७३ रनमा थिइन् । उक्त खेलमा उनले ८० रन (४८ बल) को उत्कृष्ट इनिङ खेल्दै १० हजार रन पूरा गरिन्। उनले शेफाली वर्मासँग मिलेर १६२ रनको ओपनिङ साझेदारी गरिन्, जुन भारतको टी–२० अन्तर्राष्ट्रिय इतिहासकै सबैभन्दा ठूलो साझेदारी हो।
यस इनिङमा तीन छक्का प्रहार गरेकी मन्धनाले हरमनप्रीत कौरलाई पछि पार्दै भारतकी सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी पनि बनेकी छन्।
यो उपलब्धिले मन्धनाको शानदार वर्षलाई थप ऐतिहासिक बनाएको छ। हालै सम्पन्न महिला विश्वकपमा उनले एकै क्यालेन्डर वर्षमा १००० एकदिवसीय रन बनाउने पहिलो महिला खेलाडी बन्दै कुल १३६२ रन बनाएकी थिइन्। यस वर्ष उनले ५ एकदिवसीय शतक पनि बनाएकी छन्।
यसअघि नै मन्धना महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेकी थिइन्। यस सूचीमा हाल सुजी बेट्स (४७१६ रन) शीर्ष स्थानमा छिन्।
प्रतिक्रिया 4