News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल संस्कृत विश्वविद्यालयमा सानुमैयाँ खड्काले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्जना सिद्धान्तबाट विद्यावारिधि हासिल गरेकी छन्।
- शोधले ओलीका अभिव्यक्तिमा उखान–टुक्कामा सीमित नभई गहिरा दार्शनिक अर्थ रहेको निष्कर्ष निकालेको छ।
- शोधमा ओलीको \'समृद्ध नेपाल, सुखी नेपाली\' नारा दर्शनको रूपमा विकसित भएको र अन्य विश्व नेताहरूको भाषणसँग तुलना गरिएको छ।
१५ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधि गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उखान–टुक्कामा सीमित नभई व्यञ्जना सिद्धान्तका गहिरा दार्शनिक अभिव्यक्तिहरू भएको निष्कर्ष निकालिएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रसमक्ष सानुमैयाँ खड्काले आफ्नो विद्यावारिधिको शोधमा पूर्वप्रधानमन्त्री ओलीका भाषणलाई पूर्वीय दर्शनको सैद्धान्तिक दृष्टिकोण अर्थात् व्यञ्जना सिद्धान्तबाट विश्लेषण गरेकी हुन् ।
ओलीका अभिव्यक्तिमा प्रयोग हुने कथनमा व्यञ्जना अर्थ रहेको शोधको निष्कर्ष रहेको उनले सुनाइन् । शोधमा ओलीद्वारा अघि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा राष्ट्रिय आकाङ्क्षा एवं गन्तव्य मात्र नभई समयानुकूल विकसित हुँदै सिद्धान्त र दर्शनको रूपमा विकसित भएको आफ्नो ठहर रहेको खड्काको भनाइ छ ।
‘उक्त आकांक्षा अब आत्मसम्मान र सामाजिक न्यायको समिश्रित आयामहरूमा आधारित दर्शन रहेको शोधको निचोड छ,’ उनले भने ।
खड्काले उक्त शोधको आज प्रतिरक्षा (डिफेन्स) गरी उपाधि हासिल गरेकी छन् । यो नेपालको राजनीतिक वक्तृत्व परम्परामा पूर्वीय चिन्तनको प्रयोग गरिएको पहिलो विद्यावारिधिस्तरीय शोध भएको जनाइएको छ ।
शोधमा विश्व चर्चित नेताहरू बाराक ओबामा, डोनाल्ड ट्रम्प, सी चीनफिङ, नरेन्द्र मोदीलगायतका अभिव्यक्ति तथा भाषणशैलीको पनि तुलनात्मक अध्ययन गरिएको छ ।
तुलनात्मक समीक्षामा ओलीका अभिव्यक्तिहरूमा मौलिकता, सांस्कृतिक गहिराइ र प्रतीकात्मक भाषिक संरचनाको विशिष्ट पहिचान रहेको उल्लेख गरिएको छ ।
यस अध्ययनलाई नेपाली राजनीतिक भाषाशास्त्र, वक्तृत्व अध्ययन, दार्शनिक विमर्श तथा समकालीन राजनीतिक अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण शैक्षिक योगदानको रूपमा लिइएको छ ।
खड्काले आगामी दिनमा नेपाली नेताहरूका भाषण, अभिव्यक्ति र वैचारिक संरचनालाई व्यवस्थित रूपमा अभिलेखीकरण, विश्लेषण र शैक्षिक बहसमा रूपान्तरण गर्नु आवश्यक रहेको बताइन् ।
उनले नेपाली नेताहरूका अभिव्यक्तिमा निहित सांस्कृतिक अर्थ, दार्शनिक गहिराइ र संरचनालाई समेटेर अघि बढाइने अनुसन्धान परम्पराले बौद्धिक जगतलाई नयाँ दिशातर्फ उन्मुख गराउने विश्वास पनि व्यक्त गरिन् । शोधका लागि डा. ऋषिराम शर्मा निर्देशक तथा प्रा.डा. भागवत ढकाल र प्रा. केशव सुवेदी विशेषज्ञ रहेका थिए । रासस
प्रतिक्रिया 4