News Summary
Generated by OK AI. Editorially reviewed.- वीर अस्पतालले काठमाडौँ कोटेश्वरकी १०३ वर्षीय वृद्धाको मस्तिष्कमा ठूलो रक्तस्रावको सफल शल्यक्रिया सम्पन्न गरेको छ।
- डा. राजीव झाका नेतृत्वको टोलीले उच्च उमेर र नाजुक अवस्थाका बाबजुद शल्यक्रिया गरेको र बिरामीको अवस्था सुधारिएको बताए।
- १०० वर्षभन्दा माथिका व्यक्तिमा यस्तो सफल न्युरोसर्जिकल शल्यक्रिया विश्वमै दुर्लभ रहेको र नेपाली चिकित्सा क्षेत्रको क्षमता देखाएको डा. झाले उल्लेख गर्नुभयो।
१५ पुस, काठमाडौं । वीर अस्पतालले मस्तिष्कमा भएको ठूलो रक्तस्रावको सफल शल्यक्रिया सम्पन्न गरेको छ । अस्पतालले काठमाडौँ कोटेश्वरकी १०३ वर्षीय वृद्धाको विश्वमै दुर्लभ मानिने न्युरोसर्जिकल उपलब्धि प्राप्त गरेको हो ।
वीर अस्पतालका न्युरो विभागका प्रमुख वरिष्ठ न्युरोसर्जन डा. राजीव झाका अनुसार अत्यन्तै नाजुक र उच्च उमेर हुँदाहुँदै पनि सफल मस्तिष्क शल्यक्रिया हुनु चिकित्सकीय क्षेत्रमा महत्वपूर्ण उपलब्धि हो ।
परिवारका सदस्यका अनुसार उनलाई एक महिनादेखि टाउको दुख्ने र पटक–पटक लड्ने समस्या देखिएको थियो । परिवारले सुरुमा यसलाई अत्यधिक उमेर र सामान्य कमजोरीका कारण भएको ठानेको थियो ।
तर दुई दिनसम्म लगातार बेहोस भएपछि उनलाई नजिकैको अस्पताल लगिएको थियो । त्यहाँबाट उनलाई वीर अस्पताल रेफर गरिएको थियो ।
वीर अस्पतालका अनुसार इमरजेन्सीमा आइपुग्दा उनी अचेत नै थिइन् । विस्तृत जाँच–परीक्षणपछि उनको मस्तिष्कमा धेरै ठूलो रक्तस्राव सबडुरल ह्यामरेज) भएको पत्ता लाग्यो, जसका लागि तत्काल न्युरोसर्जिकल शल्यक्रिया आवश्यक थियो ।
यो अवस्थामा तत्काल न्युरोसर्जरी आवश्यक थियो । तर, १०३ वर्षको अत्यधिक उमेरका कारण शल्यक्रिया चिकित्सकीय दृष्टिकोणबाट अत्यन्त चुनौतीपूर्ण थियो । बिरामीको परिवारले पनि सुरुमा बाँच्ने आशा लगभग गुमाइसकेको अवस्था थियो ।
यद्यपि, वीर अस्पतालको न्युरोसर्जरी विभागले गहिरो छलफल, विशेषज्ञ परामर्श र परिवारसँग विस्तृत कुराकानीपछि शल्यक्रिया अघि बढाउने सामूहिक निर्णय लिएको थियो ।
डा. राजीव झाको नेतृत्वमा ड. समीर आर्याल, डा. नम्रता खड्का, डा. आयुष विमली, नर्स सिन्धु गौतमलगायतका टोलीले शल्यक्रिया गर्यो ।
शल्यक्रियापछि बिरामीको अवस्थामा उल्लेखनीय सुधारदेखिए सँगै भोलि डिस्चार्ज गर्ने तयारी भएको डा. झाले बताए ।
हाल उनी पूर्ण होसमा छिन्, बोल्न सक्ने भएकी छिन् र आफैं खाना खानसमेत थालेकी छिन् । झाले यो सफलतालाई उल्लेख गर्दै भने, ‘यति नाजुक र उच्च उमेरमा मस्तिष्क शल्यक्रिया गर्नु चिकित्सकीय तथा नैतिक दृष्टिले ठूलो चुनौती थियो । तर, विभागीय छलफल र परिवारसँगको परामर्शपछि हामीले शल्यक्रिया गर्ने निर्णय गर्यौँ । परिणाम सफल भयो ।’
उनका अनुसार १०० वर्षभन्दा माथिका व्यक्तिमा सफल मस्तिष्क शल्यक्रिया विश्वमै अत्यन्त दुर्लभ छ । अन्तर्राष्ट्रिय रूपमा यस्ता केही मात्र केसहरू रिपोर्ट भएको उनले बताए ।
चिकित्सा क्षेत्रका जानकारहरूका अनुसार, १०० वर्षभन्दा माथिका बिरामीमा सबड्युरल हेमेटोमाजस्तो जटिल अवस्थाको शल्यक्रिया उच्च जोखिमयुक्त हुन्छ ।
मस्तिष्कको नाजुक संरचना, कमजोर स्वास्थ्य र पोस्ट–अपरेटिभ जटिलताको सम्भावना बढी हुने भएकाले धेरैजसो केसहरूमा शल्यक्रिया नै गरिँदैन ।
डा. झा भन्छन्, ‘वीर अस्पतालको न्युरोसर्जरी विभाग असाधारण उपलब्धि हासिल गर्दा खुसी लागेको छ । नेपाली चिकित्सा क्षेत्रको क्षमता र समर्पणलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गरेको छ ।’
प्रतिक्रिया 4