+
+
Shares
रविलक्ष्मी चित्रकारसँग वार्ता :

‘सासै फेर्न नसकेर ढलें, होसमा आउँदा देब्रे हात काटिएको रहेछ’

घाइतेले त आत्मबल बलियो बनाएर बाँच्ने सोच राख्नुपर्छ । उहाँहरू किन घाइते हुनुभयो ? किन आन्दोलनमा निस्किनुभएको हो ? उहाँहरूको भावना पवित्र थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते २२:०३

भदौ २४ को जेनजी आन्दोलनका कारण घर आगलागी हुँदा रविलक्ष्मी चित्रकार गम्भीर घाइते भइन् । संक्रमण फैलिंदै जाँदा उनको देब्रे हात काट्नुपर्‍यो । कीर्तिपुर अस्पतालमा उपचार गरिरहँदा निमोनिया समेत भयो । त्यसपछि उनलाई थप उपचारका लागि भारतको एपोलो अस्पताल लगियो । लामो समयको उपचारपछि अहिले चित्रकार नेपाल फर्किएकी छिन् । तर यताउति गर्न पनि कसैको सहारा चाहिन्छ । २४ भदौमा उनले भोगेको कहालीलाग्दो क्षण र नेपालको समग्र स्वास्थ्य प्रणालीसँग सम्बन्धित भएर चित्रकारसँग अनलाइनखबरकर्मी सन्त गाहा मगरपुष्पराज चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश :

अहिले यहाँको स्वास्थ्य अवस्था कस्तो छ ?

विस्तारै सुधार हुँदैछ । निको भइसकेको छैन ।

पहिला र अहिलेको दैनिकीमा के-के फरक परेको छ ?

धेरै फरक परेको छ । बिरामी हुनुभन्दा पहिले बिहानै उठ्थें, सक्रिय हुन्थें, घरको सबै काम आफैं गर्थें। अब त अरूको सहयोग विना केही गर्न सक्दिनँ । उठ्न पनि कसैको सहारा चाहिन्छ । बिहानको सबै काम गर्न साथी नै चाहिन्छ ।

पहिले अरूलाई सेवा गर्थेँ, अब अरूको सेवा लिनुपर्ने भएको छ । दुवै हात राम्रोसँग चल्दैनन्, त्यसैले प्याड वा मोबाइल अरूले चलाएर समाचार सुनाइदिन्छन् । आफैं हेर्न-पढ्न गाह्रो छ । दिनचर्या यसैगरी बितिरहेको छ ।

खानपानमा चाहिं नियमित भएको छ कि छैन ? केही कुरा खान नमिल्ने भन्ने छ ?

खानपानमा केही प्रतिबन्ध छैन । जे खाए पनि हुन्छ ।

औषधि पनि लिनुभएको छ ?

खास धेरै त छैन, तर भिटामिनहरू लिएकी छु ।

भनेपछि अहिले शारीरिक रूपमा स्वास्थ्य सुधार हुँदै गएको छ ?

सुधार त भइरहेको छ तर एकदमै गम्भीर घाउ भएकाले सुधार चाहिं ढिला भइरहेको छ ।

नेपालमा उपचार भइरहेको थियो । के कारणले तपाईंलाई दिल्लीस्थित एपोलो अस्पताल जानुपर्‍यो ?

नेपालमा त औषधि नै पाइएन । निमोनियाको औषधि नपाएर दिल्ली जाने बाध्यता भयो । यहाँ औषधि भएको भए त यति दुःख हुन्थेन होला ।

भारतको अस्पतालमा उपचार गर्दा के फरक पाउनुभयो ?

म पुगेको अस्पतालमा धेरै डिपार्टमेन्ट छन् । डिपार्टमेन्टबीच कोअर्डिनेसन एकदम राम्रो छ । कोअर्डिनेसन राम्रो भएकाले जुन रोग लिएर गए पनि छिट्टै उपचार हुन्छ ।

पोलेको घाउ एउटै डिपार्टमेन्टमा उपचार गरेर मात्रै हुँदैन । त्यसमाथि मलाई उपचारको क्रममा निमोनिया पनि भयो । त्यसका लागि छुट्टै डाक्टर र औषधि चाहियो । त्यहाँ छिट्टै व्यवस्था भयो, औषधि पाइयो, निको हुँदै गयो ।

२४ भदौको घटना अहिले सम्झन सक्नुहुन्छ ? त्यतिबेला कहाँ हुनुहुन्थ्यो ?

त्यस दिन खाना खाएका थिएनौं । करिब १२ बजेको हुँदो हो । खाना खान माथिपट्टि गएकी थिएँ । एक्कासि ढुङ्गा हान्न थाले । ढुङ्गा हानेर जान्छन् होला भनेर हामी सुरक्षित ठाउँमा बसिरहेका थियौं । ढुङ्गा हान्दाहान्दै धुवाँको मुस्लो आइहाल्यो । त्यो धुवाँ एकदमै कडा थियो । अलिकति पर पनि देखिंदैनथ्यो । पोल्ने खालको थियो ।

हात नभए पनि हात भएको फिल हुनेरहेछ । एकैचोटि हात नभएको महसुस नै भएन ।

छोएको मात्रै थियो मेरो हात जलिहाल्यो । एकैछिनमा सास फेर्न नसकेर म ढलेकी रहेछु, आफूलाई थाहा भएन । धेरै घण्टापछि अरूले खोज्दाखोज्दा पनि नदेखेका रहेछन् । तल झर्नै नमिलेर भर्‍याङ सबै धुवाँले देखिंदैनथ्यो । मलाई रेस्क्यु गर्नेहरू छिमेकीको घरबाट आएका रहेछन् । पानी छम्केपछि घरमै एकछिन होस आएको थियो । त्यहाँबाट यही नजिकैको छाउनी अस्पताल लगियो ।

रविलक्ष्मीलाई उद्धार गरिएको छिमेकीको घर

घरमा त्यतिबेला अरू को-को हुनुहुन्थ्यो ?

छोरा थियो, एक जना पुलिस भाइ पनि थिए । छोरो बरन्डामा पुगेको कारण केही भएन । म बरन्डामा पुग्न नपाउँदै त्यहीं बेहोस भएछु । हावामा पुग्न सकिनँ, त्यो धुवाँ एकदमै कडा थियो, सास फेर्न नसकेर ढलिहालें ।

त्यो बेलाको पीडा अहिले महसुस गर्न सक्नुहुन्छ ?

पीडाभन्दा पनि सास फेर्नै नसक्ने अवस्था थियो । कसरी बाँच्ने भन्ने मात्रै थियो । त्यसपछि त केही थाहा भएन । धेरैपछि पानी छम्किएपछि होसमा आएँ । छिमेकीले भर्‍याङ लगाएर उद्धार गरेका रहेछन् । छाउनी अस्पतालमा पुगेपछि मलाई केही याद छैन ।

होसमा आइपुग्दा कस्तो अवस्थामा हुनुहुन्थ्यो ?

कीर्तिपुर अस्पतालको बेडमा रहेछु । घाइते भएको रहेछु भन्ने थाहा पाएँ । देब्रे हात काटिएको रहेछ केही थाहा नै भएन । छाउनी अस्पतलाबाट नै भेन्टिलेटरमा राखेर कीर्तिपुर लगिएको रहेछ । साथीहरूले पछि भनेपछि थाहा पाएँ । एम्बुलेन्समा पनि धेरै ढुंगा आएका रहेछन् । अस्पतालमा पनि आक्रमण गर्न आएका रहेछन्, साथीहरूले बचाएका रहेछन् ।

हात छैन भन्दा कस्तो महसुस हुँदोरहेछ ?

हात नभए पनि हात भएको फिल हुने रहेछ । अहिले पनि महसुस अझै हुन्छ । एकैचोटि हात नभएको महसुस नै भएन । डाक्टरहरूको कुरा सुनेर मात्र थाहा भयो- हात काटिएको रहेछ । पीडा भएर पनि होला । पीडा नहुने औषधि खुवाएर पनि होला । हात काटिएको जस्तो लागेकै थिएन । पछि-पछि मात्र बुझें ।

मानसिक र शारीरिक पीडामध्ये कुन बढी हुँदोरहेछ ?

अहिले त शारीरिक पीडा नै बढी छ । एउटा हात छैन, अर्को हात पनि राम्रोसँग चल्दैन । दैनिक काममा अरूको सहारा चाहिन्छ । यदि यो निको भएको भए फुर्ती आउँथ्यो होला, तर अहिले त अरूको भरमा बाँच्नुपर्ने अवस्था छ । शरीरका विभिन्न भागमा जलन छ । खुट्टा, पिठ्यूँ, टाउकोमा अलिअलि, तर सबैभन्दा बढी दुवै हातमा परेको थियो । पीडा २४सै घन्टा हुन्छ । बाहिरी घाउ त निको भइसके जस्तो देखिन्छ, तर भित्रसम्म गहिरो जलन भएकोले फोका उठ्ने, दुख्ने समस्या बारम्बार आउँछ । पूरै निको हुन झन्डै एक वर्ष लाग्ने डाक्टरहरूले भनेका छन् ।

विदेश जानुपर्ने भए महँगो भयो । ३० वर्ष शासन गरेर पनि स्वास्थ्य क्षेत्रमा आवश्यक सुधार ल्याउन सकिएन । यो कमजोरी भइहाल्यो । कमजोरी नभएको भए यस्तो आन्दोलन हुने थिएन ।

चिन्ता गरेर केही हुन्छ र ? आखिरमा लड्नैपर्छ । पहिले पनि म यस्तै थिएँ । चिन्ता धेरै लिदिनथें । जुन घटना घटिसक्यो, त्यो फर्केर आउँदैन । चिन्ता लिएर केही काम छैन । बलियो भए भने त निको छिट्टै हुन्छ । कसरी अगाडि बढ्ने भन्ने मात्र सोच्छु ।

जीवनभरि कमाएर बनाएको घर जलेको छ । शारीरिक रूपमा यति दुःख छ । तर मानसिक रूपमा बलियो हुनुहुन्छ । यो अवस्थालाई कसरी सहज रूपमा लिन सक्नुभएको छ ?

राजनीतिक मान्छेसँग जोडिएको जीवनमा यस्ता घटना आउँदा रहेछन् । मैले सहज रूपमै लिएकी छु । भइसकेको घटनालाई चिन्तामा डुबेर फर्किंदैन । निराकरण त गर्नुपर्छ, तर चिन्ता लिएर बस्ने होइन । त्यसैले मैले त्यस्तो केही लिएकी छैन ।

कीर्तिपुर अस्पतालको उपचार र नेपालको समग्र स्वास्थ्य सेवालाई कसरी हेर्नुहुन्छ ?

कीर्तिपुर बर्न अस्पतालले आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्‍यो । डाक्टरहरू बाहिरबाट बोलाएर पनि उपचार गर्नुभयो । तर औषधि नै भएन । पोलेको घाउ मात्र होइन त्यसपछि इन्फेक्सनले निमोनिया भयो, मुटुको समस्या देखियो । सबै डिपार्टमेन्टको व्यवस्था गर्न गाह्रो भयो । पोलेको घाउमा मात्रै सीमित हुने रहेनछ । विभिन्न समस्या आउने रहेछन् ।

आन्दोलनका क्रममा घाइते हुनुभएकाहरूलाई के सन्देश दिनुहुन्छ ?

घाइतेहरूलाई त आत्मबल बलियो बनाएर बाँच्ने सोच राख्नुपर्छ । उहाँहरू किन घाइते हुनुभयो ? किन आन्दोलनमा निस्किनुभएको हो ? उनीहरूको भावना पवित्र थियो ।

देशलाई राम्रो बनाउने, सुशासनको माग गर्ने । तर पवित्र भावना पछाडि कसको षड्यन्त्र थियो, कसले उनीहरूलाई अगाडि सारेर २४ घण्टाको घटना घटाउन खोज्यो, त्यो हेर्नुपर्छ । अबोध भाइबहिनीहरूलाई प्रयोग गरेर यस्तो दर्दनाक अवस्था निम्त्याउनेहरूमाथि कारबाही हुनुपर्छ । घाइतेहरूले आत्मबल बलियो बनाएर बाँच्नुपर्छ ।

सकेसम्म सरकारले ध्यान दिनुपर्छ । उनीहरू जानेर वा नजानेर आइपुगेका हुन्, तर देशलाई राम्रो बनाउने भावनाले आएका हुन् । त्यसको पछाडि २४ घण्टामा घटना घटाउने गरी अबोध भाइबहिनीहरूलाई अगाडि सारिएको थियो ।

तपाईंको विश्लेषणमा आन्दोलन के थियो ?

आन्दोलन गर्न नहुने भन्ने होइन । तर यो नियोजित रूपमा २४ घण्टामा घटना घटाउनका लागि गरिएको रहेछ । आन्दोलन त गर्नुपर्छ । सुशासनका लागि आवाज उठाउनुपर्छ, प्रशासनका लागि आवाज उठाउनुपर्छ । उनीहरूले उठाएको आवाजमा हाम्रो पनि साथ छ । तर आवाज उठाउँदैमा हटिहाल्ने पनि होइन । त्यसका लागि लामो प्रक्रियामा जानुपर्छ । उनीहरूको भावनाको प्रयोग अरूले गर्‍यो । त्यो गर्नेहरूले पनि बुझ्नुपर्छ । उनीहरूले उठाएको आवाज राम्रो लाग्छ, तर यो आजको भोलि हुने कुरा होइन । यसका लागि लामो प्रक्रिया चाहिन्छ । पहिला उनीहरूले कसरी हटाउने भनेर बुझ्नुपर्छ । आवाज उठाएर मात्र हट्ने होइन । यसका लागि लामो संघर्ष गर्नुपर्छ ।

नेताको परिवार र नातागोतालाई बढी प्रिभिलेज छ भन्ने आरोपले मानिसहरूलाई आक्रोशित बनाएको देखियो । अहिले पनि चुनाव घोषणा भएको बेलामा समानुपातिकमा नेताका नातागोता परे भनेर कुरा उठेको छ । यो समस्या कसरी समाधान गर्न सकिन्छ ?

नातागोताको कुरा राम्रो होइन । उनीहरूको योगदानको रूपमा छान्नुपर्छ । पार्टीले निर्णय गर्नुपर्छ । कसैको व्यक्तिगत इच्छाले कसैलाई माथि उठाउनु राम्रो होइन ।

२४ गते धेरै घर जले । चार-पाँच सय घर जल्दा पनि कतैबाट सान्त्वना कम आयो । सर्वोच्च, सिंहदरबार जलेकोमा दुःख लाग्छ भन्ने, तर नेताको घर जलेकोमा मानिसहरू खुसी जस्तो भए, दुःख नमाने जस्तो गरे । तपाईंलाई यस्तो अनुभूति भयो कि भएन?

नेताले गर्नुपर्ने काम नगरेका पनि हुन् । उनीहरूले भ्रष्टाचारलाई वास्ता नगरेका हुन् । नातावादमा प्रश्रय दिएका पनि छन् । केही नेताको कमजोरीलाई हाइलाइट गरियो । सबै नेताले त्यस्तै गर्छन् भन्ने ठानेका होलान् । नेताहरू कमजोर छैनन् भन्न सकिँदैन ।

समाजमा भ्रष्टाचार कहिले निर्मूल भएन । नातावाद पनि त्यस्तै हो । तर सबै त्यस्तै हुन्छ भन्ने होइन । नेताहरूको कमजोरीले पनि यस्तो घटना घटाउन सजिलो भयो । जुन शक्तिले घटायो, उसको खोट खोज्नुपर्छ । सुशासनको घटना घटाउन मलजल जस्तो भयो । नेताहरूको कमजोरीले नै उनीहरूलाई मलजल दियो र घटना घटायो । यसमा नेताहरूको भौतिक सम्पत्ति नष्ट भयो । कतिपयको घर जलाइयो, नगरपालिका, गाउँपालिकादेखि सर्वोच्च अदालत जले । यो ठिक होइन । यो एक दिनको कार्यक्रम होइन, लामो समयका योजनाअन्तर्गत आएको हो ।

कसको घर कहाँ छ भनेर कसरी थाहा हुन्छ ? सबै घरमा एकैचोटि आक्रमण हुनु भनेको बिना योजना हुँदैन । काठमाडौंमा मात्र होइन, देशभरि भयो ।

यसको पछाडि कुन शक्ति लुकेको छ ? त्यो शक्तिले देशलाई फाइदा गर्छ कि गर्दैन ? जनताले बुझ्ने बेला आएको छ ।

पछिल्लो ३० वर्षमा शासन सत्तामा बसेका नेताहरूले राम्रो डेलिभरी गरेको भए, यस्तो घटना हुँदैनथ्यो जस्तो लाग्छ ? उदाहरणका लागि, तपाईं घाइते हुनुभएको बेला यहीँ उपचार गर्ने अवस्था बन्न सक्थ्यो कि ?

लाग्छ । राम्रो अस्पताल पनि खोल्न सकेनन्। ३० वर्ष भइसक्यो। जनताले उपचारका लागि विदेश जान महँगो हुन्छ । पोलेको घाउको उपचार धेरै महँगो हुन्छ । ३० वर्ष शासन गरेर पनि स्वास्थ्य क्षेत्रमा आवश्यक सुधार ल्याउन सकिएन । यो कमजोरी भइहाल्यो । यस्तो आन्दोलनको पछाडि लुकेकाहरूले कहाँबाट फाइदा लिन्छन् ? हाम्रो देशमा दुई ठूला देश छन्, उनीहरूका लागि यो दुःख दिनेका लागि पनि हाम्रो देश चाहियो । हामीले बुझ्नुपर्छ ।

तपाईंको उपचारमा धेरै खर्च भयो होला । सरकारले सहयोग गरेको छ कि?

सबै साथीहरूबाट सहयोग भएको छ । सरकारले केही भनेको छैन, सोधेको पनि छैन ।

तपाईंले आग्रह गर्नुभएको छैन ? उनीहरूबाट सोधपुछ भएको छैन ?

भएको छैन । सबै साथीहरूको सरसहयोगमा भएको छ ।

सरकारले उपचार गर्नुपर्थ्यो भन्ने लाग्दैन ?

साथीहरूको भर हो, केही सोच्दिनँ । यो सरकार कसको प्रभावमा बनेको भन्ने सबैले बुझेको कुरा हो । जेनजीको नाममा बाहिरी शक्तिहरूले प्रयोग गरेर उनीहरूको इच्छाअनुसार बनाएको भएर हामीले किन सोच्नु ? सोच्ने भए त घर किन जलाउन दिएको ? यो घर विशेष केमिकल ल्याएर जलाएको हो । त्यस्तो धुवाँ मैले कहिले देखेकै थिइनँ । हिटलरको ग्यास चेम्बरमा बाल्ने ग्यास जस्तो लाग्छ ।

घरको याद आउँछ कि आउँदैन ? त्यहाँका सबै भौतिक कुरा नष्ट भए । कुन कुराले बढी याद दिलाउँछ?

याद त आउँछ । अस्पतालको शैय्यामा हुँदा पनि सम्झनाहरू आए । पुस्तकहरू नजलेको भए हुन्थ्यो । किताबहरू कलेक्सन गर्न गाह्रो हुन्छ । धेरै पुस्तक कलेक्सन थियो । फेरि पाउन मुस्किल हुन्छ । बढी चिन्ता किताबहरूमा भयो । झलनाथ खनाल (श्रीमान्) पनि पुस्तक लेखिराख्नुभएको थियो । तर प्रकाशित भएको थिएन । पाण्डुलिपिहरू जले । त्यसमा धेरै चिन्ता भयो ।

भइसकेको क्षति चिन्तामा डुबेर फर्किंदैन । निराकरण त गर्नुपर्छ, तर चिन्ता लिएर बस्ने होइन ।

घाइते भएपछि श्रीमान्‌सँग कति दिनपछि सम्पर्क भयो ?

तीन-चार दिनपछि भेट भयो । उहाँहरूको मोबाइल बन्द थियो । एक किसिमको धेराभित्र हुनुहुन्थ्यो । सेनाको सुरक्षा थियो ।

व्यक्तिगत रूपमा मिहिनेत गरेर शिक्षणमा पेसामा हुनुहुन्थ्यो । जीवन अगाडि बढिरहेको बेला यत्रो चोट पर्दा राजनीतिक परिवारमा नजोडिएको भए हुन्थ्यो भन्ने लागेन ?

पहिला म पनि राजनीतिमा थिएँ । पछि घर चलाउनुपर्‍यो । दुवै जना राजनीतिमा लाग्दा खर्च चलाउन समस्या भयो । अनि मैले छोडेँ । राजनीति सचेत मान्छेले गरेन भने कसले गर्छ ? हाम्रो देश अगाडि बढ्न राजनीति बिना सकिँदैन ।

आन्दोलनमा ७६ जनाको ज्यान गयो, ठूलो भौतिक क्षति भयो । २ हजार ५०० भन्दा बढी घाइते भए । अबको निकास कस्तो हुनुपर्छ ?

सबैभन्दा पहिला त सही ढङ्गको सरकार आउनुपर्छ । राजनीति स्पष्ट हुनुपर्छ । राज्यको प्रमुख अङ्ग भनेको सुरक्षा व्यवस्था हो । जनतालाई सुरक्षा दिने हो । तर हामीले त्यो सुरक्षा नै पाएनौं । गएको सरकार सुरक्षा व्यवस्थामा धेरै कमजोरी भयो । जनताले आफ्नो काम गरेर खाइरहेका छन्, तर राज्य किन चाहियो भन्दा सुरक्षा दिनका लागि चाहियो । त्यो सुरक्षा नै सकिएपछि जनताले राज्यलाई कसरी विश्वास गर्छन् ?

कराडौं लगाएर नगरपालिका भवन बनाइयो । पैसा खर्च गरेर, मिहिनेत गरेर बनाइयो । तर एकैचोटी जलाइदियो । नोक्सान कति भयो ? पैसाले मात्र बन्ने होइन, विकास गरेर मात्र हुँदैन । आफूले बनाएको विकासलाई रक्षा गर्न सुरक्षा चाहिन्छ । सुरक्षा नै प्रमुख अङ्ग हो । गएको सरकार त्यसमा धेरै कमजोर भयो । अब बन्ने सरकारले यो कमजोरीबाट मुक्त हुनुपर्छ ।

अब बन्ने सरकारले पहिला सुरक्षा ल्याउनुपर्छ । देशभित्र र देशबाहिरबाट आउने खतरा कस्तो छ, त्यो बुझ्नुपर्छ । विदेशबाट धेरै खतरा आइरहेको छ, त्यसलाई हेर्नुपर्छ । तर गएको सरकारले त्यो चिन्तै गरेन । प्रधानमन्त्रीज्यू पनि भाग्नुपर्ने अवस्था आयो । उहाँले यो अवस्था आउँछ भनेर सोच्नैुभएन । संसद्‌मा बहुमत छ भनेर सत्ता टिक्ने होइन नि । जनताको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ ।

तपाईंसँग जलनको पीडाको अनुभव छ । नेपालमा जलन उपचारको अवस्था कस्तो पाउनुभयो ? सरकारलाई के सुझाव दिन चाहनुहुन्छ ?

नेपालमा जलनको लागि छुट्टै विशेष अस्पताल चाहिन्छ । जलनको उपचार एउटै डिपार्टमेन्टले मात्रै सम्भव हुँदैन । जल्दा शरीरको मुटुमा समस्या आउँछ । कहिले प्रेसर हाइ हुन्छ, कहिले लो हुन्छ ।

यस्तो अवस्थामा तुरुन्तै अन्य विशेषज्ञ डाक्टर र सुविधा चाहिन्छ । बर्न अस्पतालमा कार्डियोलोजी, नेफ्रोलोजी लगायतका डिपार्टमेन्ट नजिकै हुनुपर्छ वा कम्तीमा अन्य अस्पतालसँग राम्रो कोअर्डिनेसन हुनुपर्छ ।

आईसीयूबाट वार्डको बसाइमा एक्कासि रक्तचाप उच्च भयो । फेरि तुरुन्तै आईसीयूमा लगियो । यस्तो कहिले के हुन्छ थाहा नै हुँदैन । समयमा उपचार नपाउँदा धेरैले ज्यान गुमाइरहेका छन् । सरकारले आफ्नो क्षमताअनुसार भए पनि विशेष बर्न अस्पताल बनाउनुपर्छ ।

अन्त्यमा केही भन्नुहुन्छ ?

देशको अवस्था सुधार्नुपर्छ । यस्तो घटना फेरि दोहोरिनु हुँदैन । आन्दोलनको निहुँमा जे भयो, त्यसको पछाडि के छ ? कसले उक्सायो भनेर गम्भीरतापूर्वक हेर्नुपर्छ । राजनीतिक दलहरूले जनताभन्दा टाढा बसेर एकलौटी निर्णय गर्नु हुँदैन । जनताको कुरा सुन्नुपर्छ । सबै मिलेर देशको हितमा सोच्नुपर्छ, राम्रो काम गर्नुपर्छ । यही नै मेरो सन्देश हो ।

भिडियो/तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?