News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रको विकासका लागि १५ विभागीय समिति गठन गरेको छ।
- बोर्ड अध्यक्ष दिनेश डीसीले समितिका सदस्यहरूलाई परिचयपत्र वितरण गर्नुभएको छ।
- समितिहरूले नेपाली चलचित्रको नीति निर्माण, प्रवद्र्धन र कल्याणमा महत्वपूर्ण भूमिका खेल्ने बोर्डले बताएको छ।
काठमाडौँ । चलचित्र विकास बोर्डले कार्य सम्पादनका लागि विभिन्न १५ विभागीय समिति गठन गरेको छ । संयोजकसहित समितिका सदस्यहरूलाई शुक्रबार आयोजित समारोहमा परिचय पत्र वितरण गरियो ।
बोर्ड अध्यक्ष दिनेश डीसीले समितिका सदस्यहरूलाई परिचयपत्र वितरण गरे ।
छात्रवृत्ति छनोट सिफारिस समिति, बक्सअफिस प्रणाली कार्यान्वयन तथा अनुगमन समिति, अन्तर्राष्ट्रिय प्रवद्र्धन समिति, आर्थिक सहयोग सिफारिस समिति, महिला चलचित्रकर्मी सशक्तिकरण समिति, चलचित्र प्रदर्शन अनुगमन समिति, कथा संग्रहालय (स्टोरी बैंक) मूल्याङ्कन तथा छनोट समिति, मोफसलका चलचित्र मूल्यांकन तथा छनोट समिति, कार्यविधि मस्यौदा समिति, चलचित्रघरको स्तरोन्नति तथा प्रोत्साहन मूल्याङ्कन समिति, प्रकाशन तथा प्रचार प्रसार समिति, चलचित्रको डिजिटाइजेसन सिफारिस समिति, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति, चलचित्रकर्मी छायाङ्कन अवधिको बीमा कार्यक्रम सञ्चालन समिति तथा चलचित्रकर्मी कल्याणकोष सञ्चालन समितिका सदस्यहरूलाई परिचयपत्र प्रदान गरिएको हो ।
परिचयपत्र वितरणपछि डीसीले चलचित्र क्षेत्रको संस्थागत विकास, पारदर्शिता र व्यावसायिक सुदृढीकरणका लागि समितिको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले भने, ‘चलचित्रकर्मी नै नेपाली चलचित्र उद्योगको मेरुदण्ड हुन् । उनीहरूको सिर्जना, श्रम र समर्पणलाई सम्मान र संरक्षण गर्नु बोर्डको प्राथमिक दायित्व हो ।’ समितिहरू सक्रिय बने चलचित्रकर्मीले अवसर, सुरक्षा र सम्मान एकसाथ महसुस गर्ने वातावरण तयार हुने धारणा उनले राखे ।
कार्यक्रममा बोर्ड सदस्यहरू, समितिका संयोजक तथा सदस्यको उल्लेख्य सहभागिता थियो । परिचयपत्र वितरणसँगै समितिहरू औपचारिक रूपमा क्रियाशील हुने र यसले नेपाली चलचित्र क्षेत्रको नीति निर्माण, प्रवद्र्धन, संरक्षण तथा चलचित्रकर्मी कल्याणसम्बन्धी कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास बोर्डले व्यक्त गरेको छ ।
प्रतिक्रिया 4