+
+
Shares

हाटबजारको मौलिकता जोगाउँदै उपभोक्तामैत्री बनाउन माग

बहुतले भवनमा हाटबजार सफल नहुने भन्दै ऐतिहासिकता र मौलिकतालाई जोगाउँदै यथास्थानमा उपभोक्तामैत्री पूर्वाधार थप्न व्यवसायीहरूले माग गरेका छन् ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ पुष २० गते १३:१३

२० पुस, बुटवल । रुपन्देहीका करिब पाँच हजार साना व्यवसायीले हाटबजारहरूको मौलिकता र ऐतिहासिकता जोगाउँदै यथास्थानमै उपभोक्तामैत्री पूर्वाधार थप्न राज्यले लगानी गर्नुपर्ने माग गरेका छन् ।

रुपन्देहीमा १२२ वटा हाटबजार सञ्चालन हुँदै आएका छन् । हाटबजार व्यवसायी संघ रुपन्देहीका अनुसार जिल्लाका यी हाटबजारमा ५ हजार बढी साना व्यवसायीले जीविकोपार्जनका लागि वर्षौंदेखि व्यापार गरिरहेका छन् ।

रुपन्देहीको सबैभन्दा पुरानो हाटबजार तिलोत्तमाको सेमरा हाटबजारलाई लिइन्छ जुन १९७५ देखि निरन्तर सञ्चालनमा छ । बुटवल उपमहानगर कार्यालय अगाडिको हाटबजार रुपन्देहीको सबैभन्दा ठूलो हाटबजार हो, जहाँ साढे ७०० व्यवसायीले व्यापार गर्छन् ।

तर, स्थानीय सरकारले हाटबजार सञ्चालन भइरहेका ठाउँहरूमा बहुतले भवन बनाएर त्यहाँ बजार सञ्चालन गर्ने योजना अघि सार्दा विस्थापित भइने डरले व्यवसायीहरू बेलाबेलामा आन्दोलित हुने गरेका छन् ।

उनीहरूले ठूला व्यवसायी र ठेकेदारको स्वार्थअनुसार बहुतले भवन बनाएर हाटबजार मास्ने योजना बनाइएको दाबी गर्दै मौलिकता र ऐतिहासिकता जोगाउन यथास्थानमै उपभोक्तामैत्री पूर्वाधारमा लगानी गर्न सरकारसँग माग गर्दै आएका छन् ।

स्थानीय, प्रदेश र संघीय सरकारसम्म आफ्ना माग राख्दै आए पनि सुनुवाइ नभएको व्यवसायीको गुनासो छ ।

हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष हुमाराम पोखरेलले बहुतले भवनमा हाटबजार सफल हुँदैन भन्ने ज्वलन्त उदाहरण सिद्धार्थनगर नगरपालिकाले भैरहवामा करोडौं लगानी गरेर बनाएको भवन भएको बताए ।

१२ करोड १३ लाख रुपैयाँमा निर्माण भएको कृषि बजारका १०९ वटा सटर र सेमिनार हल तथा पार्किङको लागि सिद्धार्थनगर नगरपालिकाले करिब १ करोड ३४ लाख रुपैयाँको टेन्डर निकालेको थियो । तर हाटबजार व्यवसायी बहुतले भवनमा नजाने भएपछि टेन्डर लिन कसैले चासो नदेखाएपछि भवन उपयोगविहीन बनेको छ ।

बुटवलमा पनि उपमहानगर कार्यालय अगाडिको हाटबजारमा बहुतले भवन बनाउने योजना र प्रयास भए पनि व्यवसायीले त्यहाँ आफूहरू नजाने भन्दै विरोध जनाएका छन् । भैरहवाको असफलता र व्यवसायीको विरोधपछि बुटवलमा पनि बहुतले हाटबजारको योजना अघि बढ्न सकको छैन ।

‘नेपाली समाजमा हाटबजारको आफ्नै मौलिक पहिचान, ऐतिहासिकता र किनमेल संस्कृति छ । यसलाई मेटाउन मिल्दैन,’ अध्यक्ष पोखरेलले भने, ‘बहुतले भवनमा हाटबजार चल्न सक्दैन । त्यहाँ आम उपभोक्ता जाँदैनन्, यो हजारौं साना व्यसायी विस्थापित गरेर ठेकेदार र ठूला व्यवसायी पोस्ने खेल हो ।’

अध्यक्ष पोखरेलले मन्दिर, विद्यालय र क्लबले समेत आफूखुसी हाटबजार सञ्चालन गरे पनि स्थानीय सरकारले प्रभावकारी अनुगमन नगरेको औंल्याए । स्थानीय सरकारले सडक व्यवसायीलाई व्यवस्थापन गर्दा उनीहरू हाटबजार आसपासमा सडक अतिक्रमण गरेर व्यवसाय गर्दा त्यसको दोष हाटबजार व्यवसायीमाथि आउने गरेको उनले गुनासो गरे ।

आम उपभोक्ताको सहज पहुँच हुने स्थानमा सञ्चालन भएका र तुलनात्मक रूपमा सस्तो मूल्य हुने भएकाले हाटबजारहरू सफल भएको संघका महासचिव जयन्त घर्ती बताउँछन् ।

‘बहुतले भवनमा हाटबजार लैजाँदा आम उपभोक्ताको पहुँच सहज हुँदैन । सर्वसाधारण उपभोक्ताले भाटभटेनी वा अरू ठूला सुपरमार्केट जस्तै ठानेर आउँदैनन् र बजार दिगो हुँदैन,’ घर्ती भन्छन्, ‘आम नागरिक गरिबीबाट मुक्त भएर समृद्ध भएको अवस्थामा भविष्यमा यस्ता बहुतले भवनमा हाटबजार लाग्न सक्छन् तर अहिले सम्भव छैन । यो वास्तविकतालाई स्थानीय सरकारले हेक्का राख्नुपर्छ ।’

संघका सचिव इश्वरचन्द्र भट्टराईले स्थानीय सरकारले व्यवसायीबाट वार्षिक करोडौं कर लिने गरे पनि हाटबजारहरूमा उपभोक्तामैत्री पूर्वाधार बनाउन चासो नदिएको गुनासो गरे । व्यवसायीले आफैं लगानी गरेर टिनको छाना लगाउने र सामान राख्ने ठाउँ पक्की बनाउने गरेको तर राज्यको लगानी नगण्य रहेको उनले गुनासो गरे ।

‘बुटवलमा मात्रै हाटबजार व्यवसायीले वार्षिक २ करोड बढी बैठकी कर तिरिरहेका छन् । स्थानीय कर पनि छुट्टै तिरेका छन् तर कतिपय हाटबजारहरू खुला आकाशमुनि चलेका छन् । सबैजसो हाटबजारमा पर्याप्त मात्रामा शुद्ध खानेपानी, सफा शौचालय र सरसफाइ सुविधासमेत छैन,’ भट्टराईले भने, ‘बजारका फेन्सी पसलले जत्तिकै समान कर तिरेका छौं । तर हामीलाई साना व्यवसायी भनेर हेपिएको छ, हाम्रा मागप्रति उपेक्षा गरिएको छ ।’

उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका अध्यक्ष तेजकुमार पाठकले हजारौं उपभोक्ता आउने हाटबजारहरूमा आवश्यक न्यूनतम पूर्वाधार अभाव, उपभोक्ताको संख्याको तुलनामा अति न्यून र जीर्ण शौचालय हुँदा पनि स्थानीय सरकारले लज्जाबोध नगरेको औंल्याए ।

बजारको नियमित अनुगमन गरी उपभोक्ताले स्वच्छ वस्तु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने काममा स्थानीय सरकारले बेवास्ता गरेको पाठकले औंल्याए । हाटबजारमा मूल्यसूची, तौल जाँच, खाद्य सुरक्षा निरीक्षण, कोल्ड स्टोर, गोदाम, डिजिटल भुक्तानीको प्रबर्धन, सुरक्षाकर्मी र सीसीटीभी, नियमित सरसफाइ, स्वच्छ वातावरण बनाइदिने दायित्व स्थानीय सरकारको हुने पाठकले सुझाए ।

‘उपभोक्ताको हितलाई तीनै तहका सरकारले प्राथमिकतामा राख्नुपर्ने हो तर हाटबजारहरूलाई उपभोक्तामैत्री बनाउन गर्नुपर्ने लगानी, नियमित अनुगमन नगरेको बिडम्वनापूर्ण अवस्था छ,’ पाठकले भने, ‘हाटबजारलाई व्यवसायीको माग अनुसार परिमार्जन गर्न आवश्यक छ तर मौलिकता र ऐतिहासिकता मेटाउन सकिँदैन । यो आम नेपालीको सहज जीवनशैली बनिसकेको छ ।’

बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बुटवलमा पार्किङको समस्या भएकाले हाटबजार रहेको स्थानमा बहुतले भवन बनाई अन्डरग्राउन्ड पार्किङसहित बहुतले भवन बनाएर व्यवसायीलाई उचित व्यवस्थापन गर्ने उद्देश्य रहेको बताए । तर हाल यो योजना अघि बढिनसकेको रानाले बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?